कालिकोट– कालिकोटका पंखबहादुर विकमाथि भएको निर्घात कुटपिटको मुद्दा गाउँमै मिलाउन दबाब दिइएको छ । जनप्रतिनिधि तथा स्थानीय प्रशासनले घटना सामान्य भएकाले गाउँमै मुद्दा मिलाउन दबाब दिएका हुन् ।
स्थानीय जनप्रतिनिधिले घटना मिलाउन दबाब दिइरहेको पीडितका बुबा पदम कामीले बताए । ‘तपाईंका कारणले हाम्रो समाज र दाजुभाइको सम्बन्धमा दरार ल्याउँछ । यसैले घटना गाउँमै मिलाऊँ भनेर नेताहरूले भन्याका छन्,’ उनले भने, ‘हामी पनि के गर्न्या भनेर सोचिरहेका छौं ।’
यस्तै, स्थानीय जनप्रतिनिधि र प्रशासन पीडकको बचाउमा उत्रिएका छन् । वडा–८ का वडाअध्यक्ष दीपकराज महतराले जातीय विभेदको घटना नभई युवाहरूबीचको सामान्य झडप भएको बताए ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले आफूसँग उक्त घटना आइनसकेको र यस्ता झिनामसिना घटना हेर्ने फुर्सदसमेत नभएको बताए । ‘जिल्ला प्रशासन कार्यालयमा कुनै जातको घटना आएको छैन,’ उनले भने ।
यसैगरी, प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले पनि उक्त घटना मिलाउन सकिने बताएका छन् । उनले यसअघि यस्ता ससाना मुद्दा गाउँमै मिलाइसकेको बताए ।
‘यो धेरै ठूलो घटना होइन । सामान्य झैझगडाको केस हो । यसलाई गाउँमै मिलाउन सकिन्छ । यसलाई ठूलो बनाइराख्न आवश्यक छैन,’ उनले भने, ‘हामीले पहिले पनि यस्ता थुप्रै मुद्दा गाउँमा मिलाएका छौं ।’
कुटेर भीरबाट फालियो
शुभकालीका गाउँपालिका–८ का पंखबहादुर विकलाई साउन २६ गते स्थानीय युवाले कुटपिट गरेका थिएँ । उनले भने, ‘म मेला हेर्न जाँदै थिएँ । मेरो आँखामा कालो चस्मा थियो । शान पारेर हिँड्छस् भन्दै कुटपिट गरे ।’
स्थानीय अर्जुन शाही, कमल शाही र चते सेजुवालले कुटपिट गरेर उनलाई भीरबाट फालिदिएपछि उनी घाइते बनेका थिए । पंखबहादुरको दायाँ खुट्टाको साप्रादेखि कुर्कुच्चामा गम्भीर चोट लागेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।