वीरगञ्ज– वीरगञ्जमा बुधबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत वीरगञ्जस्थित रेशमकोठी बस्ने ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
विगत चार दिनदेखि स्वास्थ्यमा समस्या आएकाले निजी अस्पतालमा उनको उपचार भइरहेको थियो । मंगलबार पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मृतक महिलामा अत्यधिक मात्रामा चिनीको समस्या र निमोनिया पनि देखिएको चिकित्सकले बताएका छन् ।
आज बिहान मात्रै कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएको पुष्टि भएको थियो । योसँगै दुई दिनमा कोरोनाबाट पर्साका तीन जनाले ज्यान गुमाएका छन् भने मृतकको संख्या २४ पुगेको छ । बुधबार कोरोनामुक्त भएर १५ जना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज विभिन्न उमेर समूहका १५ जना निको भई घर फर्किएका हुन् । जिल्लामा कोरोना संक्रमितको संख्या १६ सय नाघेको छ ।