काठमाडौं– मम धेरै जसो नेपालीहरुको मनपर्ने परिकार मध्ये एक हो । खानमा मिठो र सजिलो भएका कारणले पनि धेरैको दिउँसोको खाजा मम हुनसक्छ ।
कोरोना भाइरसका कारण हरेक नेपाली घरमा नै बसेको अवस्था छ । भाइरसका कारण केही समयदेखि धेरैले ममलाई मिस गरिराखेको अवस्था हो ।
यस्तो बेलामा तपाईले घरमा नै मम तयार गरेर खान सक्नु हुनेछ । तर मःम मिठो हुनको लागि अचारको भूमिका मुख्य हुन्छ ।
आज हामी तपाईलाई बाक्लो झोल मःमको अचार बनाउन सिकाउने छौं । जुन तपाईले घरमा सजिलै बनाउन सक्नुहुनेछ ।
मःमको अचारका लागि चाहिने सामग्रीः
काटेको प्याज, अदूवा लसुन, टमाटर, नुन, हरियो खुर्सानी, मसला, बेसार, तेल, जिरा, कागती, सेतो तिल, भटमास, धनियाँको पत्ता, पुदिनाको पत्ता,।
बनाउने तरिकाः
सुरुमा एउटा प्यानमा भटमासलाई भुट्ने । त्यसपछि प्लेटमा निकाल्ने र त्यसैगरी सेतो तिललाई पनि भुटेने । त्यसपछि तातेको प्यानमा तेल हालेर जिरा फुराउने ।
हरियो खुर्सानीलाई पनि भुटेर त्यसमा प्याज, लसुन अदूवा हालेर खैरो नभएसम्म भुट्ने । त्यसैगरी टमाटर, नुन, बेसार, मसला हालेर टमाटर र तेल नछुट्टिएसम्म पकाउने र टमाटरलाई छोपेर राख्ने ।
अब मिक्सरमा भटमास र तिललाई पिस्ने । त्यसपछि पकाएकोे टमाटर, हरियो धनियाँ, पुदिना र पानी राखेर पिस्ने
पिसिसकेपछि एउटा सफा भाडोमा निकालेर राख्ने र माथिबाट कागती निचोरेर हाल्ने ।
त्यसपछि त्यसलाई मोल्ने । अब यति भएपछि तपाईको मम अचार स्वादिष्ट तयार हुन्छ । त्यसलाई तातो मःमसँग मज्जाले खाने ।