माघको एक बिहान । पद्मकन्या क्याम्पसको गेटबाट बाहिर निस्कँदै गर्दा साथीले भनी, ‘मेरो बुढाको बिहे गरिदिन केटी खोज्नु छ यार ।’ जिन्दगीका अर्कै खाले समस्यासँग मुकाबिला गर्दै गरेकी मैले उसको कुरामा खासै चासो देखाएकी थिइनँ ।
- पद्मकन्या क्याम्पसको गेटबाट बाहिर निस्कँदै गर्दा साथीले भनी, ‘मेरो बुढाको बिहे गरिदिन केटी खोज्नु छ यार ।’
म सिनामंगल बस्थें, ऊ नयाँ बानेश्वर । प्रायः सँगै क्याम्पस आउजाउ गर्थ्यौं । तर, उति साह्रो गफिदैनथ्यौं । कलेज पछाडिको क्यान्टिनमा कहिलेकाहीँ चिया भने सँगै खान्थ्यौं । नत्र म कलेज सकेर बागबजारको एउटा पसलमा छिर्थें, रोटी-तरकारी खान्थें । रेडियोमा काम गर्थें त्यसैले आफ्नै गतिमा रेडियोतिर हान्निन्थें । ऊ डेरा फर्किन्थी । यही रीतमा पनि छोटै समयमा मिल्ने साथी भएका थियौं ।
त्यस दिन भने उसको भन्दा मेरो नै मन बेसी भारी भएको हुँदो हो । म अघिल्लै दिन नै रेडियोमा आउँदिनँ भनेर निस्केथें । दुवैको मन बिसाउन साँगा जाने निधो गर्यौं । बागबजारबाट सिधै पुरानो बसपार्क पुग्यौं र बनेपा जाने गाडी समात्यौं । साँगा नझर्दासम्म एकोहोरो हेरिरहें झ्यालबाट बाहिर, पत्थरको प्रतिमाजस्तै बनेर । साँगाको उकालो उक्लँदै गर्दा उसले फेरि भनी, ‘मलाई त बुढाको बिहे गर्दिनु छ । कति सुन्नु घरका मान्छेको कचकच ? म त दिक्क भइसकें ।’
मैले थाहा पाउन सकेकी थिइनँ कि उसको दिक्दारी केमा थियो ? किन बारम्बार आफ्नो लोग्नेको विवाह गरिदिन चाहन्छे ? तर, मेरो हृदयले भनिरहेको थियो कि यतिबेला यो सहरमा ऊबाहेक मनको कुरा भन्न सक्ने अरू कोही छैन । आजसम्म कसैलाई नभनी गाँठो पारेर राखेका केही कुरा छन्, जुन उसलाई भनेर मनभरि रुन चाहन्छु । यसैले मैले उसलाई साँगा लगेकी थिएँ ।
- साँगाको उकालो उक्लँदै गर्दा उसले फेरि भनी, ‘मलाई त बुढाको बिहे गर्दिनु छ । कति सुन्नु घरका मान्छेको कचकच ? म त दिक्क भइसकें ।’
दुई दिनअघि मात्रै आशंका र पीरको फेरोमा बेरिएर नेपाल मेडिकल कलेज, जोरपाटी पुगेथें । त्यहाँ थिए– मैले ९ कक्षा पढ्दादेखि चिनेका दाजु बाबु त्रिपाठी । त्यहाँको लाइब्रेरीमा काम गर्थे, अझै पनि गर्छन् । जीवनका अनेकन् बिन्दुमा चोइटिएका धुजाप्रायः मनका टुक्राजस्तै सम्हालेर लगेथें केही थान औषधिका पत्ता । औषधिका पत्ता समातेर डा. धु्रवमान श्रेष्ठले त्यो समय जे बोले, त्यो दोहोर्याएर सुन्न सकिनँ र आवश्यकता पनि थिएन ।
पहिलो पटक मैले मेरो जिन्दगीमाथि खस्दै गरेको अग्लो पहाड त्यहीँ पुगेर देखेकी हुँ । त्यही पहाडले किच्ने डरले होला, सायद त्यसको भोलिपल्ट क्याम्पस जान पनि सकिनँ । जागिर भने खानैपर्ने बाध्यता थियो । फेरि काममा सिकारु भएका हिसाबले केही बोलिहाल्न पनि सक्दिनथें । हुन त त्यो समयमा स्टुडियोको माइक्रोफोनबाट आवाज कम, आँसु बेसी पठाउँदा पनि मायाले जतन गरेर राख्ने गोपाल झा मेरो जिन्दगीका एउटा आदर्श हुन् ।
- उसले भनी, ‘घरकाले बच्चा भएनन् भनेर खुब सताउँछन् । त्यसैले एउटी केटी खोजेर बुढाको विवाह गर्दिन पाए ढुक्क हुन्थ्यो ।’
