आफूलाई मन परेको मान्छे भेट्न आउँदै थियो । उत्साहित थिएँ, प्रतीक्षामा थिएँ । हामी वैचारिक सहयात्री थियौं, तथापि मनको कमलो पाटोमा प्रेम पनि त हुर्किरहेको थियो । एउटी प्रेमिकाकै भाँती उमंगमा थिएँ ।
तर, खबर आयो, ‘बसबाट झर्ने क्रममा बाबुराम भट्टराई दुर्घटनामा पर्नुभयो । हस्पिटलमा हुनुहुन्छ ।’
हत्तपत्त हस्पिटल दौडिएँ । हस्पिटलमा आवश्यक प्राथमिक उपचारपछि पनि उहाँलाई एक्लै छोड्न मन लागेन । परदेशमा कसरी एक्लै छोड्ने ? मैले उहाँलाई आफ्नो होस्टल लगेँ । अतिथि कक्षमा राखेँ र उपचार–स्याहार गरेँ ।
हामी दिल्लीमा एउटै कलेज पढ्दै थियौं । विद्यार्थी आन्दोलनमा सक्रिय थियौं, त्यसै मेसोमा बाक्लै भेटघाट भइरहन्थ्यो । मास्टर्स सकिसकेपछि बाबुरामजी विद्यावारिधि (पिएचडी)का लागि जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) जानुभयो । त्यहाँ मलाई निकै ‘मिस’ गर्नुभएछ र चिठी लेख्नुभएछ ।
यो पनि पढ्नुहोस् : ‘फिल्म खेल्न गर्भपतन गराएँ' : करिश्मा मानन्धर
चिठी मेरो हात परेन । मलाई पनि उहाँको सम्झना नआउने कुरै भएन । त्यसैले भेट्न गएँ । उहाँ छक्क पर्नुभयो । उहाँलाई लाग्यो होला, ‘मैले त नआउनू भनेको थिएँ चिठीमा, माया लागेरै त आएको होला ।’ मलाई भने चिठीबारे अत्तोपत्तो थिएन । उहाँले चिठीबारे भन्नुभयो । त्यसमा उहाँको भाव रहेछ, ‘तिमी नआऊ मेरो यात्रामा, मेरो लक्ष्यप्रति मोहभंग हुनेछ ।’ उहाँले बताएअनुसार त्यसमा आफ्नो राजनीति र पढाइ मेरो कारण खलबल नहोस् भन्ने आशय थियो । सायद, त्यो चिठी मैले पाएको भए हाम्रो प्रेम र विवाह दुवै नहुन सक्थ्यो । तर म त भेट्न नै गएकी थिएँ । चिठीको बेहोरा सुनेर म हाँसिरहेँ मात्रै, केही बोल्नै सकिनँ । किन यसो भनेको होला भन्ने मात्रै मनमा खेलिरह्यो ।
- त्यसमा उहाँको भाव रहेछ, ‘तिमी नआऊ मेरो यात्रामा, मेरो लक्ष्यप्रति मोहभंग हुनेछ ।’ सायद, त्यो चिठी मैले पाएको भए हाम्रो प्रेम र विवाह दुवै नहुन सक्थ्यो ।
कुराकानी हुँदै जाँदा उहाँले सिधै विवाहको प्रस्ताव राख्नुभयो । म दंग परेँ । मन ढक्क फुल्यो । त्यो ‘सरप्राइज प्रपोज’ पहिले मनले स्विकार्यो, अनि अभिव्यक्तिले पनि । त्यसपछि हाम्रो प्रेमले रफ्तार लियो । भेटघाट अझ बाक्लिँदै गयो ।
त्यही मेसोमा दुर्घटनाले हामीलाई अझ नजिक बनाइदिएको थियो । मेरो होस्टल नेपालको राजदूतावास नजिकै थियो । हामी सँगै बसेको खबर फैलिएर ‘पोलिटकल स्क्यान्डल’ बन्ने खतरा थियो । त्यसैले हामीले भारतमै कानुनी विवाह गर्यौं र पतिपत्नीका रूपमा रह्यौं । अध्ययनरत डिग्री सकिएपछि म नेपाल फर्कें । बाबुरामजी पिएचडीका लागि उतै बस्नुभयो ।
