राजा ज्ञानेन्द्र शाहले प्रदान गरेको ‘राष्ट्रकवि’को पगरीलाई शानका साथ लाएर हिँडेका कवि माधव घिमिरेको निधन भएको छ । कोही पनि मानवको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्नु शोभनीय नै होला । तर, प्रस्तुतिको स्तर र शैलीले भावी पुस्तालाई हामी केही सन्देश दिइरहेका हुन्छौं । उनीप्रति असीम भावको श्रद्धाञ्जली व्यक्त गर्दा भावी पुस्तालाई ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’हरूले के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनँ ।
- उनी नेपाली भाषाका कवि पक्कै हुन् । तर, आम नेपाली श्रमिक वर्ग र सर्वसाधारणको हितमा उभिएका कवि भएको थाहा भएन । बरु राजतन्त्रको छत्रछायामा हुर्के बढेका कवि हुन् उनी ।
मार्क्सवादले के सिकाएको छ भने सभ्यताको सुरुदेखि मानव समाज वर्गीय छ । वर्गीय समाजमा राज्यसत्ता जुन वर्गको हातमा हुन्छ, राज्यले त्यही वर्गको सेवा गर्दछ । हिजोको राजतन्त्रात्मक राज्यसत्तामा राज्यले सामन्त वर्ग र दलाल पुँजीजीवी वर्गको सेवा गर्याे । राजतान्त्रिक नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह थिए । उनै राजा ज्ञानेन्द्रले कवि माधव घिमिरेलाई ‘राष्ट्रकवि’ को पगरी दिए । त्यसलाई बडो ठाँटका साथ शिरमा लाएर उनी हिँडे । देशमा राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनविरुद्ध नेपाली जनताले जनयुद्ध र जनसंघर्ष गरे । त्यतिखेर कवि माधव घिमिरे राजा ज्ञानेन्द्रले दिएको शाही प्रज्ञा प्रतिष्ठानको उच्च पदमा आसीन भई राज्यको भत्ता खाई बसे । उनी २०६२-०६३ को लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको थाहा छैन । उनी नेपाली भाषाका कवि पक्कै हुन् । तर, आम नेपाली श्रमिक वर्ग र सर्वसाधारणको हितमा उभिएका कवि भएको थाहा भएन । बरु राजतन्त्रको छत्रछायामा हुर्के बढेका कवि हुन् उनी ।
- तत्कालीन सामन्ती राज्यले सीम्मा गीति नाटकको काउन्टरमा प्रज्ञा भवनमा पे्रम कहानीमा आधारित माधव घिमिरेको ‘मालती मंगले’ गीति नाटक मञ्चन गरेको अहिले पनि झलझल्ती सम्झन्छु ।
२०३८ सालमा नेपाली रंगमञ्चमा एउटा लोकप्रिय गीति नाटक मञ्चन हुन्छ । त्यो थियो– ‘सीम्मा’ गीति नाटक । मुग्लान पसेका गोर्खाली सेनाहरूलाई विदेशीको गुलामी गर्नुभन्दा नेपालभित्रकै शत्रु (तत्कालीन निरंकुश सामन्ती राजशाही एवं पञ्चायती व्यवस्था)विरुद्ध लड्न स्वदेश फर्कन आह्वान गरेको साहित्यकार रायन श्रेष्ठद्वारा रचित र हरिकृष्ण दर्शनधारीद्वारा निर्देशित प्रगतिवादी गीति नाटक थियो सीम्मा । त्यो गीति नाटक मञ्चन हुँदा त्यसले हजारौं सर्वसाधारणलाई आकर्षित गरेको थियो । त्यसबाट आत्तिएर तत्कालीन सामन्ती राज्यले सीम्मा गीति नाटकको काउन्टरमा प्रज्ञा भवनमा प्रेम कहानीमा आधारित माधव घिमिरेको ‘मालती मंगले’ गीति नाटक मञ्चन गरेको अहिले पनि झलझल्ती सम्झन्छु ।
- अहिले उनको निधनमा मानौं कि गोर्की वा लु सुनको मृत्यु भएको झैं नेपाली ‘मार्सवादी’ र ‘कम्युनिस्ट’हरूले भाव विह्वलका शब्दहरू खर्चिरहेको देख्दा उनीहरूले श्रमिक वर्गीय आन्दोलनका लागि भावी पुस्तालाई के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनँ ।
