आमाबाबुलाई पहिलोपल्ट कहिले चिने होला भनेर सम्झनु भनेको हिजो बेलुका म ठ्याक्कै कति बजे निदाएँ भनेर सम्झन खोज्नु जस्तै हो भन्ने मलाई लाग्छ । कसैको सम्झने शक्ति धेरै तेजिलो हुन्छ । कसैको अलिक बोधो होला । मेरो पनि उति तेज छैन । म अढाई वर्षको भएदेखि यताका कुराहरू घुर्मैलो घुर्मैलो सम्झनामा छन् ।
तैपनि बुबाको अनुहार ठम्याएको खासै सम्झना आउँदैन । सधैँ सँगै भएको मानिसका धेरै कुरा याद गरिएका हुँदैनन् पनि । आमाबाबु त झन् बालकसँग कहिले पो छुट्टिन्छन् र !
मैले जहिले बुबालाई चिनें, उहाँ अपांग हुनुहुन्थ्यो । उहाँका दुवै खुट्टाका कुर्कुच्चा भुइँमा टेकिँदैनथे । एउटा आफ्नो काँधसम्म आउने बाँसको खिरिलो लौरो टेकेर हिँड्नुहुन्थ्यो । पहाडको ठाउँ उकालो ओरालो भौंडी सबै त्यही लौरोको भरले पार गर्नुपर्थ्यो । मैले धेरैपल्ट बुबालाई हिँड्दाहिँड्दै थुचुक्क बसेको देखेको छु ।
ठूला मानिस लडेको त कति पनि नसुहाउने । कहिले कताकता पिल्छेको हुन्थ्यो कहिले सामान्य नै । त्यस्तो बेलामा मलाई सारै नराम्रो लाग्थ्यो । अरू साथीहरूको बुबा कस्ता दरा न दरा हुन्थे । कत्राकत्रा घाँसका भारी बोक्थे, रुख चढेर डाले घाँस झार्थे । धरानसम्म पुगेर नुनको भारी बोकेर ल्याउँथे । हलो जोत्थे, बारीको ठूलाठूला ढुंगा पल्टाउँथे । आफ्ना बुबाले त्यस्तो केही गर्न नसक्ने । अरू त के हामीलाई समेत उचाल्न नसक्ने ।
शारीरिक रूपमा बुबाका खुट्टा कमजोर भए पनि मानसिक रूपमा उहाँ एकदम नै सशक्त हुनुहुन्थ्यो । उहाँ घरमै अध्ययन गरेर संस्कृत, नेपाली र गणितको शिक्षकसमेत हुनुहुन्थ्यो । मैले धेरैपछि थाहा पाएँ– मेरो बुबाले धेरैलाई पढाउनुभएको रहेछ ।
- बरु आमाले मलाई पनि धेरैपल्ट कुट्नुभएको छ । दिदीबहिनीहरूले पनि आमाबाट राम्रै चुटाइ खाएका हुन् तर बुबाबाट खाएनन् ।
‘तिमी त मेरो गुरुको छोरा हौ’ भन्नेहरू धेरैसँग भेट पनि भयो । उहाँ ज्योतिषी पनि हुनुहुन्थ्यो । घर बसीबसी उहाँको आम्दानीको स्राेत भनेको मानिसहरूको चिना लेखिदिने र दशाग्रह हेरिदिनु नै थियो । बारीको काम गर्न नसके पनि सानोतिनो कमाइ बुबाको थियो । घरभित्र र बाहिरका सबै काम आमा एक्लैले गर्नुपर्थ्यो ।
म सधैँ बुबासँगै सुत्थें । हुर्किँदै गएपछि झन् नजिक हुँदै गएँ । पहाडमा हुँदा दिदी कमला, म, बहिनीहरू चन्द्रा र टीका मात्र थियौं । नानु र भाइ कुमार मधेसमा आएपछि जन्मेका हुन् । बुबाले हामी कसैलाई पनि कहिल्यै हप्काउने, गाली गर्ने, कुट्ने गरेको थाहा छैन । बरु आमाले मलाई पनि धेरैपल्ट कुट्नुभएको छ । दिदीबहिनीहरूले पनि आमाबाट राम्रै चुटाइ खाएका हुन् तर बुबाबाट खाएनन् । हामीलाई कुटपिट गरेकै कारण आमा र बुबाको बाझाबाझ हुन्थ्याे । धेरैले बाबुसँग डर लाग्छ भन्थे तर हामी आमासँग बढी डराउँथ्यौं ।
पहाडमा हाम्रो खेत थिएन । बारीमा मकै, कोदो, जुनेलो, फापर यस्तै मात्र फल्थ्यो । धान नहुने भएकाले चामलको भात खान पाइँदैनथ्याे । तर पनि बुबा ज्योतिषी भएकाले चिना देखाउन आउने मानिसहरूले एक मानाका दरले चामल र केही पैसा चिनामाथि राखेका हुन्थे । पैसा त कति हुन्थ्यो, म चिन्दिनथें । त्यो चामलले हामीलाई आठपाँच जाउली खान पुग्थ्यो ।
