काम गर्दै गर्दा बारीको डिलमा बसेर बुवा खुइय्य गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘यति ऋण छ ।’ म सानै थिएँ, बुझ्दैनथें– ऋणधनको कुरा । म सोच्थें– यो ऋण भनेको के होला ?
बुवाआमाका कुराकानी सुन्थें । बुवा भन्नुहुन्थ्यो, ‘घर बेचेर ऋण तिर्नुपर्छ साइली ।’ त्यतिबेला पनि मलाई लाग्थ्यो– तिर्नै नसक्ने ऋण किन लिनुभयो बुवाले ?
एक दिन बुवाले अन्तरे हजुरबुवालाई घर बेच्नुभयो । हुन त बुवा घर बनाउँदै बेच्नुहुन्थ्यो । घर बेचेपछि हामी कहिले ठुलोेबाको घरमा, कहिले हजुरबुवाको घरमा बस्थ्यौं । हिजोआज सम्झँदा लाग्छ– ती दिनमा बुवा कसरी मुस्कुराएर हिँड्न सक्नुभयो ? केले बनेको हुन्छ बुवाको छाती ?
अन्तरे हजुरबुवालाई घर बेचेको साल उहाँले हेटौंडा छोड्ने निधो गर्नुभयो । बुवाको धोको थियो अफ्ना बुवाआमा (मेरा हजुरबुवा–हजुरआमा)सँग बस्ने । खै, के केले रोक्यो ? बुवाले बुवाआमाको छहारीमा बस्न पाउनुभएन । अन्ततः हामी झापा जाने भयौं । बुवाले भन्नुभयो, ‘म अभागी ! बुवाआमाको भागमा पर्न सकिनँ ।’
- बुवाको धोको थियो अफ्ना बुवाआमा (मेरा हजुरबुवा–हजुरआमा)सँग बस्ने । खै, के केले रोक्यो ? बुवाले बुवाआमाको छहारीमा बस्न पाउनुभएन ।
बुवाले हजुरबुवा बित्ने बेला अनुहारसम्म हेर्न पाउनुभएन । हजुरबुवा बितेको भोलिपल्ट मात्रै बुवा हेटौंडा आइपुग्नुभयो ।
बुवाको भागमा हजुरबुवा हजुरआमा नपरे पनि मेरो भागमा बुवाआमा पर्नुभयो । दाइ र बहिनीहरू त्यतिबेला हामीसँगै जान पाएनन् । म भने सटको फेरो समातेर बुवासँगै झापा गएँ । झापा जाँदा आमा बाटामा खुब रुनुभयो, बुवा रुनुभएन ।
कहिल्यै नहिँडेको बाटो । आफन्त नभएको त्यो बस्ती । आफन्तको सम्झनामा कति पोल्थ्यो होला बुवाको छाती ? मलाई भने त्यहाँको समथर बस्ती मन परेन । पहाड, जंगल हेर्दै हुर्किएकी मलाई पहाडै नदेखिने ती बस्तीमा आफैं निस्सासिए जस्तो लाग्यो । त्यसपछि मलाई लाग्यो, ‘मेरा बुवाले मलाई माया गर्नुहुन्न ।’
बल्ल मलाई मेरा संगीको याद आयो । लड्दै हुर्किएको आँगनको याद आयो । खाँदाखाँदै छाडेको जागिरको सम्झना आयो । म त्यतिबेला रेडियोमा कार्यक्रम चलाउने भइसकेकी थिएँ । आफैँ पैसा कमाउने भएकी थिएँ । मलाई लाग्यो– म त अभागी रहेछु । त्यतिबेला मलाई खुब रिस उठ्यो बुवाले लिएको ऋण सम्झिएर । मैले सम्झिनै सकिनँ, त्यो ऋण त बुवाले हाम्रै सुन्दर भविष्य निर्माण गर्न लिनुभएको थियो भनेर ।
- एक साँझ खै कुन हुन्डरी चल्यो बुवाको मनमा ? जागिर मात्रै होइन, घरै छोडेर हिँड्नुभएछ । आमा भन्नुहुन्थ्यो, ‘बुवाले घर छोड्दा तँ मेरो गर्भमा थिइस् ।’
हुन त मेरा बुवा म जन्मनुअघि नै सरकारी स्कुलको मास्टर हुनुहुन्थ्यो । दाइ जन्मनुभएको थियो । म जन्मनेवाला थिएँ । मेरा बुवाको जिन्दगी राम्रै लयमा बहेकै थियो । एक साँझ खै कुन हुन्डरी चल्यो बुवाको मनमा ? जागिर मात्रै होइन, घरै छोडेर हिँड्नुभएछ । आमा भन्नुहुन्थ्यो, ‘बुवाले घर छोड्दा तँ मेरो गर्भमा थिइस् ।’
