काठमाडौं– साउन ३० गते नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको विवाद मिलाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरे । कार्यदलले शनिबारदेखि काम सुरु गर्यो । उक्त कार्यदलको पहिलो बैठक बस्यो, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको घरमा ।
यो त एउटा पछिल्लो उदाहरण मात्रै हो । अचेल नेकपाका अधिकांश बैठक नेताका घरमा बसिन्छ । गुटको बैठक मात्रै होइन, पार्टीको आधिकारिक बैठकसमेत नेताका घरमा बस्न थालिएकाे छ ।
- अचेल नेकपाका अधिकांश बैठक नेताका घरमा बसिन्छ । गुटको बैठक मात्रै होइन, पार्टीको आधिकारिक बैठकसमेत नेताका घरमा बस्न थालिएकाे छ ।
स्थायी कमिटी, सचिवालय, विभिन्न विभागको बैठकसमेत प्रधानमन्त्रीको सरकारी निवास एवं शीर्ष नेताको घरमा बस्ने गरेका छन् । कहिले अध्यक्ष प्रचण्डको घरमा त, कहिले नेता माधव नेपालको त, कहिले वामदेव गौतमको घरमा पार्टी तथा गुटको बैठक बसिरहेको छ ।
शीर्ष नेताका घरमा नेताको भीड बढेको छ । काम परेर भेट्न खोज्ने कार्यकर्ता पनि नेताका घरको दैलो ढकढक्याउन पुग्छन् । तर, पार्टी कार्यालय भने प्रायः सुनसान हुन्छ ।
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पनि कोही सांसद, नेता भेटिँदैनन् ।
एक हिसाबमा नेकपामा दुई–दुई वटा पार्टी कार्यालय र संसदीय दलको कार्यालय छन् । धुम्बाराहीस्थित तत्कालीन एमालेको पार्टी कार्यालय र कोटेश्वर पेरिस डाँडास्थित तत्कालीन माओवादी (अहिले नेकपा)को कार्यालय पनि प्रायः सुनसान हुन्छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पनि कोही सांसद, नेता भेटिँदैनन् ।
एसियाकै दोस्रो ठूलो कम्युनिस्ट पार्टी दाबी गर्ने नेकपाका करिब ८ लाख कार्यकर्ता छन् । तर ती कार्यकर्ता पनि पार्टी कार्यालय जान चाहँदैनन् । नेताका घरको दैलो कुर्नमै उनीहरु आनन्द मान्छन् ।
- नेकपाका करिब ८ लाख कार्यकर्ता छन् । तर ती कार्यकर्ता पनि पार्टी कार्यालय जान चाहँदैनन् । नेताका घरको दैलो कुर्नमै उनीहरु आनन्द मान्छन् ।
अहिले कारोना कहरका कारण पार्टी कार्यालयमा कार्यकर्ताको भीड कम भएको होइन । पार्टी एकीकरण भएदेखि नै कार्यालय सुनसान छ । यसले नेकपामा मौलाएको गुट र पार्टी नीतिभन्दा नेता हाबी भएको प्रस्ट पारेको छ ।
तत्कालीन एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि धुम्बाराहीमा सारिएको हो । जहाँको मासिक भाडा २ लाख रुपैयाँभन्दा बढी छ । पेरिसडाँडास्थित कार्यालयमा १४ जना कर्मचारी सिफ्ट मिलाएर आउजाउ गर्छन् । पार्टी कार्यालय सचिव ईश्वरी रिजाल भने कार्यालयबाट हुने नियमित काम भइरहेको बताउँछिन् ।
अझ तत्कालीन एमालेका नेता तथा कार्यकर्ता पेरिस डाँडा जान र माओवादीका नेता कार्यकता धुम्बाराही जान ‘इन्जोए’ गर्दैनन् । यसले पनि समस्या भएको बताइन्छ ।
- अझ तत्कालीन एमालेका नेता तथा कार्यकर्ता पेरिस डाँडा जान र माओवादीका नेता कार्यकता धुम्बाराही जान ‘इन्जोए’ गर्दैनन् । यसले पनि समस्या भएको बताइन्छ ।
नेकपाका आमन्त्रित स्थायी कमिटी सदस्य केशव बडाल भन्छन्, ‘बैठक कहाँ बस्यो भन्ने कुरा प्रधान होइन, बैठकमा के कुरा भयो भन्ने कुरा ठूलो हो ।’
नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भन्छन्, ‘सम्भव भएसम्म बैठक पार्टी कार्यालयमै बस्नुपर्ने हो । अहिले जे अभ्यास भइरहेको छ, त्यो गलत हो ।’
नेकपाले अहिले बल्खुमा आफ्नै पार्टी कार्यालय बनाउने निर्णय गरेको छ । तर काम सुरु भएको छैन । पार्टी कार्यालय जहाँ जत्रो भए पनि नेताका घरमा कार्यकर्ताको भीड लाग्ने निश्चित छ । बल्खुमा ७ रोपनी ९ आना जग्गा खण्डहर जस्तो बनेको छ ।
दुईपटक सचिवालय र एकपटक स्थायी कमिटी बैठक
पार्टी एकता भएपछि अहिलेसम्म पार्टी कार्यालयमा दुईपटक सचिवालय बैठक र एकपटक स्थायी कमिटीको बैठक बसेको छ । तर घरघरमा नेताहरुको भेला, गुटका बैठक र नेता कार्यकर्तासँग भेटघाट निरन्तर हुन्छ ।
‘नेताहरुको घरघरमा भेटघाट हुनु सामान्य हो । मन्त्रीहरुसँग मन्त्रालय र निवासमा पनि भेटघाट हुन्छ भने नेताहरुसँग पनि पार्टी कार्यालय र घरमा भेटघाट हुनु नराम्रो होइन,’ रिजालको तर्क छ, ‘अध्यक्ष आउने दिन हामीलाई जानकारी हुन्छ । नेता–कार्यकर्तालाई भेट्नुहुन्छ । अध्यक्ष मात्र होइनन्, महासचिव, संगठन विभाग प्रमुख, स्कुल विभाग प्रमुख कोरोना महामारी महामारी सुरू हुनुभन्दा पहिले पार्टी कार्यालय आएर नेता कार्यकर्तासँग भेटघाट र छलफल गर्नहुन्थ्यो ।’