एजेन्सी - पछिल्लो केहिदिन यता केही देशहरुमा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । न्युजिल्याण्डमा १ सय २ दिनपछि कोरोना देखियो भने फ्रान्स र अष्ट्रेलियामा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढेका छन् ।
न्यूजील्याण्डमा एक व्यक्तिबाट संक्रमण फैलियो
न्युजील्याण्डको सरकारले जापानबाट फर्केका एक व्यक्तिलाई कोरोना भएको पुष्टि गरेको छ । ती व्यक्तिबाट फैलिन सुरु भएको संक्रमण न्युजील्याण्डका प्रमुख दुई पर्यटन स्थल रोटोरा र ताउपोमासम्म पुगेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले उनको सम्पर्कमा धेरै मानिसहरू आएको र उनीहरुमा पनि संक्रमण भएको बताएको छ । योसँगै यहाँका शहरमा लकडाउन गरिएको छ ।
अष्ट्रेलियाको भिक्टोरियामा ३ सय ३० नयाँ केस
अष्ट्रेलियाको भिक्टोरिया शहरमा पनि पछिल्लो केहीदिन यता नयाँ संक्रमित बढेका छन् । भिक्टोरियाका स्वास्थ्य अधिकारी ब्रेट सट्टनले शुक्रबार ३ सय ३० नयाँ केस आएको बताएका थिए ।
उनले यो चिन्ताको विषय भएको र सबै केसहरू स्थानीय ठाँउको भएको बताएका थिए । भिक्टोरियाकासँगै अहिले अष्ट्रेलियाका विभिन्न शहरहरुमा तीब्ररुपमा कोरोना भाइरसको संक्रमत फैलिएको छ ।
फ्रान्समा फेरि बढ्यो
केही समय सामान्य रहेको फ्रान्समा कोरोनाका केसहरु फेरि दु्रत गतिमा बढिरहेका छन् । शुक्रबार मात्र यहाँ २५ सय भन्दा बढी नयाँ केसहरु थपिएको थियो ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयमा शुक्रवार राति एक आपतकालीन बैठक बस्दै यसलाई रोक्नका लागि सरकारले कडा उपाय अपनाउने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका स्रोतको अनुसार फ्रान्समा लहर लकडाउन सकिएपछि ह्वात्तै संक्रमण बढ्ने अनुमान गरिएको छ ।