एजेन्सी - रुसले बनाएको कोरोना भाइरसको खोपलाई लिएर विभिन्न देशहरुले आ–आफ्ना भनाईहरु अघि सारेका छन् । यद्दपी खोपले भने मङ्गलबारदेखि स्वीकृति पाएको छ ।
यो खोपलाई देश भित्रकै नियामक निकायले स्वीकृति प्रदान गरेको हो । मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफुहरुले कोराना भाइरस विरुद्धको खोप बनाएको घोषणा गरेका थिए ।
रुसको यो खोपलाई लिएर भने अन्तराष्ट्रिय स्तरमा नै अविश्वास सिर्जना भएको छ । विश्वका ठूला राष्ट्र अमेरिका, जर्मनी, फ्रान्स, तथा स्पेनले यो खोपलाई लिएर आशंका गर्दै विभिन्न टिका टिप्पणी गरेका छन् ।
यी देशहरुले २ महिना भन्दा कम समयमा खोप तयार भएको र यति चाँडो खोपलाई बजारमा ल्याउनु हतार भएको बताएका छन् । उनीहरुले यो खोपले निको पार्नुको साटो उल्टै खतरनाक हुनसक्ने भन्दै खोपलाई लिएर सतर्क हुन भनेका छन् ।
अमेरिकाले यो खोपप्रति शंका गरेको छ भने जर्मनीले यो खोप लगाउनु घातक हुने बताएको छ । स्पेन र फ्रान्सले पनि यो खोपलाई लिएर सचेत हुन आग्रह गरेका छन् ।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले पनि यसलाई कोरोना सम्बन्धी विभिन्न देशहरुले बनाएको खोपको सुचीमा राखेको छैन् । रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले भने रुसलाई लिएर यो खोपलाई असत्य सावित गर्न खोजिएको बताएका छन् ।
उनले विदेशी मित्रहरूलाई रुसी औषधि अरु भन्दा प्रतिस्पर्धामा अगाडि जान लागेकाले चिन्ता लागेको हुन सक्ने बताएका छन् । यो हल्ला आधारहीन हुन् । रुसले यो खोपलाई आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा लगाउन योजना बनाएको छ ।