काठमाडौं– पोर्चुगलबाट गायक अमृत क्षेत्रीलाई फोन आयो । निराजन उप्रेतीले फोन गरेका रहेछन् । उप्रेतीले भने, ‘तिम्रो गीत म सेयर गर्दिनँ ।’
अमृत छक्क परे । उनले प्रश्न गरे, ‘गीतको यति धेरै प्रशंसा गर्नुभयो, सेयर गर्दिनँ भन्नुहुन्छ, किन दाइ ?’
‘मेरो परिवार त रोएर मर्छन् यार ! यस्तो गीत कसरी सेयर गरूँ ? निराजनको प्रतिक्रियामा रोदन मिसिएको थियो ।
०००
निराजनले अमृतको ‘जहाजै चढेर’ गीत हेरेर–सुनेर दिएका प्रतिक्रिया हुन् यी । अहिले ‘जहाजै चढेर’ गीत निकै चर्चामा छ । चर्चाका अनेक कारण छन् । यसले लाहुरेहरूलाई रुवाएको छ । गीत सुनेर लाहुरेनीहरू झन् धेरै रोएका छन् ।
अमृतले ‘जहाजै चढेर’ गीतमा २० वर्षदेखिको उकुसमुकुस भावलाई कलात्मक रङ दिएका छन् । उनी बिदेसिएका नेपाली र आफन्तका मनोभाव समेटेर गीत लेख्न चाहन्थे । त्यस्तै मिठास संगीत भर्न चाहन्थे । गीतमा आफ्नै स्वर दिन चाहन्थे ।
- अमृत आफन्तको यादमा बाँचेका आमा, काकी र भाउजूहरुका अनुहार पढ्दै हुर्किए । उनीहरूको अनुहारमा कुदिरहने उदासी भाव र बगिरहने आँसुले अमृतलाई च्वास्स घोच्थ्यो ।
लाहुरे परिवारमा जन्मिएका अमृतले राम्रोसँग नियालेका थिए, परदेशीले घरदेश र आफन्तको सम्झनामा बगाउने आँसु । उनका बाबु ब्रिटिस आर्मी थिए । पिताकै बाटोमा लागे– दाजुहरु र काका । त्यस्तै केही नातेदार भारतीय सेनामा भर्ती भए । अमृत आफन्तको यादमा बाँचेका आमा, काकी र भाउजूहरुका अनुहार पढ्दै हुर्किए । उनीहरूको अनुहारमा कुदिरहने उदासी भाव र बगिरहने आँसुले अमृतलाई च्वास्स घोच्थ्यो । उनी गीतमार्फत गुजिल्टिएको सम्झनाको गाँठो फुकाउन चाहन्थे । उनी भन्छन्, 'जुन रहर मनमै गुम्सिएको २० वर्ष भएको थियो । २० वर्षपछि गीत लेख्ने निधो गरेँ ।'
बाँचे घर आउँछु सरर्र जहाजै चढेर
एक साँझ । उनले सम्झिए, परदेशका आफन्त । जसले कोरोना संक्रमणकै कारण रोजगारी गुमाएका छन् । अमृत ती आफन्तको मनभित्र पसेर मनोभाव जाँचे । थाहा पाए, उनीहरु आफ्ना परिवार र घरदेशकाे सम्झनामा दिन काटिरहेका छन् । अमृतले कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा मृत्युको डरमा बाँचेका आफन्तको मुटु छामे ।
अमृत भन्छन्, ‘लकडाउन छ, रोजगारी छैन । दुःख बाँडेर हल्का हुन आफन्त छैनन् । यस्तो समयमा स्वदेश आउन चाहने कति होलान् ? चाहेर आउन सक्ने सम्भावना छैन ।’
त्यही रात उनले लेखे– मलेवा भए उडेर आउँथेँ नौ डाँडै काँटेर । जलेवा भए आउँथेँ प्यारु समुद्रै तरेर । दैवले खेल रच्यो कस्तो दिनै गनेर । बाँचे भने आउँछु प्यारी घर फर्केर । सरर्र सरर्र जहाजै चढेर ।
