काठमाडौं– आइतबार दिउँसो संघीय संसदका पदाधिकारीहरुलाई वितरण गरिएको सुनको जलपसहितको लोगो विवादमा परेको छ ।
नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सासहित बनाइएको लोगोलाई पहिचानका लागि सांसदहरुले लगाउने ब्याच निर्माण गरी लोगो वितरण गरिएको थियो ।
केही समयअघि सरकारले संघीय संसदबाट भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भू–भाग समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । आइतबार संघीय संसदको प्रतीक भनेर अतिक्रमण भएका यी भूभागलाई पनि समावेश गरेर सरकारले सांसदहरुलाई नयाँ लोगो वितरण गरेको हो ।
लोगो सार्वजनिक भएलगतै यसको चौतर्फी आलोचना र टीकाटिप्पणी भएको छ । सामाजिक सञ्जालमा यसको टीकाटिप्पणीहरु बढ्दो छ । लोगोको सन्दर्भमा यसमा कलाकारहरुले पनि असन्तुष्टि जनाएका छन् ।
यस्तो छ संसदको नयाँ लोगो
संघीय संसदले लोगोमा अद्यावधिक गरिएको नयाँ नक्साअनुसार भूभागलाई समावेश गरेको छ । जसमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ भने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ । यो लोगो बनाउन प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको बताइएको छ ।
- 'आफ्नो नजिकको आसेपासेलाई बनाउन लगाउँदा यस्तो किसिमको लोगो बनेको हो’
लोगोका मुख्य डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन् । यसअघि पनि मुखियाले नै संसदको लोगो बनाएका थिए । कालिगढहरुले हातले कुँदेर तयार पारिएको लोगो (ब्याचका रुपमा) बनाउन करिब डेढ महिना लागेको थियो । बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले यो लोगो निर्माणको जिम्मा लिएको थियो ।
आसेपासेलाई बनाउन लगाउँदाको परिणाम
वरिष्ठ कलाकार अस्मिता रञ्जित सरकारले जारी गरेको लोगो कलात्मक नभएको र लोगोले कला वृत्तमा काम गर्नेहरुको बेइज्जती भएको बताउँछिन् ।
‘सरकारले गुणस्तरीय बनाउन भन्दा पनि आफ्नो नजिकको आसेपासेलाई बनाउन लगाउँदा यस्तो किसिमको लोगो बनेको हो,’ रञ्जित भन्छिन्, ‘राजनीतिक नेतृत्वले नेपालको कला र संस्कृतिको जति नै कुरा गरे पनि उहाँहरु यसमा व्यावहारिक हुनु भएन ।’
केराको कोसोजस्तो नक्सा
कलाकार देवेन्द्र थुम्केली संसदको नयाँ लोगोमा असन्तुष्टि जनाउँदै अहिलेको लोगो कलात्मक नभएको बताउँछन् । उनले भने, ‘संसदको यो लोगो, लोगो नभएर केराको कोसो जस्तो भएको छ । हेर्नुस् त, नक्सा केराको भेट्नोसहितको केराको कोसोजस्तो देखिएको छ ।’
उनले नक्सा र झन्ड राष्ट्रको संवेदनशील कुरा भएकाले नक्सामा समावेश गर्न नहुने तर्क गर्छन् । ‘लोगो जस्तो प्रतीक चिह्नमा कुनै पनि देशले आफ्नो देशको नक्सा र भूभाग राख्दैनन् । भूगोलजस्तो कुरा नक्सामा समावेश गर्न पनि गाह्राे हुन्छ । मिलाउँदै मिलाउँदा पनि भूभागको संरचना मिल्दैन,’ थुम्केली भन्छन् ।
- लिच्छविकालदेखिको कला र सभ्यता भएको देशमा केराको कोसो जस्तो लोगो जारी हुनु दुःखद हो ।
छिमेकी राष्ट्र भारतले प्रतीक चिह्न सिंहलाई मानेको र अरू राष्ट्रले पनि केही राष्ट्रिय महत्त्वको कुरालाई चिह्नमा प्रयोग गरेका उल्लेख गर्दै हाम्रो सवालमा पनि राष्ट्रलाई प्रतिनिधित्व गर्ने विविध संस्कृति र सम्पदाहरु राख्न सकिने कुरामा कसैको ध्यान नगएको उनी बताउँछन् ।
उनले भने, ‘सगरमाथा, लुम्बिनी जस्ता सम्पदाहरुलाई राख्न सकिने थियो । तर, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले यो कुरालाई कला र विषयको हिसाबले बुझ्न सकेको छैन । लिच्छविकालदेखिको कला र सभ्यता भएको देशमा केराको कोसो जस्तो लोगो जारी हुनु दुःखद हो ।’
छातीमा लगाउने लोगो केटाकेटी पाराको
कलाकार एकाराम सिं पनि लोगोमा आकर्षण नभएको बताउँछन् । छातीमा लगाउने लोगो भनेपछि त विशेष हुनुपर्ने हो तर लोगो केटाकेटीले खेलाउने खेलौना जस्तो भएको उनको मत छ ।
कलाकार सिं भन्छन्, ‘लोगो हतार हतारमा बनाए जस्तो लाग्यो । संघीय संसदको लोगो भनेपछि त अलि आकर्षक र राम्रो हुनुपर्ने हो तर लोगो हेर्दा जिकज्याक देखिन्छ ।’
लोगो वितरण गर्ने नै अहिले बोल्न मान्दैनन्
प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले गत जेठ ११ गते बसेको बैठकले संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गरेर नयाँ नक्सा सहितको लोगो बनाउने निर्णय गरेको थियो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए ।
संघीय संसदका महासचिव उनै डा. गौतमसँग सामाजिक वृत्तमा नक्साको आलोचना र टीकाटिप्पणीका बारेमा जानकारी लिँदा उनले यसबारे खास प्रतिक्रिया दिन चाहेनन् । ‘म यो विषयमा केही पनि बोल्दिनँ, यो काम खासमा मेरो पनि होइन, यस विषयमा संघीय संसदका प्रवक्तालाई सोध्न सक्नुहुन्छ,' उनले भने ।
अनभिज्ञ ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति
सरकारले जारी गरेको नक्साको विषयमा सरकारी निकायको धारणा बुझ्दा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले यो विषयमा जानकार नभएको बताए ।
उनले भने, ‘म लोगोको आलाेचना त के, लोगोकै बारेमा अनभिज्ञ छु । लोगो कलात्मक हुनुपर्ने कुरा त हो तर कलात्मक बनाउने कुरामा हामीसँग परामर्श र समन्वय भएको छैन । हामी आफैंले पनि त्यस्तो केही पहल गरेनौं ।’