काठमाडौं– सोमबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । लामो समयदेखि नबसेको सचिवालय बैठक शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको ६ सदस्ययी पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गर्न बसेको हो ।
उक्त कार्यदल गठन भएपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर असन्तुष्टि जनाएका थिए । उनीहरूकाे असन्तुष्टिपछि नेकपाको सचिवालय बैठक बसेको थियो ।
सोमबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार गठन गरेको कार्यदललाई सचिवालयबाट अनुमोदनका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सुन्नेबित्तिकै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ‘अनुमोदन नगरे पनि हुन्छ । किन अनुमोदन गर्नु पर्याे, यसको के काम छ र ?’ भनेको एक सचिवालय सदस्यले बताए ।
ती सचिवालय सदस्यले भने, ‘अध्यक्ष तथा प्रधानमन्त्रीले शनिबार गठन गरिएको कार्यदललाई सचिवालय बैठकमा अनुमोदन गर्न प्रस्ताव पेस गर्नुभयो । तुरुन्त इश्वर पोरखेलले यो अनुमोदन नगरे पनि हुन्छ । किन अनुमोदन गर्नुपर्याे ।’
प्रस्तावको विरोध गर्नुका कारण
लामो समयदेखि नेकपामा विवाद चलिरहेको छ । पार्टी फुटजुटको दोधारमा थियो । यही बीचमा नेकपाका दोस्रा तहका नेताहरु जसरी पनि पार्टी एकता जोगाउने भन्दै दौडधुपमा लागेका थिए । तर पनि ओली र प्रचण्ड करिब एक हप्ता संवाद नै नगरी बसेका थिए । तर, दोस्रो तहका नेताको सक्रियतामा अध्यक्षद्वयबीच भेटवार्ता भयो ।
त्यही भेटवार्तापछि पार्टीभित्रको विवाद मिलाउन एक ६ सदस्यीय कार्यदल बनाइएकाे थियाे । उक्त कार्यदलको नेतृत्व पोखरेलले गर्न चाहेका थिए । तर अध्यक्षद्वयले महासचिव विष्णु पौडेललाई दिएपछि उनी ओलीसँग रुष्ट भएका एक स्थायी कमिटी सदस्यले बताए ।
ती स्थायी कमिटी सदस्यले भने, ‘उहाँले नेतृत्व गर्न चाहनुभएको थियो होला, नपाएपछि अरूको नेतृत्वमा विवाद समाधान हुने भयो भनेर पीडा भएको छ । त्यही पीडा पोखेका हुन् ।’
यदि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन भएमा भदाैको दोस्रो हप्तासम्म मन्त्रिमण्डल पनि हेरेफेर हुनेछ । यसमा सबैभन्दा रेड जोनमा पोखरेल परेकाे उच्च स्रोतले बताए ।
मन्त्रिमण्डल हेरफेर हुँदा उनको ठाउँमा पार्टी प्रवक्ता नारायणकाजी आउने देखिन्छ । मन्त्रालय हेरफेर भए पनि उपप्रधानमन्त्री श्रेष्ठ हुने भएपछि पोखरेललाई तनाव भएको स्रोतले बताए ।
कार्यदलमा विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल रहेका छन् ।