तीज नजिकिँदै गर्दा एउटा तीज गीत सार्वजनिक भयो, ‘फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले ।’ यस गीतमार्फत गायिका प्रीति आलेले तीज गीतको स्थापित मान्यता भत्काउने प्रयास गरेकी छन् । तीजका लागि लगाइने पहिरनको शैली परिवर्तन गरेकी छन् ।
त्यस्तै, गीतको म्युजिक भिडियोमा आले स्वछन्द रूपमा प्रस्तुत भएकी छन् । तर, गीत सार्वजनिक भएसँगै उनी विवादमा तानिइन् । गीतकार तथा संगीतकार एकनारायण भण्डारीले पनि गीतको म्युजिक भिडियोप्रति विमति जनाए । भण्डारीको प्रतिक्रियाले प्रीतिलाई छोएन । उनले यही लय तथा भावभंगीका अन्य केही गीत गाइन् ।
प्रीतिको चर्चा सेलाउन नपाउँदै गायिका सोफिया थापाको ‘नो व्रत प्लिज’ बोलको गीत विवादमा तानियो । गीत विवादले गुमनाम गायिकालाई चर्चामा ल्याइदियो । त्यसयता तीज, यसकाे महत्त्व र महिलाले चाहेको परिवर्तनको विषयमा सोफिया निरन्तर बोल्दै र लेख्दै आएकी छन् ।
- सोफिया र प्रीति उहाहरण मात्रै हुन्, गीतमा रूपान्तरण खोज्दा विवादमा तानिएका थुप्रै छन् ।
सोफिया र प्रीति उदाहरण मात्रै हुन्, गीतमा रूपान्तरण खोज्दा विवादमा तानिएका थुप्रै छन् । यसअघि नै थुप्रै गायिकाले ‘अश्लील गीत गाउने’ पगरी गुथिसकेका छन् । पछिल्लो समयका कतिपय गीतसंगीतले पर्व तथा संस्कृतिको ‘बेइज्जत’ गरेको आरोप लाग्दै आएको छ । धेरै गीत अश्लील भए भन्ने धेरैको गुनासो छ । तर, श्लील र अश्लील मानिसको हेर्ने दृष्टिकोण मात्रै हो भन्छन्, संगीतकार सन्तोष श्रेष्ठ ।
गीतको बदलिँदो ट्रेन्ड
कुनै एक समय थियो, हरितालिका तीज नजिकिँदै गर्दा ‘तीजको रहर आयो बरिलै’ बोलको गीत सबैतिर गुन्जिन्थ्यो । जुन गीत रेडियोबाट बजेपछि गाउँघरमा तीज नजिकिएको महसुस गर्थे, दिदी–बहिनीहरूले । चलचित्र ‘कन्यादान’का लागि तयार पारिएको यो गीत निकै लोकप्रिय भयो ।
नेपाली तीज गीतको स्वरूप सोफिया र प्रीतिले मात्रै भत्काएका होइनन् । झन्डै १४ वर्षअघि गायिका कोमल वलीले ‘पोइल जान पाम्’ बोलको गीत गाएपछि तीज गीतले फरक बाटो समातेको हो । त्यतिबेला वलीकोे निकै आलोचना भएको थियो । ‘बाबाको दैलामुनि बोट छ है बयर, छोरी धेरै भनेर हेला नगर’ जस्ता तीज गीत गाएकी वलीको विरोध मात्रै भएन, त्यतिबेला दण्डपानी पाण्डेले ‘पोइल जान पाम भन्नेलाई मैले लान पाम्’ भन्दै गीतै निकालेका थिए ।
- झन्डै १४ वर्षअघि गायिका कोमल वलीले ‘पोइल जान पाम्’ बोलको गीत गाएपछि तीज गीतले फरक बाटो समातेको हो । त्यतिबेला वलीकोे निकै आलोचना भएको थियो ।
त्यसपछि बिस्तारै तीज गीतको ‘ट्रेन्ड’ परिवर्तन हुँदै आएको हो । हरेक वर्ष सांगीतिक बजारमा तीज गीतका विषयमा केही न केही विवाद भइरहेकै हुन्छ । तीज गीतमा महिलाका वेदना समेटिएन भनेर धेरै आलोचना हुने गरेको छ ।
तर, प्रीति अरूले हिँडेकै बाटो हिँड्न तयार छैनन् । उनी भन्छिन्, ‘सबैले हिँडेको बाटोमा उही ढर्रामा हिँड्नुपर्छ भन्ने छैन । म युवा पुस्तालाई लक्षित गरेर गीत गाउँछु, उनीहरूले मन पराएका छन् । उनीहरूले पोख्ने भावना फरक छन् । समाज फरक भइसक्यो ।’
अश्लीलता गीतमा होइन, दृष्टिकोणमा
पछिल्लो समयका तीज गीतका टीकाटिप्पणी हेरिरहेकी अभिनेत्री शोभिता सिम्खडा भन्छिन्, ‘कहिल्यै नारीको स्वतन्त्रता र स्वाभिमानी अस्तित्व स्वीकार गर्न नसकेको हाम्रो सामाजिक संरचनाले अलिकति खुलेकी नारीको स्वतन्त्रतालाई बन्देज लगाउन मात्रै खोजेको हो ।’
सिम्खडा प्रश्न गर्छिन्, ‘आमाको स्तन चुसेर हुर्किएको पुरुष महिलाको नाइटो देख्नासाथ किन उत्तेजित हुन्छ ?’