अमृतले गीतसँगै दृश्यहरू कल्पिए, जुन दृश्यले फिल्मको रूप धारण गर्यो । जसको नायक उनी आफैँ भए । स्वदेशमा आफ्नो बाटो कुरेर बसिरहेकी श्रीमती कल्पिए । यस्तो दृश्य कल्पिँदा उनका आँखा आँसुले टम्म भए । आँसु आँखैमा थामिएन, उनले रोक्न बल पनि गरेनन् । आँसु रित्तिएपछि उनको मन हल्का भयो । २० वर्षदेखिको उकुसमुकुस गीतको एक ‘स्थायी अन्तरा’मै पोखियो । उनी चङ्गा भए । त्यही रात गीत पूरा गरेर ओछ्यानमा पल्टिए ।
अर्को दिन, अमृतले गीतका लागि सुहाउँदो धुन भरे । डमी बनाएर गायक हेमन्त शर्मालाई सुनाए । हेमन्तले उनलाई सल्लाह दिए– प्यारीको ठाउँमा प्यारु राख्नू न । उनले त्यसै गरे ।
- उनी भन्छन्, ‘गीत गाउँदै गर्दा विदेशमा रहेका आफ्ना भतिजालाई सम्झिएँ । गीत गाउँदा गाउँदै फेरि भक्कानिएछु ।’
उनी गीत छिटै रेकर्ड गर्न चाहन्थे । उनले गीत बिबी अनुरागीलाई पठाए । त्यतिबेला नेपालमा लकडाउन कायमै थियो । गीत रेकर्ड गर्ने निधो भयो । उनी झम्सिखेलबाट हिँड्दै बबरमहल पुगे, जहाँ बिबी अनुरागीको स्टुडियो छ । सुरुमा अमृतले गीत गाए । उनी भन्छन्, ‘गीत गाउँदै गर्दा विदेशमा रहेका आफ्ना भतिजालाई सम्झिएँ । गीत गाउँदा गाउँदै फेरि भक्कानिएछु ।’
गीतको रेकर्डिङ सकियो । विदेशमा रहेका भाइ र भतिजालाई गीत सुनाए । उनीहरु पनि रोए । फेरि भाइ र भतिजासँगै रोए उनी ।
फेरि रेकर्डिङ
पछि उनले बोध गरे, गीत युगलमा गाउनुपर्थ्याे । उनले मेलिना राईलाई गीत गाउन आग्रह गरे । मेलिनाले उनको आग्रह सहर्ष स्विकारिन् । अर्को दिन अमृत र मेलिनको स्वरले गीत झनै मधुर बन्यो ।
१५ दिन रिहर्सल
गीतको अडियो म्युजिक भिडियो निर्माणको तयारी भयो । निर्देशकमा छानिए निकेश खड्का । निकेशले म्युजिक भिडियोमा प्ले गरिने कथाको ‘कन्सेप्ट’ बनाए । जुन कन्सेप्टले अमृतलाई छोयो । अमृतले यही कन्सेप्टमा म्युजिक भिडियो बनाउने निधो गरे । अमृतले म्युजिक भिडियोमा कलाकारको नाम सिफारिस गरे । जुन नाम सुनेर निकेश झन् दंग परे । उनी थिए दयाहाङ राई । दयाहाङसँग केनिपा सिंहको जोडी बाँध्ने योजना बुनियो । निकेश दयाहाङ र केनिपा लिएर म्युजिक भिडियो बनाउन राजी भए
निकेश दयाहाङकहाँ प्रस्ताव लिएर पुगे । उनले गीत र म्युजिक भिडियोको कन्सेप्ट सुनाए । दयाहाङ निकै उत्साहित देखिए । त्यस्तै, केनिपा पनि म्युजिक भिडियोमा अभिनय गर्न तयार भइन् ।
अनामनगरको मण्डला थिएटरमा १५ दिन रिहर्सल भयो । गीतको म्युजिक भिडियो बन्यो ।
खुसी फर्किएर आउँदा
अमृतले गीत सेयर गरे । देश विदेशबाट प्रतिक्रिया आयो । उनी निकै खुसी भए, उनको खुसी गीत रिलिज भएको केही दिनमै खुम्चियो । अन्य गीत भाइरल भए । उनलाई लाग्यो– गीत छायामा पर्यो । उनी भन्छन्, ‘यस्तो कुराले सर्जकलाई निराश बनाउँदो रहेछ ।’
- उनलाई लाग्यो– गीत छायामा पर्यो, यस्तो कुराले सर्जकलाई निराश बनाउँदो रहेछ ।
भाइरल गीतको चर्चा खहरे खोलो जस्तो भएको छ । बिस्तारै अमृतको ‘जहाजै चढेर’को चर्चा सुरु भएको छ । उनी दंग छन्, भन्छन्, ‘आज त तीनवटा अन्तर्वार्ता दिएँ ।’