लाई– पपुवा न्युगिनीको लाई सहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मंगलबार प्रहरीले पुष्टि गरेको छ ।
पपुवा न्युगिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बिरामी कैदीलाई उपचारका लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले सामूहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको सिलसिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कु प्रहार गरी जेलबाट बाहिर भागेका थिए ।'
सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गरे ।
पपुवा न्युगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो । यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैदी जेल तोडी भागेका थिए । त्यस्तै, सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७ व्यक्तिको मृत्यु भएको थियो ।