- सिम्खडा प्रश्न गर्छिन्, ‘आमाको स्तन चुसेर हुर्किएको पुरुष महिलाको नाइटो देख्नासाथ किन उत्तेजित हुन्छ ?’
नेपाली समाजका आफ्नै मौलिक सामाजिक मूल्यमान्यता भएकाले अलिकति बाटो फरक हुँदा मान्छेलाई अश्लील लागेको गीतकार राजेन्द्र थापाको बुझाइ छ ।
संगीतकार सन्तोष श्रेष्ठ विश्वविद्यालयमा पढाइने मूर्तिकला तथा चित्रकलाको प्रयोगात्मक पद्धतिमा महिला, पुरुषको मूर्ति तथा चित्र बनाउँदा केही शारीरिक नग्नतासहितको बनाएको अनुभव सुनाउँदै भन्छन्, ‘सार्वजनिक स्थानमा राखिएको हुन्छ । सम्पूर्ण अंगप्रत्यांग देखिने गरी निर्माण गरिएको हुन्छ तर निर्माण गर्नुको उद्देश्य प्रस्ट हुनुपर्छ ।’
श्रेष्ठ सांगीतिक श्रव्यदृश्यमा बढी अंग प्रदर्शन र अश्लील शब्द प्रयोग भएकाे विषयमा पनि श्लील र अश्लील भन्ने कुरा दृष्टिकोणमा निर्भर हुने बताउँछन् । उनी भन्छन्, ‘तीज गीतले परम्परागत र परिमार्जित बाटो समातेको छ । यी दुई दृष्टिकोणको कारण श्लील र अश्लीलको बहस चर्किरहेको पाइन्छ । हरेक विषय समयानुकूल परिमार्जित हुँदै जान्छन्, यसलाई स्वीकार्न सक्नुपर्छ ।’
- श्रेष्ठ सांगीतिक श्रव्यदृश्यमा बढी अंग प्रदर्शन र अश्लील शब्द प्रयोग भएकाे विषयमा पनि श्लील र अश्लील भन्ने कुरा दृष्टिकोणमा निर्भर हुने बताउँछन् ।
गीत सुनेर गाली गर्नुअघि अश्लीलता के हो भन्ने जान्नु जरुरी रहेको संगीतकार सुरेश अधिकारीको भनाइ छ । तीज भन्नेबित्तिकै साडी लगाएर नाच्नुपर्ने कुरा कहीँ उल्लेख नभएको अधिकारी बताउँछन् ।
अधिकारी भन्छन्, ‘कुनै समय थियो, नेपाली नारीहरूको पहिरन नै साडी मात्रै थियो । समय परिवर्तनसँगै उनीहरूले आफ्नो सहजता हेरेर पहिरन परिर्वन गरे । तीजको एक दिन भए पनि साडी लगाउने चलन थियो, लगाए । त्यसैले सारी तीजको पहिरन जस्तो बनिदियो । हेर्नेहरूले साडी बाहेकका अरु पहिरन लगाएका गीतलाई उछृङ्खल भनेर परिभाषित गरे । यो हाम्रै कमजोरी हो ।’
सर्जक एकनारायण भण्डारी तीज गीतका नाममा महिलाले विगतमा झैं रोनाधोना नै गरिरहनुपर्छ भन्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘हिजो गीतमा सासूले खान नदिएको, श्रीमानले माया नगरेका विषय प्रस्तुत हुन्थे । समाजको संरचना त्यस्तै थियो । समाज जति परिवर्तन हुनुपथ्र्यो, हामी जति अगाडि जानुपथ्र्याे, त्यति भएकै छैन । बरु कला नपुगेको पक्कै हो ।’
संसारमा अश्लील भन्ने चिज नै नभएको उनको बुझाइ छ । तर, सबै कुरा सबै मान्छेले स्वीकार गर्नैपर्छ भन्ने छैन । भण्डारी भन्छन्, ‘संसारमा सबै मान्छेलाई मन पर्ने कुनै चीज पनि छैन । मान्छेले भगवान् त फरक फरक मन पर्याउँछन्, अरू त सामान्य कुरा हुन् ।’