पशुपति मुरारका
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
मेरा बुबा आत्मराम मुरारका नेपालको चेम्बर आन्दोलनमा जीवनपर्यन्त लाग्नुभयो । उहाँ बित्नुभएको आज ७ वर्ष ३ दिन भयो । मेरो व्यावसायिक गुरु उहाँ नै हुनुहुन्छ । उहाँ भन्नुहुन्थ्यो, ‘व्यापारमा एकपल्ट बोलेको कुरा फरक पर्नुहुन्न, चाहे जस्तो अप्ठ्यारो आओस्, चाहे घाटा किन नलागोस् ।’
यो नैतिक गुण जीवनका हरक्षेत्रमा लागू गर्नुहुन्थ्यो । चार दाजुभाइमा उहाँ सबैभन्दा कान्छो हुनुहुन्थ्यो । उहाँ नै परिवारको नेतृत्व गर्नुहुन्थ्यो । उहाँ जसलाई जे अप्ठयारो परे पनि काँध थाप्न तयार हुनुहुन्थ्यो । पारिवारिक एकता कायम गर्न उहाँको त्यही गुणले ठूलो भूमिका खेलेको छ ।
- उहाँ भन्नुहुन्थ्यो, ‘व्यापारमा एकपल्ट बोलेको कुरा फरक पर्नुहुन्न, चाहे जस्तो अप्ठ्यारो आओस्, चाहे घाटा किन नलागोस् ।’
उहाँ सबैसँग छिटै घुलमिल गर्नुहुन्थ्यो । उहाँ बितेको यतिका वर्ष भइसक्यो तर अहिले पनि बुबाको नाम लिएर मलाई ‘फलानाको छोरा’ भनेर चिन्छन् । सबैसँग प्रेमिल व्यवहार गर्न रुचाउनुहुन्थ्यो । उहाँका साथी सबै उमेर समूहका हुन्थे । उहाँ साथीभाइ तथा आपन्तलाई पेसा, व्यवसाय सुहाउँदो सरसल्लाह दिनुहुन्थ्यो । उहाँलाई धेरै मान्छेले आदर गर्थे ।
बुबा बित्नुअघि उहाँको फोन मसँग थियो । धेरै मान्छेको फोन आउँथ्यो । फोन गर्नेहरू भन्थे, ‘८-१० दिन भयो, उहाँले फोन गर्नुभएन त्यसैले आज आफैं गरेको । कता हुनुहुन्छ उहाँ ?’
उहाँ बितेको थाहा नपाउनेहरूले त्यसो भन्दै फोन गरिरहे । भारतबाट फोन आउँथ्यो । उहाँ बितेको खबर दिएपछि मर्माहत हुन्थे ।
म सोचमग्न भएँ– बुबाले त्यतिका मानिसलाई नियमित किन फोन गर्नुहुन्थ्यो ? के के संवाद हुन्थे ? साथीसंगी, इष्टमित्र र शुभचिन्तकलाई सम्झिरहने स्वभावकै कारण ती मानिससँग उहाँको संवाद भएको हुनुपर्छ । त्यसरी फोन आउँदा बुबा सम्झेर म भावुक पनि भएँ, उहाँ त दुनियाँको मनमा पो बस्नुभएको रहेछ भन्ने लागेर गर्व पनि गरें । बन्धुत्वको भाव जोगाइराख्नुपर्छ भन्ने उहाँको विचार थियो ।
- बन्धुत्वको भाव जोगाइराख्नुपर्छ भन्ने उहाँको विचार थियो ।
मारवाडी समाज अलिक रुढीवादी सोचबाटै चलेको थियो । तर, उहाँ एकदम आधुनिक सोचको मानिस हुनुहुन्थ्यो । उहाँले बिए र बिएल गर्नुभएको थियो । हामी चार छोराछोरीलाई पनि शिक्षामा उत्तिकै अवसर दिनुभयो । हाम्रा बहिनीहरू दार्जिलिङमा होस्टेल बसेर पढेका हुन् । उनीहरूले ग्य्राजुएसन गरे । उहाँ छोरा छोरीबीच हुने भेदभावको विरोध गर्नुहुन्थ्यो ।
म पुर्ख्याैली थलो लहानमै हुर्कें । बुबाले लहानमा कपडा पसल खोल्नुभएको थियो । पछि पूर्व–पश्चिम राजमार्ग निर्माण गर्दा उहाँ व्यावसायिक रूपमा संलग्न हुनुभयो । बिस्तारै राइस मिल सञ्चालन गर्नुभयो । हामी चामल भारत निर्यात गर्थ्याैं ।
- भन्नुहुन्थ्यो, ‘ल, तिमी कापीमा गर, म क्याकुलेटर थिच्छु, कसले छिटो निकाल्छ हिसाब ?’ अहिले सम्झन्छु, मेरा लागि त्यो क्याकुलेटर निकै ‘सिम्बोलिक’ उपहार रहेछ ।
व्यापारकै सिलसिलामा बुबा काठमाडौं आउनुभयो । व्यवसाय विस्तार हुँदै गएपछि उहाँ विभिन्न देश पुग्नुभयो । विदेशबाट फर्कंदा सबैलाई उपहार ल्याइदिनुहुन्थ्यो । चार जना दाजुभाइका गरी ८ जना त छोरा मात्रै थियौं । म पाँच कक्षामा पढ्दा बुबाले जापानबाट ६ डिजिटको क्याकुलेटर ल्याइदिनुभयो, मेरो खुसीको सीमा रहेन । उहाँले नै मलाई क्याकुलेटर चलाउन सिकाउनुभयो । भन्नुहुन्थ्यो, ‘ल, तिमी कापीमा गर, म क्याकुलेटर थिच्छु, कसले छिटो निकाल्छ हिसाब ?’ अहिले सम्झन्छु, मेरा लागि त्यो क्याकुलेटर निकै ‘सिम्बोलिक’ उपहार रहेछ ।
बुबा नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हुनुभयो । उहाँ नेपाल उद्योग परिसंघ (सिएनआई)को नेतृत्वमा पनि लामो समय रहनुभयो । परिसंघको संस्थापक उपाध्यक्ष उहाँ जीवनको उत्तरार्धमा गभर्निङ काउन्सिल सदस्य हुनुहुन्थ्यो । हाम्रो मुरारका समूह उद्यमको जग उहाँले नै हाल्नुभएको हो । अफिस पुग्दा नयाँ सल्लाह दिन मलाई आफ्नो च्याम्बरमा डाक्नुहुन्छ कि जस्तो झझल्को लागिरहन्छ ।