काठमाडौं– आज बुबाको मुख हेर्ने दिन । सबैले आफ्नै तरिकाले आफ्ना पितालाई सम्मान गरेका छन्, सम्झना गरेका छन् । ‘बुबाबारे के भन्नुहुन्छ ?’ भन्ने हाम्रो प्रश्नमा केही स्रष्टाबाट प्राप्त उत्तर यस्ता छन् ः
सुरेश अधिकारी, संगीतकार
छानो हुन् बा । हामीलाई कुनै आपत्तिले भिजाउनुअघि उनी भत्किनुपर्छ । सानो हुन् बा । हामीलाई काँधमा चढाएर घोडा बन्ने । हाम्रा दास हुने सदैव हाम्रा लागि मात्रै समर्पित हुने । गुन्डा हुन् बा खुङ्खार डन, हाम्रा दुस्मनको धुलाइ गर्ने ! डाक्टर हुन् हाम्रो चोटमा एकचोटि फुक्दा सबै दुखाइ ‘छु मन्तर’ हुने । संसारकै शक्तिशाली व्यक्तित्व जसले हाम्रा लागि हरेक चुनौती उठाउन सक्छ । उनलाई परनिर्भर हामीले बनायौं, हामीप्रति नै आश्रित आफ्ना हरेक सपना हाम्रो आँखामा फुलेको हेर्न चाहने ! देवताभन्दा सधैँ उच्च स्थान छ बाको यो जीवनमा । किनकि देवताले गर्न नभ्याएका सबै हाम्रा काम गर्न हामीभन्दा पहिल्यै यो धर्तीमा आए र हरेक ती कर्म गरे हाम्रा लागि, जसको श्रेय सधैँ भगवानलाई दियौँ हामीले । बाबा छन् त यो संसारै हाम्रो हो । बाबा नहुँदा पनि बाबाको संसार हाम्रो नै हो । अरूले जीवनमा साथ देलान्, बाबा नै हुन्, जसले मरेपछि पनि हात दिन्छन् ।
हेम प्रभाव, कवि
बिहानै उठेर नुहाइधुवाइ गरेँ । बुबालाई फोन गरेँ । जिन्दगीमा अघि बढ्ने हौसला र साहस सधैं यसैगरी पाइरहूँ भन्ने आशिष मागेँ । मलाई लाग्छ, प्रत्येक सन्तानका लागि आफ्नो बाबुको छहारी प्राप्त हुन्जेलसम्म कुनै कुराको डर हुँदैन, त्यसै हिम्मत आउँछ । मलाई लाग्छ, प्रत्येक सन्तानका लागि आफ्नो बाबुको छहारी प्राप्त हुन्जेलसम्म कुनै कुराको डर हुँदैन, त्यसै हिम्मत आउँछ । बा शब्दमा अवर्णित अग्लो पर्वत हो । नानीहरू जसरी हाँस्छन् नि हो, त्यो हासो हेर्न बा भित्रभित्रै पटक–पटक खण्डित भएका हुन्छन् । तर, आफू दुखेको कुरा आफ्ना नानीहरूलाई भन्दैनन् ।
सोफिया थापा, गायिका
म मेरो बाबालाई शान्ति र आत्मखोजको प्रतीक मान्छु किनकि उहाँको अत्यधिक समय ध्यान र साधनामा बितिरहेको हुन्छ । उहाँ शान्त, शालीन देखिनुहुन्छ हरपल । त्यही प्रभावले मलाई जीवनमा सकारात्मक उत्प्रेरणा मिलिरहन्छ । उहाँले सधैँ मेरो र परिवारले आफ्नो हितका लागि गरेको निर्णयको स्वीकार गर्नुभयो र सधैं सहज वातावरण प्रदान गर्न कुनै कसर छोड्नुभएको छैन । उहाँ मेरो गुरु, मार्गदर्शक, आदर्श व्यक्ति र संसारकै प्यारो र आदरणीय व्यक्तित्व हुनुहुन्छ ।
टीका आत्रय, कवि
अहो ! नोस्टालजिक हुन्छु । भावुक हुन्छु । हाम्रो बुबा संघर्षको नमुना । हाम्रा लागि देवता मात्र हैन, देवताका पनि देवता हुनुहुन्छ । दुईवटा कविता लेखेकी छु ‘बा’ शीर्षकमा तर अपूरो भएझैँ लाग्ला । ती कविताले त एकछेउ पनि भ्याउँदैन ।
अमृत क्षेत्री, गायक
