काठमाडौं– सन् २०२० को ‘साउथ इस्ट एसिया विजनेस अवार्ड’ नेपालको सफ्टवेयर कम्पनी एफ वान सफ्ट इन्टरनेशनलले हात पारेको छ ।
यो अवार्डबाट पहिलोपटक नेपाली कम्पनी सम्मानित भएको हो ।
बेलायतको एक अग्रणी आर्थिक पत्रिका एपीएसी इनसाइडरले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यस वर्ष नेपाली कम्पनीले पाएको हो । सो पत्रिका दक्षिण एसियाको व्यापारिक र व्यावसायिक प्रभावमाथि अध्ययन तथा प्रकाशन गर्ने मिडिया हो ।
अध्यक्ष ढकालद्वारा खुशी व्यक्त
अवार्ड पाएपछि एफ वानका अध्यक्ष विश्वास ढकालले खुशी व्यक्त गर्दै नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा कुशल प्रतिस्पर्धा गरिरहेको प्रमाणको रुपमा लिएका छन् ।
उनले भने, ‘दक्षिण एसियाका प्रतिष्ठित कम्पनीहरुका माझ हामी पनि उभिन पाएकोमा गर्व गर्छौ । हामी हाम्रा प्रयास र कामहरुको सक्रियता यसरी नै निरन्तर जारी राख्नेछौं । कोभिड १९ को महामारीको यो समयमा संसारलाई अझै नवीनतम् कम्पनीहरुको खाँचो छ ।’
एपीएसी इनसाइडरका तर्फबाट अवार्ड संयोजक क्याथरिन बेन्टनले नेपालको एफवानलाई बधाई दिएका छन् । ‘एफ वान दक्षिण एसियाको प्रभाविशाली आईटी कम्पनी हो’, उनले बधाई ज्ञापनका क्रममा भने ।
के हो एफ वान ?
सन् २००४ बाट सेवा सुरु गरेको एफ वान सफ्ट इन्टरनेशनल नेपालको प्रभावशाली आईटी कम्पनीको रुपमा लिइन्छ । यो नेपालमा सबैभन्दा ठूलो दावी गरिएको ‘डिजिटल फाइनान्सियल सर्भिस’को कम्पनी हो ।
जसले ‘मोबाइल पेमेन्ट’र ‘मोबाइल बैंकिङ सोलुशन’ इ–सेवा तथा फोन–पेको विकास गरेको हो । कम्पनीका दावीअनुसार यो सेवा नेपालमा एक करोड (१०एम) मानिसले प्रयोग गर्छन् ।
एफ वान कम्पनीमा ७ सय जना कार्यरत रहेको र नेपालको प्रतिष्ठित, चिरपरिचित, प्रभावशाली सफ्टवेयर कम्पनीको रुपमा दावी गर्दै अवार्डका लागि प्रतिष्पर्धा गरेको एपीएसी इनसाइडरले जनाएको छ ।