-
उही पुरानै टोपीले
पुरानै कमिजले
आधा ढाकेर आफ्नो जिन्दगी
टालिरहे हाम्रा बाले
सन्तानको जिन्दगी
कतैबाट नचुहिने गरी ।
माटोबाट माटैसम्म उठेर
आकाश बनाए हाम्रा लागि,
भकारोबाट सुगन्ध झिकेर
उनिदिए जिन्दगीका अक्षरहरु,
झुल्किदिएर घाम क्षितिजबाट
भरिदिए आँखाभरि उज्यालो ।
बाका खस्रा हातको नरम स्पर्शले
सिकाएको हो श्रमको कालिगढी,
चर्चरी फुटेका पैतालाहरुले
सिकाएको हो लक्ष्य र गन्तव्य
बाकै आशीर्वादको सिँढी चढेर
उक्लिरहनुछ जीवनको सगरमाथा
हुनुछ सगरमाथाभन्दा एकमान्छे अग्लो टाकुरा ।
बाको छातीमा ठोक्किएर
फर्कन्छ अभावको सिरेटो
र मुस्काउँछ रापिलो चुलोको ओठ
वैलाउछन् चट्याङका पत्रहरु
फर्किन्छन् आँगनको बाटो भएर
बाले नै ल्याइदिनुहुन्छ
कपास जस्तो खुसी
हरेक चाडपर्व बनेर ।
बालाई हेरेपछि यस्तो लाग्छ
संसारको सबैभन्दा ठूलो घर हाम्रै हो
जहाँ संसारको सबैभन्दा अग्लो मान्छे अटाएको छ
र अटाएको छ त्यो छातीभित्र
हामी अट्ने सिंगाे संसार ।
इटहरी ५, सुनसरी