मेरो बुबा डा. यादवप्रसाद पन्त स्वर्गीय भएको १२ वर्ष जति भइसकेको छ । उहाँको सरल र सादगी स्वभावको हामी चारै जना सन्तानमा गहिरो प्रभाव रहेको छ । सरकारको माथिल्लो ओहोदामा पुगेर राष्ट्र सेवा गर्नुभएको उहाँको जीवनशैली निकै सामान्य थियो । डिल्लीबजार कालिकास्थानको हाम्रो घर उहाँ बितेपछि सुनसान जस्तो बन्यो ।
उहाँ ३० वर्षकै उमेरमा नेपाल सरकारको सचिव हुनुभएको हो । नेपालको पहिलो विद्यावारिधि गर्ने व्यक्ति पनि हुनुभयो । राष्ट्र बैंकको पाँचौं गभर्नर भएर पाँच वर्ष काम गर्नुभयो । उहाँ वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्री हुनुभयो । त्यसपछि त झन् उहाँको समय पाउन हामीलाई मुस्किलै पथ्र्यो । त्यति व्यस्तताका बाबजुद उहाँ नियमित लेखपढ गर्नुहुन्थ्यो ।
‘इकोनोमिक डेभलपमेन्ट अफ नेपाल’, ‘एग्रिकल्चरल डेभलपमेन्ट अफ नेपाल’, ‘नर्थ साउथ डायलगः इस्युज एन्ड अप्सन’लगायत उहाँले ३२ वटा किताब लेख्नुभएको छ । अर्थशास्त्रसम्बन्धी यी किताबमध्ये धेरै पाठ्यक्रममा समेटिएका छन् । उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट सन् १९५२ मा अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । त्यसलगत्तै केही समय उहाँले त्रिचन्द्र कलेजमा अर्थशास्त्र पढाउनुभयो । नेपाल सरकारको अर्थ सल्लाहकार, अर्थ सचिव, राष्ट्रिय योजना आयोगको सदस्यसमेत रहनुभयो । बुबा जापानका लागि राजदूत भएको मुलुकका लागि कूटनीतिक योगदान पनि गर्नुभयो ।
बुबा बिहान चाँडै कार्यालय जानुहुन्थ्यो । सानैदेखि बुबालाई पर्खने हामीलाई बानी परिसकेको थियो । उहाँ आउनुभएपछि हामीसँगै बसेर खाना खान्थ्यौं । अनि उहाँ केहीबेर हामीसँग गफिनुहुन्थ्यो । बिहानदेखि बेलुकासम्म त उहाँ मानिसहरूले घेरिनुहुन्थ्यो । उहाँलाई भेट्न मानिसहरू बिहानैदेखि घरमा जम्मा भइसकेका हुन्थे । एकप्रकारले हाम्रो निजी जीवन हुँदैनथ्यो ।
जीवनमा एउटा सानो कुराको उहाँ सोखिन हुनुहुन्थ्यो, विदेशमा हुने कूटनीतिक कार्यक्रमका लागि जाँदा भने राम्रो टाइसुट लगाउनु ुन्थ्यो । त्यसबाहेक धूमपान, मदिरापान यस्तो कुनै लत थिएन ।
कृष्णप्रसाद भट्टराई बुबाको बनारस स्नातक पढ्दाको सहपाठी हुनुहुन्थ्यो । उहाँहरू बेलाबेला भेटघाट गरिरहनुहुन्थ्यो । मुलुकको राजनीतिक स्थायित्व र आर्थिक बाटोबारे छलफल गर्नुहुन्थ्यो । बुबा बित्नुभएपछि स्मृतिग्रन्थका लागि किसुनजीले हस्तलेखनमै बुबाको सम्झनामा केही लेख्नुभयो । त्यो अनुरोधका लागि आफैँ गएको थिएँ । लेख दिँदै उहाँले भन्नुभएको थियो, ‘आफ्नो आँतको साथीले सधैँलाई छाडिगए । कम्तीमा उनको सम्झनामा किरिङमिरिङ अक्षरमा हातैले लेख्न मन लाग्यो, यही छाप्दिनोस् ।’ उहाँको बिपी कोइराला र सुवर्ण शमशेरसँग पनि राम्रो सम्बन्ध थियो ।
- कम्तीमा उनको सम्झनामा किरिङमिरिङ अक्षरमा हातैले लेख्न मन लाग्यो, यही छाप्दिनोस् ।’ उहाँको बिपी कोइराला र सुवर्ण शमशेरसँग पनि राम्रो सम्बन्ध थियो ।
सन्तानमा म कान्छो छोरो, बुबाको अलिक प्यारो हुन्थेँ । बुबासँगको सम्झना त कति आउँछ । अहिलेजस्तो यात्रा सहज थिएन तर पनि उहाँ हामीलाई बेलाबेला राजधानीबाहिर भने लैजानुहुन्थ्यो । उहाँ गभर्नर भएपछि अफिसियल भ्रमणमा भैरहवा जाँदा मलाई पनि लैजानुभयो । भोलिपल्ट बिहानको खाजा खाने बेला उहाँले भन्नुभयो, ‘ल आइज, आज तँलाई म अंग्रेजी खाना खान दिन्छु ।’ सधैं घरमा दालभात खान्थ्यौं, त्यो बेला रेस्टुराँ जाने भन्ने त प्रचलन नै थिएन । म खुसी हुँदै बुबाको पछि लागेँ । बुबाको अर्डरमा अम्लेट, टोस्ट, चीज यस्तै के–के खानेकुराले भरिएको प्लेट आयो । संसारका विभिन्न देश घुमेँ, अनेक खानाका स्वाद चाखेँ । तर, बुबासँग त्यो बिहान खाएको ‘ब्रेकफास्ट’ आज पनि सम्झन्छु ।
परिवारको सानोतिनो व्यवस्थापनमा ध्यान दिन उहाँको फुर्सद हुन्नथ्यो । सधंैको व्यस्तताले उहाँ कहिलेकाहीँ छोराछोरी कुन कक्षामा पढिरहेका छन् भन्ने पनि भुल्नुहुँदो रहेछ । घरमा आएका कसैले हाम्रोबारे सोधे, उहाँ हामीलाई नै भन्न लगाउनुहुन्थ्यो, ‘भन्दे त बाबु तँ कति कक्षामा पढ्छस् ?’ आज मलाई अम्लेट, टोस्ट खुवाउने, मुलुकमै बसेर काम गर्न प्रेरित गर्नु हुने बुबा हामीमाझ हुनुहुन्न । तर, उहाँले दिनुभएको दीक्षा र प्रेमले हाम्रो जीवन सिञ्चित छ । बुबालाई हामीले मात्र नभई राष्ट्रले पनि कहीँ न कहीँ सम्झन्छ भन्ने लाग्छ ।
(शकुन्तला जाेशीले नेपाली पब्लिकका लागि पन्तसँग गरेकाे कुराकानीमा आधारित)