काठमाडौं - जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ ।
जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७.८ प्रतिशतले गिरावट आएको जनाएको छ ।
जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्र राख्न थालेको हो ।
पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन २००९ मा देखिएको थियो । यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०.६ प्रतिशतले घटेको थियो ।
गत वर्ष सन २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो । यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो ।
अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो भने वैयक्तिक उपभोग्य दरमा वार्षिक करिब २९ प्रतिशतले कमी आएको थियो । रासस