०००
विवाहको पाँच वर्षपछि हामीले बच्चा पाउने निर्णय गर्यौं । ‘बेबी कन्सिभ’को योजनामा दिल्ली गएँ । विज्ञानको विद्यार्थी भएकाले बच्चा गर्भ बस्ने प्रक्रियाबारे थाहा थियो । त्यसैले योजनामुताबिक नै गर्भवती भएँ र नेपाल फर्किएँ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउँथेँ । निकै सक्रिय थिएँ, एकछिन चुप लागेर बस्न सक्दैनथेँ र अध्ययन पनि निकै गर्थें । गर्भमा हुर्किरहेको बच्चालाई लिएर पनि निकै सतर्क थिएँ ।
- महिला आन्दोलनमा सक्रिय क्रान्तिकारी मान्छे पनि प्रसवको सन्दर्भमा कमजोर नै हुने रहेछ भन्ने अनुभव आफैँले गरेँ ।
जन्डिसको प्रकोप बढिरहेको थियो । त्यसैले ‘एन्टिडोट’ लिएँ । तर, गर्भ बसेको ९ महिना लाग्दा ममा जन्डिस देखियो । कसरी त्यस्तो भयो, बुझ्नै सकिनँ । त्यस्तो अवस्थामा आमाको मृत्यु हुने सम्भावना बढी हुने डाक्टरले बताए । मलाई आफू निकै कमजोर भएको महसुस भयो । महिला आन्दोलनमा सक्रिय क्रान्तिकारी मान्छे पनि प्रसवको सन्दर्भमा कमजोर नै हुने रहेछ भन्ने अनुभव आफैँले गरें ।
बाबुरामजी भारतमै हुनुहुन्थ्यो, निकै ‘मिस’ गरें । उहाँको पढाइ र करियरमा बाधा पुर्याउन मन लागेन । सबै पीडा एक्लै सहेँ, आफूलाई आफैँले सम्हालें ।
हुन त, माइतीका दिदीहरू थिए, बाबुरामजीकी बहिनी पनि थिइन् । तर गर्भावस्था र प्रसवको समयमा श्रीमानको प्रत्यक्ष उपस्थिति एवं माया निकै खड्किने रहेछ । त्यसको अभाव अरू कसैले पूरा गर्न नसक्ने रहेछ ।
जन्डिस भएपछि मेरो अस्पतालमै बास भयो । प्रसूति गृह, थापाथलीमा थिएँ । समयमै प्रसव व्यथा लाथ्यो, समयमै सुत्केरी भएँ । नर्मल डेलिभरी थियो । डाक्टरले ‘छोरा’ भन्दै हातमा राखिदिनुभयो । प्रसव पीडालाई भुलेर मैले उसको अनुहार हेरेँ ।
गर्भवती भएको बेला आफूलाई मन परेको व्यक्तिको फोटो देखिने ठाउँमा राख्दा बच्चा पनि त्यस्तै हुन्छ भन्ने लोक–मान्यता थियो । मैले पनि रहरवश आफ्नो बच्चा बाबुरामजी जस्तै होस् भनेर उहाँको ठूलो फोटो बनाएकी थिएँ । छोरोलाई देख्नेबित्तिकै ठ्याक्कै बाबुरामजी जस्तै लाग्यो । नाक–मुख काटीकुटी ठ्याक्कै । मलाई थाहा थियो बच्चा जति रोयो, उति राम्रो । तर ऊ खासै रोएन । मलाई जन्डिस भएकाले उसलाई पनि हुनु स्वाभाविकै थियो । उपचारको प्रक्रिया जारी थियो । तर, मैले उसलाई चौध घण्टाभन्दा बढी मेरो काखमा राख्न सकिनँ । प्रसव पीडाबाट राहत नपाउँदै म पुत्र–वियोग झेल्न बाध्य भएँ । त्यो क्षण निकै कहालीलाग्दो थियो, अहिले सम्झँदा पनि मन भक्कानिन्छ ।
