काठमाडौं - सरकारले संघीय संसदका पदाधिकारीहरुलाई सुनको जलप सहितको नयाँ नक्सा अंकित लोगो वितरण गरिएको छ ।
भारतले अतिक्रमण गरेको लिपुलेख, लिम्पियाधुरा र कालापानी सहितको भू–भाग समेटेर तयार पारिएको राजनीतिक तथा प्रशासनिक नक्शा अंकित संघीय संसदको प्रतीक (लोगो) मा दुई लाल सुनको जलप लगाइएको छ भने एक तोला चाँदीको बेस राखिएको लोगो ३ दशमलव ५ सेन्टिमिटर व्यास रहेको छ ।
उक्त लोगो आइतबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा हस्तान्तरण गरेका हुन् ।
वितरण लगत्तै सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले नयाँ लोगो लगाएका छनभने अन्य सांसदहरुलाई पनि उनीहरुले वितरण गर्ने भएका छन् ।
बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण लोगोको मुल्य प्रति गोटा ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको छ । नयाँ लोगो संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्शा अंकित लोगो आइतबार नै उपलब्ध गराइने छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गत जेठ ११ गतेको बैठकले संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा पश्चातको लोगो प्रयोगमा ल्याउने निर्णय भएको गरेको थियो ।
नयाँ लोगो कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार पारिएको हो ।