सन् २०१६ को सुरुतिर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्न म पहिलोपटक उनकै निवास लैनचौर पुगेकी थिएँ । त्यतिबेला उनले बुढ्यौली आँखालाई चस्माले छोपेर हँसिलो चेहराले आशीर्वाद दिएका थिए । घिमिरेले भनेका थिए, ‘छोरी, जिन्दगीमा सबै कुरा छोडे पनि अध्ययन गर्न नछोड्नू है ।’
त्यतिबेला मैले सोधेकी थिएँ, ‘दिन कसरी कटाउनुहुन्छ ?’
- हरेक भेटमा उस्तै उज्यालो, रसिला र फरासिला देखिन्थे घिमिरे ।
‘बुढो मान्छेको दिनचर्या पहिलेको जस्तो हुँदैन । पहिले समय तालिका मिलाएर काम गरिन्थ्यो । अब त सबैभन्दा ठूलो कुरा बाँच्नुपर्छ । बिहान ६ बजे उठ्छु । उमेर बढेसँगै निद्रा कम पर्न थालेको छ,’ उनको जबाफ थियो ।
त्यसपछि पनि उनीसँग पटक पटक भेट भयो । हरेक भेटमा उस्तै उज्यालो, रसिला र फरासिला देखिन्थे घिमिरे । मलाई पनि रमाइलो लाग्थ्यो । हृदयको रसिलो पाटो कोट्याएर महाकाव्य ‘ऋतम्भरा’का कुरा गर्थे ।
त्यतिबेला मैले घिमिरेलाई सोधेकी थिएँ, ‘महाकाव्य आफैं लेख्नुहुन्छ कि ? अरूलाई भनेर लेख्न लगाउनुहुन्छ ?’ घिमिरेले गाली गर्दै भनेका थिए, ‘आफ्नो भावना पनि अरूलाई लेख्न लगाएर आफ्नो जस्तो हुन्छ ?’
- घिमिरेले गाली गर्दै भनेका थिए, ‘आफ्नो भावना पनि अरूलाई लेख्न लगाएर आफ्नो जस्तो हुन्छ ?’
हरेक भेटमा उनी भन्थे, ‘आफ्नो यो दुर्लभ जीवनलाई दुरुपयोग नगर है । सके राम्रो काम गर । राम्रो काम गर्न सकिनौं भने राम्रो चिन्तन गर ।’
- सके राम्रो काम गर । राम्रो काम गर्न सकिनौं भने राम्रो चिन्तन गर ।
सय वर्ष पार गर्दा पनि लेखनको सक्रियता देखेर मलाई अचम्म लाग्थ्यो । उनी भन्थे, ‘अचम्म नमान, सकारात्मक सोच । म यो उमेरसम्म बाँचेकै सकारात्मक सोचेरै हो ।’
आजबाट यो प्रेरणा र उदाहरणको मियो ढलेको छ । उनलाई हार्दिक श्रद्धाञ्जली ।