चार कक्षा पढ्दादेखि नै पत्रकार बन्ने रहर । कक्षाकोठामा शिक्षकले ‘तिमी के बन्छौ सिर्जना ?’ भनेर सोध्दा अनायासै ‘पत्रकार बन्छु’ भनिदिएँ । त्यतिबेला अबोध मनमा कसरी ‘पत्रकार’ पस्यो, थाहा पाइनँ । जन्मेँ, व्यावसायिक सहर बनेपामा । मन भने हर्दम साहित्य र पत्रकारिताबीच नै दौडिरह्यो । अहिले बुझ्छु, त्यसो हुनुमा साहित्यकार मोहन दुवाल अर्थात् बुबाको भूमिका थियो, पारिवारिक माहोलको भूमिका थियो । आमा पनि शिक्षिका हुनुहुन्थ्यो, उहाँले पढाउने विद्यालय शिक्षा सदन माविमा म पढ्थेँ ।
बनेपाको पुरानो बजार भोलाखाटोल । म जन्मे–हुर्केको । नेता, साहित्यकार र कलाकारको जमघटको थलो थियो हाम्रो घर, अझ विशेष गरी साहित्यकारको । सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, पारिजात, कृष्णप्रसाद पराजुली, माया ठकुरी, बेन्जु शर्मा, मञ्जु काँचुली, रमा शर्मा, श्यामप्रसाद शर्मा, उषा शेरचन, भागिरथी श्रेष्ठ, सरुभक्त– मैले सानैमा देखेका अनुहार ।
मलाई सम्झना छ– आठ कक्षामा पढ्दा बनेपामा साहित्यकार पारिजातलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । मसहित केही साथी पारिजातलाई स्वागत गर्न लाइनमा थियौँ । पारिजातलाई नवरङ अंकलले बोकेर सभा कक्षमा ल्याउनुभयो । उहाँको कृतिबाट म जति प्रभावित थिएँ, हिँड्न नसक्दाको पीडा त्यतिबेला महसुस गरेँ । मैले त्यतिबेला नै सपना देखेँ– म पनि पारिजातजस्तै सर्जक बन्छु । त्यसले मलाई सिर्जनाको गोरेटोमा हिँड्न थप अभिप्रेरित गर्याे ।
घरमा मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, भवानी घिमिरे, चूडामणि रेग्मीलगायतका स्रस्टा बस्ने गरी नै आउनुहुन्थ्यो । उहाँहरूसँग हुने संवाद र काव्यात्मक गन्थनबाट मलाई साहित्यिक परिवेश थप प्यारो लाग्दै गयो । उसै पनि सानैदेखि बुबाको काव्यिक सचेतना र लगावबाट प्रभावित थिएँ । एक कक्षामा पढ्दा नै उहाँको नक्कल गरेर कविताहरू कोर्थें । अनि कसैले देख्ला भनेर च्यातिदिन्थेँ ।
- मैले लेखेको कविता बुबाले देख्नुभयो र ‘जनमत’पत्रिकामा ‘नवप्रतिभा’ स्तम्भअन्तर्गत प्रकाशित गरिदिनुभयो । त्यसपछि ‘नदी’ कविता पत्रिकामा आएपछि मलाई कविता लेख्न झन् रुचि बढ्यो ।
सायद ४ कक्षामा पढ्दा होला, मैले लेखेको कविता बुबाले देख्नुभयो र ‘जनमत’पत्रिकामा ‘नवप्रतिभा’ स्तम्भअन्तर्गत प्रकाशित गरिदिनुभयो । त्यसपछि ‘नदी’ कविता पत्रिकामा आएपछि मलाई कविता लेख्न झन् रुचि बढ्यो ।
बुबाको दिनचर्या बिहान ४ बजेदेखि सुरु हुन्छ । बिहान लेखपढ गर्ने उहाँको बानी पुरानै हो । उहाँको दैनिकीबाट आज पनि लोभिन्छु । उहाँले मलाई ‘कविता लेख’ भनेर नभने पनि मैले कविता लेख्दा उहाँलाई खुसी देखेको छु । त्यसो त, म सानैदेखि बुबाको पछि लागेर साहित्यिक कार्यक्रममा पुग्थेँ ।
