काठमाडौं - हालसम्म नेपालसहित अन्य देशमा गरेर ५९ हजार ४ सय ११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
जसमा ८३ प्रतिशत अर्थात ४८ हजार ५ सय ४ जना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताएका छन् ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । अहिलेसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।
यद्दपी पहिलेको भन्दा अहिले विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर हुँदै गएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । रासस