‘बाबु ! ए बाबु, हैन अझै सुत्दै छ यो केटो ?
यस बेलासम्म सुत्नेले के गरी खाला जिन्दगीमा ?’
यस्तै कठोर वाणीले मीठो निद्रा बिथोलियो । मन नलागी नलागी पट्यार मान्दै ओढ्ने फालेर आङ तान्दै मझेरीमा ओर्लिएँ । सधैँ झैँ उही अनुहार र भाव बोकेको एउटा शरीर मेरो अगाडि ठिंग उभिएको देखेँ । थोरै डर र अलि बढी आवेगले त्यो अनुहारतिर हेरेँ अनि त्यो अनुहारलाई बेवास्ता गर्दै भित्तामा टाँगिएको घडीतर्फ आँखा लगाए । बिहानको झन्डै ७ः५० बजेको रहेछ । कति न आकाशै खसे जस्तो गरी चिच्याएको सुन्दा त लाग्थ्यो, कुनै प्रलय हुँदै छ र जीवन बचाउन म सबेरै उठेर पृथ्वी परिक्रमामा निस्कनुपर्छ । यस्तै कल्पित मुद्रामा अल्छी मान्दै म आफ्नो दैनिकीतर्फ लागे ।
- कति न आकाशै खसे जस्तो गरी चिच्याएको सुन्दा त लाग्थ्यो, कुनै प्रलय हुँदै छ र जीवन बचाउन म सबेरै उठेर पृथ्वी परिक्रमामा निस्कनुपर्छ ।
दशकौँ अघिदेखि यस्तै खेप्दै आएको म । अहिले त्यो शरीर र वाणीले त मलाई यसो भन्दैन तर मेरो परिस्थिति र समयले यस्तै भन्दै नेपथ्यबाट चिच्याउँछ । अनि त्यही नेपथ्यको चिच्चाहट र अमूर्त परिस्थितिसँग सामना गर्न फेरि उही दैनिकीले मलाई घचेट्छ र म उतै लिप्त हुन्छु । पृथ्वीको गर्भमा जन्म लिएको हरेक सजीव प्राणीले आफ्नो दैनिकी चलाउन आफ्नो बर्कत र समयले भ्याएसम्मको संघर्ष गर्नैपर्छ । त्यो नगरी जीवन चल्दैन । त्यही एउटा जीवनरूपी आशाको त्यान्द्रो र मीठो भोलिको कल्पना गर्दै आजलाई आफ्नै ढंगले कर्तव्यमा ढाल्नु हामी सबैका लागि अत्यावश्यक छ ।
परिस्थिति र समय त भिन्न छ तर जिन्दगीको यात्रा अगाडि बढाउनुपर्ने बाध्यता र संर्घषको इतिहास आज पनि उही छ । हरेक अभिभावकले आफ्नो सन्ततिको सुनौलो भोलिका लागि आज हरसम्भव प्रयास र मेहनत गर्छन् । सन्ततिलाई जीवनको त्यो भोगाइ र यात्राका लागि तयार बनाउन चाहन्छन् । जुन यात्राको क्रममा उसलाई कुनै पनि चुनौती सजिलैसँग सामना गर्ने अदम्य साहस र कला मिलोस् । धेरै कम अनि सीमित पुस्ता मात्र छन्, जो आफ्नो अभिभावकको मेहनत र आदर्शलाई कदर गर्दै आफ्नो मार्ग कोरिरहेका हुन्छन् । तर एउटा जमातले त्यो परिदृश्य बुझ्दैनन् अनि सुरु हुन्छ उनीहरूको ‘विचलित पथ’ । धेरै युवा पुस्ता जीवन संघर्ष र भोगाइबाट टाढा बस्न चाहन्छन् । उनीहरूलाई परिस्थितिसँग जुधेर सुनौलो भोलि निर्माण गर्न र सफल भविष्य कोर्न भन्दा पनि क्षणिक आजको रमाइलो र आनन्दले लोभ्याउँछ । अनि जीवन सिँगार्न छाडेर दुर्व्यसन र कुलतमा फस्छन् । अनि मानसिक विचलन भोग्न बाध्य छन् ।
- धेरै कम अनि सीमित पुस्ता मात्र छन्, जो आफ्नो अभिभावकको मेहनत र आदर्शलाई कदर गर्दै आफ्नो मार्ग कोरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनले नै स्वस्थ मानिस हुन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्ने भनी परिभाषित गरेको छ । अहिलेकै विषम परिस्थितिलाई नियाल्दा पनि कोरोना महामारीमा नेपालमा झन्डै १२ सय मानिसले आत्महत्या गरको तथ्यांक हामीसामु छ । विश्वको तथ्यांकलाई नियाल्दा पनि अबको केही दशकमै विश्वमा मानसिक रोगीको संख्या उल्लेख्य वृद्धि हुने देखिन्छ । जसबाट बच्न मानसिक रूपमा स्वस्थ्य हुनु जरुरी छ । स्वस्थ्य नहुँदा जीवनको साथर्कता नबुझी मानिसले आत्महत्याको बाटो अँगाल्छन् ।