मेरो बुबाको खास नामबाहेक नै दुइटा नाम थिए । प्रायः सबैले तिनै नामले बोलाएको सुन्थें म । कसैले भट्टराई जेठा भन्थे, कसैले ज्योतिषी जेठो भन्थे । बुबाको नामै त्यही होला भनेर हामीले आफूलाई चिनाउनु पर्दा पनि बुबाका तिनै नाम भन्थ्यौं ।
मैले धेरैपछि मात्र थाहा पाएको हुँ बुबाको खास नामचाहिँ टीकाराम रहेछ भन्ने । कसै कसैले रिसाएर वा होच्याएर डुँडे जेठो पनि भनेको सुन्थें । माथिका नामहरू सुन्दा त नराम्रो लाग्दैनथ्याे तर यो डुँडे भनेको सुन्दाचाहिँ मनमनै सारै रिस उठ्थ्यो ।
बुबा सारै हक्की र तार्किक हुनुहुन्थ्यो । उहाँका अघि प्रायः कोही पनि धेरैबेर तर्कमा टिकेको मलाई थाहा छैन । तर्कशक्ति भनेको सान्दर्भिक ज्ञान जति बढी छ त्यसैको अनुपातमा हुँदो रहेछ । बुबा त शारीरिक रूपमा अशक्त भएकाले बसीबसी पढ्ने लेख्ने मात्र गरेर होला, त्यसबेलाको विद्याको स्राेत मानिएका वेद, पुराण, उपनिषद्, रामायण, महाभारत सबै कतिपल्ट दाहोर्याइसकेको हुँदो हो । फलानो किताबको फलानो पातोमा यो कुरो छ वा फलानो सिलोकमा यसो भनेको छ भनेर फ्याटफ्याटी भनेको सुन्थें ।
त्यति धेरै सन्दर्भको ज्ञान हुनु भनेको सामान्य कुरा होइन तर पहिलेका मानिसहरूको घोकन्ते विद्या भएकाले सिंगैसिंगै त्यत्रात्यत्रा पुस्तक कण्ठ गर्थे । बुबा ज्योतिषीसमेत भएकाले ज्योतिषी भनेको तर्कशास्त्र नै हो । एक प्रकारले ग्रहहरूका सम्बन्ध र गुणका आधारमा फल बताउनुपर्ने हुँदा ज्योतिषीहरू यसै पनि अरूभन्दा बढी तार्किक हुन्छन् । त्यसमा पनि हाम्रो बुबा बढी नै तार्किक भएजस्तो मलाई लाग्छ ।
पहाडमा हुँदा कसैको घरायसी झैझगडा, मुद्दा मामिला मिलाउनुपर्याे भने भट्टराई जेठो हक्की छ, त्यसकहाँ जाऔं भन्दै मानिस आउँछन् भन्थे । ज्योतिषीबाहेक बैदाङ, झारपुक आदि पनि गर्ने हुनाले हाम्रो घरमा मानिसको भीडभाड भइरहन्थ्यो नै ।
- खलिल जिब्रानको कथा जस्तो भयो उहाँहरूलाई मधेस पनि । हराभरा गहुँ पाकेको खेतको बीचमा कलकल बगिरहेको कुलोको डिलमा एउटा सुगा पिँजडाभित्र भोक र तिर्खाले मरिरहेको एक मार्मिक कथा पढेको थिएँ खलिलको । मधेसमा हजारौं बिघा बाझा खे भएर पनि हाम्रा आमाबुबा भोकभोकै हुनुहुन्थ्यो, उहाँहरूसँग हामी भुरा पनि ।
२०२४ सालमा मधेस झरियो । त्यो बसाइँको विस्तृत वर्णन मेरो आधाबाटो पुस्तकमा पढ्न पाइन्छ । पहाडमा कामको दुःख ज्यादा । जहान पनि बढेका । आमा एकजनाको कामले परिवार धान्न गारो भएकाले सजिलो खोज्दै मधेस झरिएको थियो होला । बुबालाई पनि दिनदिनै पहाडका उकाली–ओराली गर्न गाह्रो हुँदै जान थालेको थियो होला । हामी तीनदेखि एघार वर्षसम्मका भुरालाई लिएर आमाबुबा मधेस हिँडेको कुरा मलाई एकएक पाइलाको सम्झना छ आज पनि ।
सुख खोज्न मधेस झरेका, मधेसमा आइपुगेपछि चाहिँ वास्तविक दुःखमा पर्नुभयो उहाँहरू । मधेसमा जग्गा भने जतासुकै पाइने । गरी खानलाई जसले पनि जग्गा दिन तयार हुने तर कसरी गर्ने खेती ? कसले जोत्ने राँगा ? कसले लगाउने खेतमा आली ? चारजना बच्चाकी आमाले कसरी आँट गर्नु खेती गर्ने !