साहित्यकारहरूले भन्थे– दुवालले आफ्नो बिँडो थाम्ने छोरी पाए । त्यतिबेला के भनेको हो, बुझ्दैनथेँ, तर सबै साहित्यकारको प्रिय छोरी बनेकी थिएँ म । त्यसै मेसोमा सुनकोसी साहित्य प्रतिष्ठान, प्रस्फुटन परिवार, गुञ्जन, बाल साहित्यलगायतमा भएको कार्यक्रममा कविता भनेका क्षण अझै सम्झना छ ।
- बुबाले सम्पादन गर्ने पत्रिका ‘जनमत’ मभन्दा ३ वर्षले कान्छो छ । जोसँग बुबाको लगाव लोभलाग्दो छ । ७० वर्षको उमेरसम्म आइपुग्दा पनि जनमतलाई लिएर उहाँ जोसिएको देख्दा अचम्म लाग्छ ।
बुबाले सम्पादन गर्ने पत्रिका ‘जनमत’ मभन्दा ३ वर्षले कान्छो छ । जोसँग बुबाको लगाव लोभलाग्दो छ । ७० वर्षको उमेरसम्म आइपुग्दा पनि जनमतलाई लिएर उहाँ जोसिएको देख्दा अचम्म लाग्छ । ‘जनमत’को कुरा गर्दा उहाँ कहिल्यै थाक्नुहुन्न । जस्तो परिस्थितिमा पनि ‘जनमत’ निरन्तर प्रकाशित गरिरहने उहाँको लगन र निष्ठाको प्रशंसा मैले धेरै साहित्यकारबाट सुनेको छु ।
म सानो हुँदा घरमै प्रिन्टिङ प्रेस थियो । जहाँ ‘जनमत’पत्रिकाका साथै अन्य पुस्तक पनि प्रकाशित हुन्थ्यो । पत्रिका र किताबको पेज मिलाउँदै, फर्मा मिलाउँदै, बाइन्डिङ गर्दै र तिनै पुस्तक पढ्दै मेरो बाल्यकाल बित्यो । म एक्लै रमाउने प्रवृत्तिको, खासै साथी–संगाती थिएनन् । हजुरबुबा–हजुरआमाले बाहिरतिर खेल्न पनि उति पठाउनुहुन्नथ्यो । कति समय त म कापीभरि जनमत–जनमत–जनमत लेखेरै बिताउँथे । त्यसैले जनमतसँग मेरो पनि अलगस्तरको लगाव छ ।
आफ्नो भाषामा पनि कलम चलाउनुपर्छ भन्ने सोचले बुबाले मलाई लतितपुरका नेपाल भाषामा काम गरिरहेका मदन श्रेष्ठसँग परिचय गराइदिनुभयो । ७–८ कक्षामा पढ्दै विश्वभूमि, सन्ध्या टाइम्सलगायतका पत्रिकामा नेपाल भाषाका मेरा कविता नियमित प्रकाशित हुन्थे । ९ कक्षासम्म पुग्दा ३ दर्जनभन्दा कविता प्रकाशित भइसकेका थिए । त्यसपछि बुबाले ‘जनमत प्रकाशन’बाट ‘अभिव्यक्तिका सूत्रहरू’ नाम दिएर नेपाली कविता संग्रह प्रकाशित गरिदिनुभयो । त्यसलगत्तै भक्तपुरको लुध्वखा प्रकाशनबाट नेपाल भाषाको कृति ‘जिगु छें, जिगु सर्ग’ प्रकाशित गरिदिनुभयो । यसरी म साहित्य क्षेत्रमा प्रवेश गरेँ । साहित्यसँगै मेरो रुचि पत्रकारितामा बढ्दै गयो ।
- हाम्रा चुनौती, हामीले तर्नुपर्ने पुल सबै हाम्रै सिर्जना हो भन्ने भुलिदिन्छौं । तर, जब हामी आफूभित्रका झिल्कोलाई चिन्छौँ र अनि खुल्छौँ ।
एसएलसीपछि मैले बनेपामै मानविकी पढेँ र एउटा विद्यालयको प्रशासनमा पनि काम गरेँ । तर पत्रकार बन्ने सोच र सपनाले छोड्दै छोडेन । पत्रकारिताको प्यास मेटाउन काठमाडौंको अनामनगरस्थित मिडिया प्वाइन्टमा पत्रकारिता पढ्न थालेँ । त्यतिबेलाको मेरो व्यस्तता चर्को थियो ।