विकसित र स्वस्थ समाज निर्माणका लागि पक्कै पनि यो ठूलो चुनौती हो । जुन उनीहरूको आफ्नो जीवनकालमा सानैदेखि पहिल्याएको मार्गदर्शन र जीवन भोगाइको निखारताले सिर्जित परिस्थिति हो । कैयौं शताब्दीसम्म कोइलाले अथक चापताप सहन गरेपछि मात्र हीरा हुने हो । मलाई मानव जीवन पनि हीरा जस्तै लाग्छ । मानव जीवन त्यस्तै तापचापको कहर सहेपछि मात्रै फुल्ने फुल हो । यी र यस्तै तापचापले मानव जीवन सिँगार्ने हो भने जीवन सहजताका साथ परिस्थिति र चुनौतीसँग लड्दै अगाडि बढ्न सजिलो हुन्छ ।
- हरेक अभिभावकले आफ्ना सन्तानलाई यसरी तयार गर्न चाहन्छन् कि भोलिको जीवन संघर्ष र भोगाइमा ऊ अब्बल होस् अनि सबै खाले चुनौती सामना गर्न सफल रहोस् ।
हरेक अभिभावकले आफ्ना सन्तानलाई यसरी तयार गर्न चाहन्छन् कि भोलिको जीवन संर्घष र भोगाइमा ऊ अब्बल होस् अनि सबै खाले चुनौती सामना गर्न सफल रहोस् । तर अभिभावकको चाहना र सन्तानको इच्छा यहाँनेर मेल खाँदैन । जसले गर्दा सुरु हुन्छ अभिभावक र सन्तानबीचको खाडल । हरेक सन्तानले यो बुझ्न जरुरी छ कि उनीहरूको सुनौलो भविष्यका लागि हरेक अभिभावकले उनीहरूलाई आजैदेखि निखारिहेका छन् । कुनै अभिभावकले सन्तानको कुभलो र अहित कहिल्यै सोच्दैनन् । अभिभावक नै यस्ता आदर्श हुन्, जसले सन्तानको हरेक कदम र गल्तीलाई क्षम्य देख्छन् ।
नीति श्लोकमा उल्लेख छ :
सत्यं माता पिता ज्ञानं, धर्मो भ्राता दया सखा ।
शान्तिः पत्नी क्षमा पुत्रः, षडेते मम बान्धवाः ।।
अर्थात्, आमा नै सत्य हुन्, ज्ञान बाबु हुन् । भाइ नै धर्म हो । दया र करुणा साथीभाइ हुन् । शान्ति नै पत्नी अनि क्षमा छोरा हुन् । यी छ नै व्यक्तिका बन्धु हुन् भनिएको छ । नीतिले नै यो भन्छ कि आफू र आफ्ना नै सत्य, ज्ञान, धर्म, दया, शान्ति र क्षमा हुन् । जुन व्यक्तिका ६ परम मित्र हुन् ।
- अभिभावकले आज बोलेका गाली र वाणी त केवल सुनलाई निखार्न लगाइएको कसी जस्तो हो ।
यसरी अभिभावकको आकांक्षा र सद्भाव बिर्सेर हामी विचलित हुनु पक्कै पनि सही होइन । हरेक अभिभावकले देखाएको बाटोमा विचलित नभई लाग्नु सार्थक जीवनको अपरिहार्य छ । अभिभावकले आज बोलेका गाली र वाणी त केवल सुनलाई निखार्न लगाइएको कसी जस्तो हो । यसो भन्दै गर्दा अभिभावकले पनि आफ्ना सन्ततिको मनोभावना बुझेर उनीहरूको इच्छा र चाहनालाई पनि सम्बोधन हुने गरी मार्ग प्रशस्त गर्न भने जरुरी छ ।
यी र यस्तै कुरा नियाल्दा हरेक व्यक्तिलाई निर्खान एक कुशल अभिभावकत्वको आवश्यक पर्छ । अनि त्यही अभिभावकत्व र तिनले देखाएका बाटो र वाणी सुन्दा आज सन्तानलाई उनीहरूप्रति आक्रोश र एकखालको झर्को लाग्न सक्छ । तर जब यिनै अभिभावक र यिनको मार्गदर्शनको अभाव भोगिन्छ, बल्ल लाग्छ– आकाश जस्तै सुशील त्यो स्वर्णिम साइनोसँग लाडिँदै कति कुरा सोध्थेँ होला ।
- जब यिनै अभिभावक र यिनको मार्गदर्शनको अभाव भोगिन्छ, बल्ल लाग्छ– आकाश जस्तै सुशील त्यो स्वर्णिम साइनोसँग लाडिँदै कति कुरा सोध्थेँ होला ।
त्यस बेला थाहा हुन्छ, त्यही एउटा पर्खालरूपी साइनो नेपथ्यमा त्यसै हराउँदा जीवनको बाटो कसरी र कता मोडिन्छ ? म अहिले पनि उही दशक पुरानो त्यही निखारताको वाणी र सेतै फुलेको शरीर सम्झन्छु । अनि जीवन गुजाराका लागि दिनभरि दौडिएको भौतिक शरीर अनि थकित मानसिकता बोकेर जब साँझ कोठाको ढोका खोल्न पुग्छु । अनि उही पुरानो साइनो जुन दशकौंअघि भाग्यरूपी खोटसँगै नेपथ्यमा त्यसै छिनियो । उही साइनो सम्झँदै भित्तामा झुन्डिएको त्यही तस्बिरतर्फ फर्केर भन्न मन लाग्छ । मलाई त्यसरी नै पहिले झै गाली गर्दै बा ! फेरि मलाई एकपटक ‘कुकुर’ भन न !!
(लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत हुन् ।)