काठमाडौं– लकडाउन अन्त्यसँगै नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गए पनि चार जिल्लामा एक सातादेखि संक्रमित शून्य रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धीकाे सूचना (२५ देखि ३१ साउनसम्म)लाई आधार मान्दा एक साताको अवधिमा संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पामा संक्रमित शून्य रहेको पाइएको हो ।
२५ साउनमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमित शून्य थिए । २६ साउनमा भने खोटाङमा संक्रमित भेटिएसँगै संक्रमित शून्य जिल्लाको संख्या ६ रहेको थियो, जसमा धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका थिए । मंगलबार सोलखुम्बु संक्रमित शून्य जिल्लामा परेको थियो भने धनकुटामा संक्रमण देखिएको थियो । यस दिन पनि संक्रमित शून्य जिल्लाको संख्या ६ नै रहेको थियो ।
यस्तै, बुधबार ५, बिहीबार ६, शुक्रबार ४ र शनिबार ५ जिल्लामा संक्रमण शून्य रहेको पाइएको थियो । यस अवधिमा संखुवासभा, मनाङ, मुस्ता र डोल्पामा संक्रमित भेटिएको थिएन ।
२९ जनाको मृत्यु
साता दिनको अवधिमा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको पाइएको छ । २५ साउनमा २, २६ साउनमा ४, २७ साउनमा ४, २८ साउनमा ८, २९ साउनमा ४, ३० साउनमा ४ र ३१ साउनमा ३ जनाको मृत्यु भएको हो । यस अवधिमा गत बुधबार सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको हो ।
डिस्चार्ज भए ८५२
एक साताको अवधिमा ८ सय ५२ जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी गत शुक्रबार २ सय ४ जना डिस्चार्ज भएका हुन् । गत आइतबार ४०, सोमबार १४०, मंगलबार १७१, बुधबार ६४, बिहीबार १०९, शुक्रबार २०४ र शनिबार १२४ गरी एक साताको अवधिमा ८ सय ५२ जना डिस्चार्ज भएका हुन् ।
थपिए ३४२७ संक्रमित
यो साता ३ हजार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ३८०, सोमबार ३३८, मंगलबार ६३८, बुधबार ४८४, बिहीबार ५२५, शुक्रबार ५९४ र शनिबार ४६८ जना संक्रमित थपिएका हुन् । सबैभन्दा बढी गत शुक्रबार ५ सय ९४ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमण र मृत्युदर बढेसँगै स्थानीय तहले भीडभाडजन्य गतिविध गर्न रोक लगाएका छन् । त्यस्तै सवारी पास बन्द गरिएको छ । हिजो उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी भीडभाडजन्य गतिविधि गर्न रोक लगाएका छन् ।