हामी दुवैले केही खाएका थिएनौं । मन भारी भएकाले मलाई भोक थिएन, साथी भोकाएकी थिई सायद । तर, दुवैले भोकको कुरा गर्नै भ्याएनौं । हामीले शिवको अग्लो मूर्तिसम्म पुग्ने चेष्टा पनि गरेनौं । हाम्रो उद्देश्य नै तिनको दर्शन गर्नु नै थिएन । तलै चौरमा बस्यौं । उसले बदाम किन्न भ्याएकी रहिछ । त्यो पनि थाहा पाइनँ मैले । बदामको प्लास्टिक खोल्दै उसले भनी, ‘घरकाले बच्चा भएनन् भनेर खुब सताउँछन् । त्यसैले एउटी केटी खोजेर बुढाको विवाह गर्दिन पाए ढुक्क हुन्थ्यो ।’
‘किन तँ आफैँ पाउँदिनस् ?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै ऊ हुरीको झोँका बनी । उसको श्रीमानमा सन्तानको भोक थियो । बच्चा पाइदिने केटी भेटे सानै उमेरमा प्रेम विवाह गरेर ल्याएकी उसमाथि सौता हाल्न तयार थिए ।
त्यो समय मैले उसलाई भन्ने धेरै कुरा हुन सक्थे । उपचारका कुरा, कानुनका कुरा अनि प्रविधिका कुरा । तर, समय आजजस्तो लागेन, धेरै कुराले किचेको चेतनाले उसलाई भन्न सक्ने केही थिएन । उसको समर्पणका अघिल्तिर म झुकें, त्यसै फर्किएँ ।
त्यसपछि मेरो जिन्दगीबाट धेरै कुरा छुटेर गए । ऊ छुटी, जीवनको एउटा लय छुट्यो, आफ्नै भनेर जतनले सँगालेका आफन्त छुटे । छुटेका धेरै कुराको हिसाब राखिएन जीवनमा । राख्न सकेको भए आफ्नै जिन्दगीको नाफा र नोक्सानको गणितीय परिभाषा बनाउनुहुन्थ्यो आज ।
त्यसपछि लामो समय मैले उसलाई सम्झिनै भ्याइनँ । हिजोआज खुब सम्झिन्छु उसलाई । तर, ऊ कता गई, थाहा छैन । उसले श्रीमानको बिहे गराई कि गराइन होला ? अहिले कहाँ–कुन अवस्थामा छे होली ? अहिले ऊसँगै भएकी भए महिलालाई हेर्ने यो समाज व्यवस्थाको असमान नजर र संस्कारविरुद्ध सँगै लड्नु हुन्थ्यो ।
समय सधैं एकनासको रहेन । तर, परिस्थिति कैयौं पटक उस्तै देखिए । ऊसँग छुटेको झुन्डै आठ वर्षपछि बुटवलबाट एक साथीको मेल आयो । मेलमा लेखिएको थियो, ‘मेरी बुहारीबाट जायजन्म भएन, ऊ साह्रै रोगी छ, उसको आयु नै कम छ । मेरो भाइका लागि एउटी केटी खोजिदिनुपर्यो ।’
- मेलमा लेखिएको थियो, ‘मेरी बुहारीबाट जायजन्म भएन, ऊ साह्रै रोगी छ, उसको आयु नै कम छ । मेरो भाइका लागि एउटी केटी खोजिदिनुपर्यो ।’
मैले उसलाई धेरै केही भन्नु जरुरी ठानिनँ । लेखें, ‘जुन कुरालाई ‘इस्यू’ बनाएर तिमी बुहारी खोज्दै छौ, त्यो कुनै कारण नै होइन । एउटा बच्चा एडप्ट गर, समस्या राफसाफ ।’
उसको मन उसले भनिन । केवल जबाफका लागि उसले भनेकी थिई, ‘आफैं सक्षम हुँदा हुँदै म यसो गर्न सक्दिनँ भन्छ भाइ ।’
विज्ञानले प्रमाणित गरेका कुरा पनि गलत देखिएका छन् । कतिपय रिसर्च गरेर निकालेका निष्कर्ष अरू व्यक्तिमा लागू नभएका छन् । ‘यस्तो अवस्थामा एउटा बच्चा नजन्माईकन तिम्रो भाइ बच्चा जन्माउन सक्षम छ कसरी भन्न सक्छ्यौ ?’ मैले पठाएको यो मेलपछि उसको कुनै जबाफ आएन ।
त्यसको करिब १५ दिनपछि होला, उसको भाइसँग थापाथलीमा भेट भयो । म कान्तिपुर पब्लिकेसन्समा काम गर्थें । चिया पिउँदै कुरा गर्ने सल्लाह भयो । आ–आफ्नो अर्डर भनेर गफिन सुरु गर्दा साँझ झमक्कै पर्न लागेको थियो । सन्चो बिसन्चोसँगै घर परिवारका कुरा भए । उसको पनि मन त्यही थियो– राम्री, असल केटी खोजेर बिहे गरूँ । जसले सौता पनि स्विकारोस्, बच्चा पनि जन्माओस् ।
भन्यो, ‘दिदी बिहे गर्नुपर्यो । कोही राम्री केटी छैन ?’ यो समय पनि मसँग उसलाई भन्ने धेरै कुरा हुन सक्थे । तर, केही प्रश्न गरें, ‘तिमी तिम्री श्रीमतीलाई माया गर्छौ ?’