बिहान पाँच बनेपादेखि बबरमहलसम्म आएर कि कालो टेम्पो समात्यो कि त दगुरेरै मिडिया प्वाइन्ट पुग्यो । अनि पढिसकेर फेरि गाडी चढेर बुडोलस्थित स्कुलमा जागिर खान पुग्यो । आमाले टिफिन बक्समा खानामा माया पनि पस्केर पठाउनुहुन्थ्यो । त्यस्तो व्यस्ततामा पनि मलाई मज्जा लागेको थियो किनकि म पत्रकार बन्दै छु भन्ने भावले मलाई उत्साहित बनाउँथ्यो । मैले गर्न चाहेको काममा बुबाबाट अहिलेसम्म कुनै रोकतोक भएन । मन सफा र निष्कपट छ भने सफल भइन्छ भन्ने उहाँकै भावलाई सधैं साथमा राखेर हिँड्छु, निर्णय लिन्छु ।
- मन सफा र निष्कपट छ भने सफल भइन्छ भन्ने उहाँकै भावलाई सधैं साथमा राखेर हिँड्छु, निर्णय लिन्छु ।
१७ वर्ष कान्तिपुर पब्लिकेसनको सह–प्रकाशन ‘नारी’ मासिकमा काम गरेँ । मैले काम सुरु गर्दा बुबा जति खुसी हुनुहुन्थ्यो, छोडेँ भन्दा पनि उति नै खुसी लागेको भाव व्यक्त गर्नुभयो । नारीमा काम गर्दा मैले साहित्यलाई चटक्कै छोडेँ भन्ने उहाँको गुनासो थियो । त्यसैले कर गरेरै जनमतलाई कविता माग्नुहुन्थ्यो । अहिले नेपाली पब्लिकमा काम गर्न थालेपछि उहाँ अझ खुसी हुनुभएको छ । पत्रकारिताका खास अभ्यास गर्न र समयअनुसार चल्न जानेको भनेर स्याबासी दिनुभयो ।
त्यसो त मेरो हरेक निर्णयमा उहाँको स्वीकृति हुनुले मलाई हमेसा प्रेरित गरिरह्यो । यसले मलाई मोहन दुवालको छोरी हुनुमा गर्व छ । मलाई थाहा छ, अहिलेको परिवेशमा म मोहन दुवालजस्तै हुन सक्दिनँ । उहाँ साहित्य र पत्रकारितालाई समाजसेवाका रूपमा लिनुभयो । के म त्यसो गर्न सकुँला ? कदापि । किनकि समाजसेवा मात्रै गरेर जीवन निर्वाहको माहोल छैन । त्यसैले पत्रकारितामा पनि म व्यावसायिकता खोज्छु नै । जसरी बुबा दिनरात लेखपढ गर्नुहुन्छ, सम्पादन गर्नुहुन्छ र जनमतको चाङ बोकेर हिँड्नुहुन्छ । त्यसरी म हिँड्न पक्कै सक्दिनँ । तर सधैँ उहाँको जोस र सोचबाट प्रभावित छु । त्यसैले उहाँले देखाएकै बाटोमा लागिरहेको छु । तर उहाँकै सिको गर्नु, प्रतिबिम्ब बन्नु चानचुने कुरा होइन । एउटा गल्लीमा बसेर साहित्य गतिविधिको अग्रस्थानमा भइरहनुमा उहाँको जुन त्याग, तपस्या, मेहनत र लगन छ, त्यो सोच्दा पनि भारी अनुभूत हुन्छ । सधैँ सोच्छु– के म त्यति धैर्य, त्याग र तपस्या गर्न सकुँला ?
- समाजसेवा मात्रै गरेर जीवन निर्वाहको माहोल छैन । त्यसैले पत्रकारितामा पनि म व्यावसायिकता खोज्छु नै । जसरी बुबा दिनरात लेखपढ गर्नुहुन्छ, सम्पादन गर्नुहुन्छ र जनमतको चाङ बोकेर हिँड्नुहुन्छ । त्यसरी म हिँड्न पक्कै सक्दिनँ । तर हमेसा उहाँको जोस र सोचवाट प्रभावित छु ।
बुबा भन्नुहुन्छ– जीवनमा हामी बारम्बार त्यस्ता बिन्दुमा पुग्छौं, जहाँ डर, आग्रह अनि दुःख र पीडाका पुराना अनुभवले आँखामा ओझेल पारिदिन्छ । हाम्रा चुनौती, हामीले तर्नुपर्ने पुल सबै हाम्रै सिर्जना हो भन्ने भुलिदिन्छौं । तर, जब हामी आफूभित्रका झिल्कोलाई चिन्छौँ र अनि खुल्छौँ । आफ्नो यात्राको पहिलो पाइला चाल्न जे चाहिन्छ, त्यो आफैँभित्र छ ।
म हरेक निर्णय लिनुअघि उहाँको यही दर्शनलाई आत्मसात् गर्छु । आज कुशेऔंसीका दिन यी शब्द उहाँप्रति समर्पित ।