खलिल जिब्रानको कथा जस्तो भयो उहाँहरूलाई मधेस पनि । हराभरा गहुँ पाकेको खेतको बीचमा कलकल बगिरहेको कुलोको डिलमा एउटा सुगा पिँजडाभित्र भोक र तिर्खाले मरिरहेको एक मार्मिक कथा पढेको थिएँ खलिलको । मधेसमा हजारौं बिघा बाझा खे भएर पनि हाम्रा आमाबुबा भोकभोकै हुनुहुन्थ्यो, उहाँहरूसँग हामी भुरा पनि ।
शनिश्चरे बजारमा सुर्ती चुरको पसल थालेपछि दोकानकै एक छेउमा बसेर बुबा चिना हेर्ने गर्नुहुन्थ्यो । त्यतिबेलाको पातलो जनसंख्या, त्यसमा पनि चिनेका पहाडिया हुनुपर्याे । बुबाको चिना हेर्ने पेसा पनि खासै चलेन । शनिश्चरे बजारको त्यो पीडापूर्ण जिन्दगीको कथा मैले आधाबाटोमै लेखिसकेको छु ।
बुबाको हक्की र अध्ययनशील बानीले बिस्तारै काम गर्दै जान थाल्यो । त्यही बजारमा पनि बुबाका नयाँ साथीहरू हुन थाले । पहाडदेखिका चिनेजानेकाहरूले पनि भट्टराई जेठो मधेस आएर शनिश्चरे बजारमा दोकान गर्छ अरे भनेको सुन्नेहरू बुबालाई नै भेट्न भनी आफ्ना जहानकै एक मुठो चिना बोकेर आउन थाले ।
शनिश्चरे बजारमा एउटा टुकटुके मिल थियो । त्यसका मालिक थिए हरिविलास बन, उनलाई पटवारी पनि भनिन्थ्याे । धन र इमान दुवै एकै ठाउँ भएको मानिस भेट्न सजिलो छैन । ती दुवै गुण भएका मानिस थिए पटवारी बा । बुबाको उनीसँग चिनजान भएपछि धेरै समय पटवारी बाकै गद्दीमा बित्थ्यो । त्यहाँ सबैतिरका ठूलाबडाको जमघट हुन्थ्यो । बुबाका कुरा पनि सुन्ने र चिना पनि हेराउने गर्न थाले । बुबासँग अनेक शास्त्रबारे उनीहरू चर्चा गर्न रुचाउँथे । बुबा पनि म जस्तै फुर्किएर उत्तर गर्नुहुन्थ्यो । जे होस्, आफू गरिबै भए पनि बुबाले इज्जत कमाउनुभएको थियो ।
त्यही संगतको फल भन्नु पर्छ, एक दिन हरिविलास बन (पटवारी बा )ले उनको देवानको सातपत्रेमा रहेको बाँझो जमिन कमाउन सल्लाह दिएछन् । बेलुका आमाबुबाले कुरा गरेको सुनें, ‘बजारको नजिकै रैछ । बिहानै दोकान गर्न तँ आउनु । म मान्छे लगाएर खेती गर्छु । अब सधैँ यसरी हुँदैन । दिनदिनै भुरा हुर्किंदै छन् । किस्नेलाई पनि स्कुल हाल्नुपर्छ । (पढाउने कुराचाहिँ मलाई मात्र थियो । अभाव र गरिबीको कुरा मात्र थिएन । त्यसबेला छोरीले पनि पढ्नुपर्छ भन्ने त सोचाइ नै नआउँदो रहेछ जस्तो लाग्छ । मेरा तीन दिदी बहिनीमा मलाई मात्र पढाउने कुरा हुन्थ्यो र आखिर मैले मात्र पढ्न पाएँ ।) यस्तै केके सल्लाह गरेर बुबाआमाले सातपत्रेमा जग्गा कमाउने निधो गर्नुभएछ । मधेस झरेको तीन वर्षपछि हामीले सातपत्रेमा घर बनाएका थियौं ।
- त्यस दिनदेखि मेरा हातगोडा गल्न थालेका थिए । मन अमिलो हुन थालेको थियो । बुबा अरूको चिनामा हेरेर त कतिसम्म बाँच्छ भन्ने मान्छे । आफ्नै चिना हेरेर भनेको भनेपछि मेरा हातगोडा गलेर आए । फेरि आमालाई नभन्नु भनेकाले भन्नु पनि भएको थिएन ।