‘गर्छु ।’
‘श्रीमतीले तिमीलाई ?’
‘गर्छिन् ।’
‘श्रीमान/श्रीमतीमा हुनुपर्ने सम्बन्ध हुन्छ कि हुँदैन ?’
‘हुन्छ ।’
उसले संक्षिप्त जबाफ फर्कायो । यतिबेलासम्म हामी बसेको टेबलमा चिया आइसकेको थियो । चियाको चुस्कीसँगै मैले उसलाई सुझाएँ, ‘बच्चा एडप्ट गर ।’ उसले प्रतिवाद गर्यो । श्रीमतीलाई कारण देखायो । भन्यो, ‘श्रीमती मान्दिनन् । मेडिकलले उनीबाटै बच्चा हुँदैन भनेर भनिसकेको छ । उनले मलाई विवाह गर्ने
मञ्जुरीनामा लेखेर दिएकी छिन ।’ मलाई अचम्म लाग्यो । ऊ श्रीमतीले दिएको त्यही मन्जुरनामालाई श्रीमती जोड्ने लाइसेन्सका रूपमा लिएर हिँडेको रहेछ ।
अब मलाई उसँग धेरै कुरा गर्नु थिएन । मात्रै एउटै प्रश्न गर्नु थियो ।
‘तिम्री श्रीमतीको ठाउँमा तिमी भएको भए, बच्चा पाउनकै लागि तिम्री श्रीमतीलाई अर्को श्रीमान खोज्दिने आँट गर्थ्याै ?’ ऊ केही बोल्दै बोलेन । सायद उसलाई यतिबेला चिया पिऊँ कि कप निलूँ भएको हुँदो हो । त्यसपछि करिब मौनता नै छाइरह्यो । मौनताकैबीच उसले भनेको थियो, ‘दिदी, उसलाई क्यान्सर पनि छ ।’ हामी करिब अरू १० मिनेट त्यहाँ बस्यौं र निस्कियौं । जाँदै गर्दा उसको अनुहार कस्तो थियो, मैले याद गरिनँ । यो भेटले उसको मन कतिको भारी या हल्का भयो, त्यो पनि थाहा छैन । तर मेरो मनमा भने अनेकौं दृश्य दौडिरहे ।
- उसको पनि मन त्यही थियो– राम्री, असल केटी खोजेर बिहे गरूँ । जसले सौता पनि स्विकारोस्, बच्चा पनि जन्माओस् ।
उसकी श्रीमती त्यति कमजोर केटी होइन । ल क्याम्पसकी शिक्षिकाले आफ्नै श्रीमानलाई सौता खोज्न लेखेर दिएको मञ्जुरीनामालाई मेरो ल्याकतले कुनै कोणबाट परिभाषित गर्न सकेन । हुन त हाम्रो समाजमा श्रीमती आफैंले केटी खोजेर श्रीमानको विवाह गरिदिएका थुप्रै उदाहरण छन् । क्याम्पसमा गोपालप्रसाद रिमालको ‘मसान’ नाटक पढेर हुर्किएका मान्छे । यो घटना मेरा लागि र समाजकै लागि पनि कुनै नौलो विषय होइन । परिवर्तित समयसँगै परिवर्तन हुन नसकेका मान्छेको मानसिकतासँग हो मेरो दिक्दारी ।
यहाँ श्रीमतीले जस्तै कोखका लागि श्रीमान् खोजिदिने पुरुषहरू कति छन् होला ? आफ्नो आयु कम छ भन्ने जानेर कति प्रतिशत पुरुषले आफ्नी श्रीमतीका लागि श्रीमान् खोजेर आफ्नै जीवनकालमा विवाह गरिदिन्छन् होला ? अनि ती पुरुषहरूलाई उनका दिदीहरूले यसैगरी साथ दिन्छन् कि दिँदैनन् होला ? उदाहरणकै रूपमा लिन मात्रै भए पनि केही मान्छे भेट्ने रहर छ ।