- गर्भवती भएको बेला आफूलाई मन परेको व्यक्तिको फोटो देखिने ठाउँमा राख्दा बच्चा पनि त्यस्तै हुन्छ भन्ने लोक–मान्यता थियो । मैले पनि रहरवश आफ्नो बच्चा बाबुरामजी जस्तै होस् भनेर उहाँको ठूलो फोटो बनाएकी थिएँ ।
एउटा आमाका लागि यो निकै कठिनपूर्ण क्षण थियो । बेड वरपर अरूका बच्चा च्याहाँच्याहाँ रोइरहेका थिए । तर आफ्नो काख शून्य । त्यति गहिरो र भयानक शून्यता मैले कहिल्यै झेल्नुपरेन । मन ठेगानमा थिएन, अर्कातिर बाबुरामजी पनि सँगै हुनुहुन्नथ्यो । मन कहालिएको थियो ।
सकी नसकी उठेर ढोकातिर लाग्दा देखेँ– नन्दले मृत बच्चा हातमा बोकेर गाड्न गइरहेको । मलाई स्पष्ट याद छ– चेक बुट्टा भएको कलेजी रङको फलाटिनको कपडामा बेरिएको थियो ।
जन्मिएको चौध घण्टापछि नै ऊ प्रसूति गृहको पछाडि नदीछेउको माटोमा समाहित भएको थियो । अहिले पनि त्यो बाटो हिँड्दा मन पोल्छ, भक्कानिन्छु । बाबुरामजी त्यसको केही दिनपछि नेपाल आइपुग्नुभयो । उहाँले त्यसै सन्दर्भमा यस्तो आशय संलग्न लेख पनि लेख्नुभयो, ‘पिएचडीमा अन्डर डेभलपमेन्टबारे लेख्दा–लेख्दै म आफैँ अन्डर डेभलपमेन्टको सिकार हुन्छु भनेर सोचेको थिइनँ ।’
- जन्मिएको चौध घण्टापछि नै ऊ प्रसूति गृहको पछाडि नदीछेउको माटोमा समाहित भएको थियो । अहिले पनि त्यो बाटो हिँड्दा मन पोल्छ, भक्कानिन्छु ।
०००
बच्चा जन्माउने निर्णयमा पुग्दा हामी निकै द्विविधामा थियौं । राजनीतिमा सक्रिय थियौं । त्यसैले आन्दोलनमा केही असर पर्छ कि भन्नेमा निकै सोचविचार गर्याैं । तथापि मलाई मातृत्वको अनुभव पनि उपयुक्त उमेरमै गर्नु थियो । त्यसैले बच्चा पाउने निर्णय लिएकी थिएँ ।
बच्चा पाउनेबित्तिकै गुमाउँदा मन सामान्य रेखाभन्दा निकै माथि पुगेर तरंगित भयो । यसरी गुमाउनुभन्दा त नपाउने निर्णय गर्नु नै ठीक थियो कि भन्नेजस्ता विचारले पनि रन्थन्याइरह्यो । आफैँभित्र हुर्किएको जीवन र त्यसको मृत्युले पैदा भएका भावनात्मक आँधीबेहरीमा परिरहें ।
परिवार र आफन्त पनि छोरालाई गुमाएको पीडाले म ‘डिप्रेसन’मा जाने त होइन भनेर डराएका थिए । मैले आफ्नो भावनालाई नियन्त्रण गर्न विवेकलाई सक्रिय गराएँ । महिला सशक्तीकरणका निकै पुस्तक पढेँ । किताब पढ्दै नोट बनाउन थालें । आफूले भोगिरहेको मातृत्वको पीडालाई भन्दा समाज–व्यवस्थाका अन्य पीडाको अध्ययनमा घोत्लिएँ ।
