काठमाडौं- यो वर्षको तीज गीतको सिजन सुरुमा एउटा गीत सार्वजनिक भयो ‘फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले’ । जून गीत पछिल्लो समयकी चर्चित गायिका प्रीति आलेले गाएकी हुन् । गीत लेखेका हुन्, गीतकार एकनारायण भण्डारीले । संगीत पनि भण्डारी नै भरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा गायिका आले स्वछन्द रुपमा प्रस्तुत भएकी छिन् । पुरातन मान्यताभन्दामाथि उठेर प्रीतिले आफूलाई स्वच्छन्द गायिका तथा कलाकारको रुपमा प्रस्तुत गरेकी छिन् ।
उक्त गीत सार्वजनिक भएसँगै उनी विवादमा परिन् । विवादको कारण उनको स्वछन्द शैली नै हो । उनको शैलीलाई कतिपयले ‘भद्धा’ भनेका छन् । कतिपयले पर्व तथा संस्कृतिमाथिको ‘बलात्कार’ भनेर त अश्लील भन्दै टिप्पणी गरेका छन् ।
- ‘फरक सोच राखेर हिड्दा फरक खाले परिस्थितीको सामना गर्न तयार भएर यात्रामा निस्किएकी हुन्छु । म आफ्नै पाराकी केटी हुँ । मन लागेको कुरा जसरी पनि गर्छु ।’
पछिल्लो गीतमा मात्रै होइन, प्रीति हरेक ठाउँमा फरक ढंगमा प्रस्तुत हुन चाहन्छिन् र हुन्छिन् । उनी भन्छिन्– ‘मलाई सबैले हिडेको त्यहि बाटोमा उस्तै गरि हिड्नै मन लागेन । ममा यो फरक सोच भर्खरै मात्रै पलाएको पनि होइन । स्कुल पढ्दा अरु दुई चुल्ठी बाटेर हिडे । मैले ब्वईज कट कपाल काटेर हिँडे । मेरो चर्चा र विरोध त्यही बेलाबाटै सुरु भएको हो । गीत माथिको टिप्पणी सामान्य लाग्छ ।’
चर्चा र विरोध सँगै जोडिएर आउँने कुरा हुन् भन्ने लाग्ने रहेछ प्रीतिलाई । उनी भन्छिन्– ‘फरक सोच राखेर हिड्दा फरक खाले परिस्थितिको सामना गर्न तयार भएर यात्रामा निस्किएकी हुन्छु । म आफ्नै पाराकी केटी हुँ । मन लागेको कुरा जसरी पनि गर्छु ।’
गीतको विरोधसँगै झण्डै एक दर्जन निर्माताहरुले उनलाई सोही शैलीका गीत गाउन लगाए । उनी खुशी छिन्, उनकै शैलीका केही विद्रोही गीत अरु पनि निस्किए । उनी भन्छिन्– ‘सबैले हिडेको बाटोमा उहि ढर्रामा सबैले हिड्नु पर्छ भन्ने छैन् । म युवा पुस्तालाई लक्षित गीत गाउँछु । उनीहरुले मन पराएका छन् ।’