सातपत्रे सरेपछि अब बुबाको त्यो सम्पन्न र बौद्धिक संगत पनि छुट्यो । उहाँ टुक्रुक्क बसेर माटोसँग खेलिरहनुहुन्थ्यो । झार जिलाउने, बसीबसी डल्ला फोर्ने, माटो खन्ने, धानमकै गोड्ने, कोदो रोप्ने सबै काम गर्नुहुन्थ्यो । टुक्रुक्क बसेर घण्टौं काम गरेपछि घुँडा गल्दा रहेछन् । भरे उहाँलाई उभिन एकदम नै गारो पर्थ्याे । कहिले म दिदी, चन्द्रा सबैजना मिलेर उचालेर उभ्याउँथ्यौं, कहिले त्यसै गरी बसीबसी बिस्तारै हिँडेर घर आइपुग्नुहुन्थ्यो र केही भरपर्दो आड लिएर उभिनुहुन्थ्यो । यो हामी देख्नेका लागि सामान्य कुरा भए पनि बुबाका लागि ज्यादै कष्टकर थियाे । दिनदिनै उहाँलाई गारो हुँदै जान थालेको थियो । तैपनि त्यस्तो कठिनाइ कहिल्यै आफ्नो बोलीमा र अनुहारमा देखाउनुभएन ।
मधेसमा आएपछि बुबाको अर्को नाम थपिएको थियो, लंगडा बाजे । अनि हाम्रो परिचय पनि त्यसैको वरिपरि घुमेको थियो हामी केटाकेटी लंगडा बाजेका छोराछोरी, आमा लंगडा बाजेकी स्वास्नी । मलाई लाग्छ, मधेसमा आएपछि कसैले पनि मेरा बुबाको वास्तविक नाम थाहा पाएनन् । त्यो नामको उनीहरूलाई आवश्यक पनि परेन होला । मुख अगाडि भट्टराई बाजे, अलिक पर पुगेपछि लंगडा बाजे भएरै बित्यो उहाँको बाँकी जिन्दगी ।
बुबाको यो लंगडा बाजे नामले सबैभन्दा बढी मलाई छुन्थ्यो किनभने दिदीबहिनीहरू त घरबारीमै हुन्थे । उनीहरूको बाहिरी मानिसहरूसँग उति धेरै भेट र चिनजान पनि हुँदैनथ्याे । म भने सधैँ स्कुल जानुपर्ने । मेरा साथी र सरहरूले समेत मलाई कि त चुरवाल्नीको छोरा भन्थे, कि लंगडा बाजेको छोरा । सबैका आमाबाबुका नाम थिए तर मेरा आमाबाबुका नाम थिएनन् ।
सातपत्रे सरेको एक वर्षपछि नै त्यो आफूले कमाउँदै गरेको जमिन किन्नुभयो । जग्गाको धनीपुर्जालाई हातले खोल्दै बन्द गर्दै गरेर रमाएको बुबाको अनुहार सम्झँदा मलाई आज पनि हर्ष लाग्छ, एकछिन भए पनि । सातपत्रेमा बुबाले छ वर्ष मात्र दुःख गर्न पाउनुभयो । यही छ वर्षमा दिदी कमलाको १६ वर्ष र बहिनी चन्द्राको १४ वर्षमा बिहे भयो । आमाले यिनै छ वर्षभित्र भाइ कुमार र बहिनी नानुलाई जन्माउनुभयो । अन्तिम छैटौं वर्ष उहाँ रोगले थलिएको वर्ष थियो ।