सायद बुढेसकालमा जन्मेकाले होला, बुबाको औधी माया पाएँ मैले । पर्वतको बाच्छा, फोक्सिङमा ९१ बर्षको उमेरमा बुबा भुपू ब्रिटिस गोर्खा धनबहादुर क्षेत्रीको अवशान भयो । त्यो हाम्रो सम्पूर्ण परिवारका लागि अभिभावक गुमाएको अँध्यारो दिन थियो । दुई दाजुभाइमध्ये जेठो हुनहुन्थ्यो बुबा । ब्रिटिस गोर्खामा १८ वर्ष जागिर खाएर पेन्सनपछि घर फर्किनभएको । मेरो बुबाले दोस्रो विश्व युद्धमा समेत लडाइँ लड्नुभएको थियो ।
बुबा आफू ब्रिटिस आर्मी भए पनि कुनै दिन मलाई आर्मीमा जानका लागि कर गर्नुभएन । बरु उहाँले पढाइलाई नै जोड दिनुभयो । २०५७ सालमा एसएलसी सकेर जब म काठमाडाैं कलेज पढन आए । कलेजसँगै संगीत पनि सिक्न थालेँ, त्यति बेला भने उहाँले चित्त बुझाउनुभएको थिएन । तर बिस्तारै मेरो चाहना, मिहिनेत र लगनशीलता देखेर मलाई संगीत सिक्नकै लागि मुम्बई पठाउनुभयो ।
मेरो पहिलो म्युजिक एल्बम ‘अराइभल’देखि दोस्रो एल्बम प्रकाशनसम्म साथ दिनुभयो । त्यहाँपछिको मेरो सांगीतिक कर्म उहाँलाई देखाउन पाइनँ । बुबाको कमी सधैँ महसुस हुन्छ । बुबाको मुख हेर्ने औँसीको दिन मात्रै हैन, हरेक दिन र समयमा बुबालाई सम्झन्छु । म छुट्टीको बेला गाउँ जाँदा मायाले मुख र कपाल सुसुम्याउँदै मायाले अंकमाल गरेको त्यो बुबाको अपार आँखा वरिपरि घुमिरहन्छ । बुबाको माया, आशीर्वाद र उहाँले दिनुभएको मार्गदर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्नेछु । बुबा हजुर जहाँ हुनुहुन्छ, हजुरको आत्माले शान्ति पाओस् ।
सन्तोष श्रेष्ठ, संगीतकार
मेरो बुबा मेरो जीवनको आदर्श हुनुहुन्छ । जतिबेला बुबाको हातको औँला समाएर हिँड्न थालेँ अनि सुन्न थालेको हुँ बुबाका जीवन भोगाइका वाणी । कडा मिहिनेत गरेपछि मात्रै सफलता प्राप्त गर्न सकिन्छ । असल मानिसको संगत गरेपछि असल ठाउँमा पुगिन्छ । असत्य बोल्नुहुँदैन । चोर्ने–ढाँट्ने गर्नुहुँदैन । अरूलाई दुःख दिने काम गर्नुहुँदैन । आफूभन्दा ठूला मानिसलाई सम्मान गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ । यी सबै कुरा बुबाले सानैमा सम्झाउँदै सिकाउनु भएको हो ।
जीवन व्यतीत हुँदै जाँदा बुबाको महत्त्व अझ बढी बुझिने रहेछ । आफू बुबा नबन्दै र बुबा बनिसकेपछिको बुझाइ पनि धेरै फरक हुँदो रहेछ । बुढेसकालमा शारीरिक कमजोरी भएर केवल आँगनको डिलमा बसेर घाम ताप्दै टुसुक्क बसेका बुबा देख्दा ठूलो साहस थपिएको हुन्छ । भित्र मनले भनिरहेको हुन्छ, मसँग मेरो बुबा हुनुहुन्छ ।
मन्जु पौडेल, गायिका
बा भन्नेबित्तिकै सन्सारमा सबैभन्दा डर लाग्ने स्नेही हस्ती लाग्छ ! जसले सिंगो परिवारको प्रतिनिधित्व गर्छ ! उहाँको उपस्थितिमा या अनुपस्थितमा सम्झनेबित्तिकै आफूमा छुट्टै जोस, जाँगर र प्रेरणा थपिएको जस्तो महसुस हुन्छ । बा हरेक छोराछोरीका लागि सान, मान र मार्गदर्शक हो जस्तो लाग्छ ।
मलाई अझै बा सम्झनेबित्तिकै धेरै मेहनत गरेर निकै मीठो गरी माछामासु पकाएर खाएको याद आउँछ । मैले मेरो ‘बा’लाई भौतिक रूपमा आजभन्दा ७ वर्षअगाडि नै गुमाइसकेँ । उहाँको अनुपस्थितिले हरेक पर्व निकै अधुरो लाग्छ ।