कवि माधव घिमिरे अब्बल दर्जाका खस नेपाली साहित्यका कवि पक्कै थिए तर उनी नेपाली श्रमिक वर्गीय विचारका नभई यथास्थितिवादी विचारका थिए । अहिले उनको निधनमा मानौं कि गोर्की वा लु सुनको मृत्यु भएको झैं नेपाली ‘मार्सवादी’ र ‘कम्युनिस्ट’हरूले भाव विह्वलका शब्दहरू खर्चिरहेको देख्दा उनीहरूले श्रमिक वर्गीय आन्दोलनका लागि भावी पुस्तालाई के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनँ ।
केही मानिस साहित्यलाई विचारभन्दा परको विषय बनाउनुपर्ने तर्क गर्छन् । तर, यथार्थमा त्यस्तो हुँदैन । साहित्यले विचारलाई नै कलात्मक अभिव्यक्तिमा प्रस्तुत गर्ने हो । कसैलाई लाग्दो हो, ‘सबैले कहाँ विचारलाई ख्याल गरी साहित्य सिर्जना गर्छन् र ! साहित्य त मनमा उठेका भावना पोख्नका लागि सिर्जना गरिने हो नि !’ तर, धेरैले वर्गीय पक्षधरता जानेर भन्दा नजानीकन नै लिइरहेका हुन्छन् । किनकि, समाज वर्गीय छ र त्यसैको पृष्ठभूमिमा जो कोही पनि हुर्किंदै आएको हुन्छ । आफू जुन पृष्ठभूमिमा हुर्किएको हो, त्यसको छाप सबैमा परेको हुन्छ । यसले गर्दा यदि सचेत ढंगले नहेर्ने हो भने विचार पक्षधरता नभनी सिर्जना गरिएको सहित्य सर्जकको जीवन पृष्ठभूमिबाट प्रभावित भएको हुन्छ । चाहनु वा नचाहनु चेतना स्तरको कुरा भयो । तर, साहित्यले चाहिँ कुनै न कुनै वर्ग पक्षधरता बोकेकै हुन्छ । त्यसैले माक्र्सवादी साहित्य सिर्जनामा सचेत ढंगले श्रमिक वर्गको पक्षधरतालाई पक्षपोषण गर्ने घोषणा गरिएको हुन्छ ।
- मार्क्सवादीहरू आफ्ना सांस्कृतिक विरासतप्रति सचेत नहुने हो भने नजानीकन नै सामन्ती मूल्यमान्यतामा लीन हुने सम्भावना काफी हुन्छ । अहिले मार्क्सवादी र कम्युनिस्ट आन्दोलन वैचारिक तथा सांस्कृतिक भ्रष्टीकरणमा फस्नुको मूल कारण यही नै हो ।
हिजोको र अहिलेसम्मको समाजमा पनि सांस्कृतिक रूपले सामन्तवादी संस्कार र विचारको बाहुल्य पाइन्छ । हाम्रा सोच, चिन्तन र व्यवहारमा सामन्तवादी मूल्य एवं मान्यताले घर गरेका छन् । माक्र्सवादीहरू आफ्ना सांस्कृतिक विरासतप्रति सचेत नहुने हो भने नजानीकन नै सामन्ती मूल्यमान्यतामा लीन हुने सम्भावना काफी हुन्छ । अहिले माक्र्सवादी र कम्युनिस्ट आन्दोलन वैचारिक तथा सांस्कृतिक भ्रष्टीकरणमा फस्नुको मूल कारण यही नै हो ।
खस नेपाली भाषाका लोकप्रिय कवि माधव घिमिरेप्रति मेरो कुनै दुरभाव छैन । उनले साहित्यमार्फत खस नेपाली भाषाको उन्नयनमा पुर्याएको योगदानका आधारमा पक्कै पनि उनी श्रद्धाञ्जली अर्पणका लागि योग्य बने । तर, उनको योगदान र मेहनत नेपाली श्रमिक वर्ग, पिछडिएका क्षेत्र, विभेदमा परेका जाति, समुदाय एवं लिंगको पक्षमा कहिल्यै नभएको कारणले उनी आम नेपालीको ढुकढुकीको स्पन्दन कहिल्यै बन्न सक्दैन । ‘माक्र्सवादी’ र ‘कम्युनिस्ट’हरूले यही कुरालाई हेक्का नराखेको अवस्थालाई मैले बुझ्न सकिनँ ।
- उनको योगदान र मेहनत नेपाली श्रमिक वर्ग, पिछडिएका क्षेत्र, विभेदमा परेका जाति, समुदाय एवं लिंगको पक्षमा कहिल्यै नभएको कारणले उनी आम नेपालीको ढुकढुकीको स्पन्दन कहिल्यै बन्न सक्दैन ।
