काठमाडौं - वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले पाँच दिनमै १२० शैय्याको आइसोलेसन वार्ड स्थापना गरेको छ ।
अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।
केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।
सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमै १२० श्ययाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ ।
नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ जना कोरोना सङ्क्रमितलाई राखिएको वार्ड प्रमुख डा.सागर काफ्लेले जानकारी दिए ।
शुक्रबार साँझदेखि सङ्क्रमितलाई राखेर आवश्यक उपचार प्रक्रिया शुरु गरिएको डा. काफ्लेले बताए । यसअघि अस्पतालले हेटौँडा–४ स्थित श्रमिक माविको भवनमा ३५ श्य्याको आइसोलेसन वार्ड स्थापना गरेको थियो । रासस