बाबुरामजी भारत फर्किसक्नुभएको थियो । झन्डै तीन महिनाको अध्ययन–आरामपछि शारीरिक स्वस्थ भएको महसुस गरेपछि म भारत गएँ । मातृत्वको तिर्खा मेटिएकै थिएन । त्यसैले, पुनः गर्भवती भएर फर्किएँ ।
- सन्तानको नाम सोचेका थियौं– छोरा पाए ‘मानुष’, छोरी पाए ‘मानुषी’ । ‘मानुष’ त गुमाइसकेकी थिएँ, अब ‘मानुषी’को धोको थियो ।
हामीले विवाह गर्ने क्रममै सन्तानको नाम सोचेका थियौं– छोरा पाए ‘मानुष’, छोरी पाए ‘मानुषी’ । ‘मानुष’ त गुमाइसकेकी थिएँ, अब ‘मानुषी’को धोको थियो । नभन्दै संयोग, ‘मानुष’ गुमाएको एक वर्षपछि ‘मानुषी’ जन्मिइन् । छोरा गुमाएको पीडा बल्झिरहने त्रासले प्रसूति गृहमा फर्केर जाने आँट आए । त्यसैले मानुषीलाई पाटन अस्पतालमा जन्म दिएँ ।
०००
गर्भवती हुँदा पेट ठूलो देखेर ‘बिरामी’को व्यवहार गर्दा मलाई असाध्यै रिस उठ्थ्यो । म कराउँथें, ‘केको बिरामी ? म त उत्सवको तयारीमा छु ।’ गर्भावस्थाको अन्तिम दिनतिर पनि म उत्तिकै व्यस्त रहन्थें । जति आमा सक्रिय भयो, उति बच्चालाई पनि राम्रो हुन्छ भन्ने थाहा थियो ।
मानुषी पेटमा हुँदा मैले मेरै फोटोलाई ठूलो बनाएर कोठामा हालें । अबको सन्तान ठ्याक्कै मैजस्तो होस् भन्ने चाहना भयो । बाबुरामजीलाई पनि छोरीको चाह थियो, त्यतिबेला बाबुरामजीले मलाई ‘डटर अफ कार्ल मार्क्स’ पुस्तक पढ्न दिनुभएको थियो । म गर्भवती भएको समय एकदमै खुसी थिएँ । छोरी जन्मिएपछि अझ खुसी भएँ । मानुषी ठ्याक्कै मै जस्तै थिइन् ।
छोरी जन्मिएको केही दिनमा बाबुरामजी नेपाल आउनुभयो । त्यसअघि गर्भावस्थामै उहाँलाई भेट्न म भारत गएकी थिएँ । अहिले कहिलेकाहीँ सोच आउँछ– म कस्तो ‘क्रेजी’ रहेछु बाबुरामजीप्रति । बच्चा ‘कन्सिभ’ गर्न उहाँ भएकै ठाउँ पुग्थेँ, गर्भावस्थामा ठूलो पेट बोकेरै उहाँलाई भेट्न जान्थेँ । उहाँ त कति ‘भाग्यमानी’ ! भारतमै बसेर ‘मेड इन नेपाल’ छोरी हेर्न पाउनुभयो ।
०००
पिएचडी सकेर उहाँ नेपाल आएपछि हामी राजनीतिमै सक्रिय भयौं । आन्दोलनमा जाँदा बाबुरामजी छोरीलाई बोकेर जानुहुन्थ्यो, खुब खुसी लाग्थ्यो ।
दुवै जना आन्दोलनमा व्यस्त हुन्थ्यौं । छोरीलाई स्याहार नपुग्ला भनेर माइतीमा कोठा लिएर बस्न थालेँ । माइतीमा सौतेनी आमा हुनुहुन्थ्यो, उहाँको आयस्रोत भनेकै कोठाभाडा थियो । त्यसैले मैले माइतीमै कोठाभाडा लिएर बसेकी थिएँ । त्यसो गर्दा छोरीलाई हेर्ने अभिभावक पनि पाएँ र आमालाई घर खर्च पनि जुट्यो ।