बुवाले घर छोडेपछि जन्मिएकी म ‘बुवा’को काँध नभिजाएरै हुर्किएँ । बुवाको हात समातेर हिँड्न सिक्ने बेलामा थुप्रै ठेस लागे मेरा पैतालामा, थुप्रै चोट लागे शरीरमा । तिनै चोटका खतले आज पनि अमिलो बनाउँछ मेरो मन । त्यो बेला ‘बुवा’ घरमा नहुँदा आमाको जीवनमा के–के असर गर्यो, त्यसको लेखाजोखा गर्ने सामर्थ्य आज पनि राख्दिनँ म । तर, बुवाको अभावमा मेरो बाल्यकाल निरस भयो, खल्लो भयो, अपूरो भयो ।
म जन्मिएको खबर मेरा बुवाले परदेशमै सुन्नुभयो । खुसी भएर आमालाई चिठी र मलाई घाँगर पठाउनुभयो । आमाले पहिलो पटक परदेसिएका श्रीमानकाे खबर पाउनुभयो । मैले बुवाले स्पर्श गरेको घाँगर लगाएँ । आमा अहिले पनि भन्नुहुन्छ, ‘त्यति बेला तँ परी जस्तै सुन्दर भएकी थिइस् ।’ म चार वर्ष पुग्नै लाग्दा बुवा मुग्लानबाट घर फर्किनुभयो ।
- मैले बुवाले स्पर्श गरेको घाँगर लगाएँ । आमा अहिले पनि भन्नुहुन्छ, ‘त्यति बेला तँ परी जस्तै सुन्दर भएकी थिइस् ।'
भित्तो समातेर तातेताते गरिसकेपछि घर फर्किएका ‘बुवा’सँग लामो समय नजिक परिनँ । तर, ‘बुवा’ले कहिल्यै गुनासो गरेको सुनिएन । अचम्म लाग्छ– कहाँबाट पलाउँछ सन्तानप्रति अभिभावकको विश्वास । मलाई ‘बुवा’का हातबिनै हिँड्न सिक्दा पैतालामा लागेका घाउजस्तै दुख्ने सम्झना कति थिए होला बुवासँग ? दिन पुग्न लागेकी गर्भवती श्रीमती छाडेर हिँडेका बुवालाई कति गाह्रो भएथ्यो होला निदाउन । ‘बुवा...’ भनेर भर्खर बोलाउन थालेको छोराको सम्झनामा कतिपल्ट निचोरियो होला बुवाको मुटु । मकैको चबी छोरालाई खुवाउँदा खुवाउँदै थाकेर भोकै सुतेकी मेरी आमाको सम्झनामा कतिपटक गाँठो परेर तुफान भयो होला मेरा बुवाको मन ? कस्तो सपना देखेर फेरि घर फर्किनुभयो बुवा ?
बुवा घर फर्किएपछि पनि उहाँ र मबीचको दुरी बनिरह्यो । यो दुरी झापा झरेपछि झन् धेरै बढेर गयो । दाइ र बहिनीहरूलाई बुवाले माया गरेर हेटौँडामा नै छोडेर आउनुभयो । मलाई हेला गरेर मेरो मन बसेको ठाउँसँग छुट्याएर ल्याउनुभयो । त्यतिबेला म खुब टुटें । दिनभरि टोलाउँथें, रातभरि रुन्थें । सुत्नै सकिनँ त्यतिबेला ।
- मेरा बुवाले फेरि अर्को पटक ऋण काढ्नुभयो । मलाई चिटिक्क परेको साइकल किन्दिनुभयो । म खुसी भएँ । त्यसपछि बल्ल मैले बुझें– बुवाले ऋण त मेरै खुसीका लागि काढ्नुभएको रहेछ ।
म निदाउनै नसकेपछि ‘बुवा’ पनि सँगै रुनुहुन्थ्यो । आमासँग गुनगुन गर्नुहुन्थ्यो । त्यतिबेला म पहिलोपटक स्लिपिङ ट्याप्लेडको सहारामा निदाएँ । म निदाउनै नसकेपछि निदाउन सकेनन् बुवाका आँखा पनि । बुवाले नै मलाई निद्रा लाग्ने औषधि खुवाउनुभएको थियो । झापा बसाइँ गएको एक महिनापछि बल्ल म औषधिबिनै निदाउन सक्ने भएँ । बुवा खुसी हुनुभयो । आमा हाँस्नुभयो । बुवाले फेरि ऋण काढ्नुभयो । मलाई चिटिक्क परेको साइकल किन्दिनुभयो । म खुसी भएँ । त्यसपछि बल्ल मैले बुझें– बुवाले ऋण त मेरै खुसीका लागि काढ्नुभएको रहेछ ।
तर मैले बुवालाई त्यो ऋण तिर्न सहयोग गर्नै पाइनँ । यतिबेला म महसुस गरिरहेकी छु– कति पोल्ने ताप बोकेर बस्तो रहेछ ऋण मान्छेको मनस्थितिमा ।