फागुनको घाम र सुक्खा हावामा टुक्रुक्क बसेर मकै गोड्दा हावाले उडाएको घुलो आधाभन्दा बढी नाक र मुखबाट फोक्सोतिरै पस्थ्यो होला । २०३३ सालको वैशाखदेखि नै उहाँलाई सुक्खा खोकी र पेट दुख्ने बिमारले सताउन थाल्यो । त्यसबेलाको शनिश्चरेमा भएका सुब्बा डाक्टर (वास्तवमा उनी डाक्टर नै हैनन् । कतै प्राक्टिस गरेको अनुभव थियो होला । तर उनै थिए सबैले पत्याएका ।) अर्का दुईजना थिए मुरली र भट्टाचार्य भन्ने दुई बंगाली यस्तै खाले । त्यसबेला पारी पाराखोपीमा एमबिबिएस डाक्टर शंकरप्रसाद उप्रेती पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई औषधि गरेको पैसा लिनुहुन्नथ्याे । बुबा बढी नै स्वाभिमानी भएकाले होला, आफूसँग उपचार गर्ने पैसा नभएकाले रोगलाई खप्दै जानुभएछ ।
- मेरो बुबाको जिन्दगी मैले थाहा पाएदेखि कहिल्यै आनन्दको भएन । शारीरिक दुःख त छँदै थियो तर पारिवारिक र गरिबीको असीमित दुःखकै बीचमा उहाँले यो संसार त्याग्नुभयो । उहाँको लाचारीलाई आज पनि म जब सम्झन्छु, त्यसै त्यसै आँखा भरिएर आउँछन् ।
बुबा बित्नुभन्दा दुई महिनाअघि मात्र नानु जन्मेकी थिई । आमालाई सुत्केरी व्यथा लागेर छटपटाएको देख्दा उहाँले सुतेकै ठाउँमा कोल्टो परेर आँसु झादैं भन्नुभएको थियो, ‘म मरें भने त कमलीकी आमाले जसरी पनि यी भुरा हुर्काउँछे । ऊ मरी भने मैले कसरी हुर्काउनु यी भुरा !’
बित्नुभन्दा त्यस्तै एक महिनाअगाडि जस्तो एकदिन मलाई छेउमा बोलाएर मेरा हातका औँला खेलाउँदै भन्नुभयो, ‘तैंले यिनै औँलाले गरी खान्छस् । तेरो चिना परेको छ । अब म धेरै बाँच्दिन । त्यही भएर मैले हतार हतार चन्द्रीको पनि बिहे गरिदिएको । जे भए पनि कमली र चन्द्रीले पेटभरी खान पाएका छन् । तिमेर्ले यो जग्गालाई जोगाएर फलाएर खानू । सकेसम्म पढ्नू । मैले भनेका यी कुरा आमालाई नसुनाउनू । मैले आफ्नो चिना पनि हेरेको छु ।’
त्यो दिनदेखि मेरा हातगोडा गल्न थालेका थिए । मन अमिलो हुन थालेको थियो । बुबा अरूको चिनामा हेरेर त कतिसम्म बाँच्छ भन्ने मान्छे । आफ्नै चिना हेरेर भनेको भनेपछि मेरा हातगोडा गलेर आए । फेरि आमालाई नभन्नु भनेकाले भन्नु पनि भएको थिएन ।
नभन्दै २०३३ साल कार्तिक २ गते अठ्चालिस वर्षको उमेरमा उहाँले यो संसार त्याग्नुभयो । अब मान्छे मरेको घरका भयौं हामी सबै । त्यसको छब्बिस वर्षपछि २०५८ साल कार्तिक १० गते बित्नुभो आमा पनि ।
मेरो बुबाको जिन्दगी मैले थाहा पाएदेखि कहिल्यै आनन्दको भएन । शारीरिक दुःख त छँदै थियो तर पारिवारिक र गरिबीको असीमित दुःखकै बीचमा उहाँले यो संसार त्याग्नुभयो । उहाँको लाचारीलाई आज पनि म जब सम्झन्छु, त्यसै त्यसै आँखा भरिएर आउँछन् ।
उहाँले मर्नुअघि भन्नु भएको एउटा कुराचाहिँ साँच्चै पुगेको छ । मैले औंला चलाएरै गरी खाइरहेको छु । आज बुबाको मुख हेर्ने दिन बिहानै २०२८ सालमा खिचेको सपरिवारको बीचमा आमाकै छेउमा बसेको उहाँलाई नै हेरिरहें निकैबेर । मनमनै भनें– ‘बुबा हेर्नू त ! म तपाईंभन्दा बार वर्ष बढी पो बाँचिसकें त !’