काठमाडौँ, ३ फागुन – त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ। चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ। तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन।
दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन।
ठूला विद्यार्थी संगठनले औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन्। त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ।
विद्यार्थी कल्याण निर्देशनालयबाट शिक्षाध्यक्षसहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिको नाम सिफारिस भएको छ। तर, झन्डै दुई हप्ताअघि सिफारिस पुगे पनि खनियाँले समितिको निर्णय गरेका छैनन् ।
समिति नबन्दा निर्वाचनको घोषणा भएको छैन । स्ववियुनियममा शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन कमिटी बन्ने व्यवस्था छ।शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले निर्वाचन समिति नबनेको र विभिन्न पक्षबाट भएका गतिविधिले स्ववियु चुनावको सम्भावना टर्दै गएको बताइन्।
त्रिपाठीले भनिन् ‘फागुन १४ मा स्ववियु चुनाव गर्ने गरी शैक्षिक क्यालेन्डर बनायौँ, अहिलेसम्म निर्वाचन समितिसमेत घोषणा भएको छैन। यो महिनामा हुन नसके परीक्षालगायत कारणले स्ववियु चुनाव गर्न सक्ने अवस्था छैन।’