भाषा जातीय उत्थान एवं वर्गीय उन्नयनका लागि गरिने गतिविधिको माध्यम पनि हो र यस विपरीत अभिजात वर्ग एवं शासकले आम जनताको लोकतान्त्रिक आन्दोलनलाई दबाउन प्रयोग गर्ने साधन पनि हो । आम जनताले कोही सर्जकले भाषा र साहित्यमार्फत उनीहरूको हक, अधिकार, उन्नयन र न्यायको पक्षमा कति योगदान पुर्याए भन्ने कुरालाई महत्त्व राख्ने र राख्नुपर्ने हुन्छ । त्यो हिसाबले हेर्दा कवि माधव घिमिरेको योगदान सकारात्मक हुन सकेन । उनी राणाहरूको शासनमा पनि शासकहरूका प्रिय र शाहकालीन निरंकुश शासनमा पनि राज्यका प्रिय कवि बने । किनकि, उनी श्रमिक वर्गीय मुक्तिको खातिर हुने कुनै पनि आन्दोलनको पक्षमा उभिएनन् ।
देशमा जनयुद्ध चलिराखेको बेलामा राजा ज्ञानेन्द्रले राज्यसत्ताको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका थिए । त्यही बेलामा उनले कवि माधव घिमिरेलाई सम्मानस्वरूप ‘राष्ट्रकवि’ को पदवीले सुशोभित गरे । त्यो क्षण भनेको निरंकुश र स्वेच्छाचारी राजशाहीविरुद्ध नेपाली जनताले जनयुद्ध मात्र होइन, संयुक्त रूपमा देशव्यापी जनआन्दोलन चलाइरहेको समय पनि थियो । त्यस्तो बेलामा राजा ज्ञानेन्द्रले आफ्नो वर्गीय मित्र बुझेर नै कवि माधव घिमिरेलाई पदवी प्रदान गरेकामा कोही पनि द्विविधामा पर्नुहुन्न ।
- उनी राणाहरूको शासनमा पनि शासकहरूका प्रिय र शाहकालीन निरंकुश शासनमा पनि राज्यका प्रिय कवि बने । किनकि, उनी श्रमिक वर्गीय मुक्तिको खातिर हुने कुनै पनि आन्दोलनको पक्षमा उभिएनन् ।
नेपाल एक देश हो र मुलुक पनि । तर, यो एउटै राष्ट्र अझै बन्न सकेको छैन । जुन देशमा भाषिक, जातीय, क्षेत्रीय एवं सांस्कृतिक विभेद कायम नै रहेको हुन्छ, त्यस्तो देश एउटा सिंगो राष्ट्र बनेको हुन्न । कवि माधव घिमिरे खस नेपाली भाषाका उच्च स्तरीय कवि हुन्, वैदिक एवं सनातन संस्कृतिका अगुवा सर्जक तथा अभियन्ता हुन् । नेपालका अन्य भाषा एवं संस्कृतिका उनी सर्जक होइनन् । त्यसैले उनले नेपालका सम्पूर्ण जातिको प्रतिनिधित्व गर्न सक्दैनन् । तर, राजा ज्ञानेन्द्रले उनलाई ‘राष्ट्रकवि’ पदवी दिए । उनले त्यसो गर्नु स्वाभाविक थियो । किनकि, पृथ्वीनारायणदेखि महेन्द्र र वीरेन्द्रसम्मका शाह वंशीय शासकहरूले थालेको एकल जातीय, एकल संस्कृति र एकल भाषाको मुलुक बनाउने अभियानका पछिल्ला शासक पात्र थिए ज्ञानेन्द्र शाह । र, कवि माधव घिमिरेले ज्ञानेन्द्र शाहको त्यही अभियानलाई साहित्यिक क्षेत्रबाट साथ दिएका थिए ।
जसरी ज्ञानेन्द्र शाहले कवि माधव घिमिरेलाई लिए, त्यसरी नै पुरातन सोच र चिन्तन भएकाहरूले लिनु नबुझिने कुरा होइन । मैले यस छोटो लेखमा जे विचार व्यक्त गरेँ, त्यो सबै चिन्तनधाराका मानिसप्रति इंगित होइन । समाजलाई निवर्गीय रूपमा बुझ्ने, यथास्थितिमै रम्ने र अलमलिएकाहरूप्रति पनि यो लक्षित छैन । उनीहरूले कवि माधव घिमिरेको स्तुति गाउनुमा नबुझ्ने कुरा छैन । उनीहरूलाई मेरो भन्नु केही छैन । तर, ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’हरूले वर्गीय चिन्तनधारालाई त्याग गरी साहित्यिक कलाकै आधारमा नै कवि माधव घिमिरेको स्तुतिगान गाउनुचाहिँ बुझिनसक्नु छ ।