कार्यक्रमहरूमा सकेसम्म मानुषीलाई पनि साथै लैजान्थें । मलाई याद छ– कुर्ताले छोपेर छोरीलाई दूध खुवाएको । त्यो पल सम्झँदा सधैँ लाग्छ– हामी आमाहरू साँच्चै कति महान् ! कति धेरै काम एकैपटक गर्ने सक्ने । तैपनि महिलालाई कमजोर ठानिन्छ । हाम्रो विशिष्टतालाई कमजोर ठानेर हेपिन्छ । तर, बच्चा पाउनेजस्तो कठिन काम गर्छौं । महिनावारी हुँदा पनि उस्तै काम गर्छौं । हर्माेनहरू परिवर्तन भइराख्दा पनि उत्तिकै सक्रिय हुन्छौं । महिलाको यो विशिष्टतालाई सम्मान गर्ने व्यवस्था नै आएको छैन ।
०००
मानुषी सानै थिइन् । हामी ‘कालो झिल्कोे’ नामको पत्रिका निकाल्थ्यौं । अहिले छोरीले त्यसैलाई ‘रातो झिल्को’ नामले निकाल्छिन् ।
त्यो पत्रिकाको विज्ञापन उठाउनेदेखि बेच्ने काममा पनि आफैं जानुपर्थ्यो । म चाइनिज साइकल चलाउँथें । साइकलको अगाडि पत्रिका र पछाडिको क्यारियरमा छोरीलाई राख्थें । साइकल स्ट्यान्डमा राखेर म पत्रिका छोड्न जान्थें । अहिले सम्झिँदा जिउ नै सिरिङ्ग हुन्छ । हल्लिँदा वा केही भएर साइकल लडेको भए छोरीलाई के हुन्थ्यो होला ।
केही दिनअघि मानुषीको बच्चा हेर्न आउँदा दिदी उनलाई भन्दै हुनुहुन्थ्यो, ‘तिम्री आमा त कस्ती चण्डाल हो नि । त्यस्तो पुसको जाडोमा राति–राति तिमीलाई लिन आउँथी ।’ मानुषी भन्दै थिइन्, ‘हो त, दिनभरि छोडेर जाने अनि राति आएर भएभरको माया देखाउन खोज्ने ।’ उनीहरूको कुरा सुन्दै गर्दा मलाई पनि लाग्यो– म साँच्चै चण्डाल आमा रहेछु ।
अहिले मानुषीको काखमा हाम्रो नाति हुर्किँदै छन् । बाबुरामजी हजुरबुबा र म हजुरआमा भएका छौं । यतिबेला छोरीलाई ज्वाइँ र मैले मात्रै होइन, बाबुरामजीले पनि धेरै ख्याल गरिरहनुभएको छ ।
म त गर्भवती भइसकेपछि, छोरा गुमाउँदा र मानुषी जन्मँदा एक्लै थिएँ । एक्लै डेरामा बसेर मैले कसरी आफूलाई सम्हालें हुँला, मलाई कति गाह्रो भयो होला भन्ने कुराको अनुभूति अहिले बाबुरामजीले पनि गरिरहनुभएको छ । त्यो महसुस नै मेरो लागि पर्याप्त छ । आमाको मातृत्वअघि हरेक कुरा फिक्का हुन्छ । मानुष गुमाए पनि म मानुषीको साथले खुसी छु– जो आफैँ पनि मातृत्वको खुसी अनुभूति गरिरहेकी छन् ।
(सिर्जना दुवालले हिसिला यमिसँग नेपाली पब्लिकका लागि गरेको कुराकानीमा आधारित)
प्रसवः पीडा र खुशी स्तम्भका सामाग्रीहरु पनि पढ्नुहोस्
‘डाक्टर ! पेटमा त अर्को पनि बच्चा छ कि क्या हो ?’- कलाकार सरिता लामिछाने
‘बच्चा सम्झेर कति रात झिमिक्क गरिनँ’- खेलाडी आयुशा शाक्य
चौध घण्टा बाँचेको छोरो- नेत्री हिसिला यमी
‘फिल्म खेल्न गर्भपतन गराएँ’- कलाकार करिश्मा मानन्धर
‘सबैले भन्थे तिम्रो बच्चा हुँदैन, बच्चा जन्मेपछि ७ दिन छुन पाइन’-कलाकार लुनिभा तुलाधार