काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा बार्यन म्युनिकसँग लज्जास्पद हार बेहोरेसँगै फुटबल जगतमा विभिन्न टीकाटिप्पणीले स्थान पाएका छन् । लिगको क्वार्टरफाइनलमा बार्यनसँग ८–२ गोलले बार्सिलोना पराजित भएसँगै लियोनल मेस्सीले क्लब छोड्न चाहेको कुराहरु बाहिरिएका छन् ।
ब्राजिलियन खेलकुद च्यानल एस्पोर्ट इन्ट्राटिभोका अनुसार यो लज्जास्पद हारले मेस्सीलाई नराम्रो चोट पुगेको र मेस्सी छिट्टै नै अर्को क्लबमा जान चाहेको कुरा बताइएको छ । मेस्सीले साच्चै नै बार्सिलोना छोडे भने उनले २० वर्षपछि पहिलो पटक बार्सिलोना छोड्नेछन् ।
मेस्सी सन् २००० को सेप्टेस्बरमा बार्सिलोनामा भित्रिएका थिए । जतिबेला उनी मात्र १३ वर्षका थिए । पछिल्ला केही दिनयता मेस्सीले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी अथवा फ्रान्सेली क्लब पिएसजीमा जान सक्ने कुराहरु बाहिरिरहेका छन् ।
मेस्सीलाई रोक्न बार्सिलोनासँग बजेट छैन !
बार्सिलोनामा मेस्सीलाई रोक्न ठूलै रकम प्रस्ताव गर्नुपर्ने हुन सक्छ । यतिबेला विश्वका थुप्रै क्लबहरु कोरोनाका कारण आर्थिक संकटमा छन् । स्पेनिस क्लब बार्सिलाना पनि आर्थिक संकटसँग जुधिरहेको छ ।
गत वर्ष मात्र बार्सिलोनाले ग्रिजमान, कौटिन्हो र डेम्बेलेका लागि ३ हजार ५ सय ४० करोड खर्च गरेर क्लबमा भित्र्याएको थियो । कोरोनाका कारण खेलहरु नभएकाले र गत वर्ष मात्र यति धेरै रकम खेलाडीमा खर्च भएका कारणले बार्सिलोनासँग मेस्सीलाई रोक्ने पैसा नभएको खबरहरु बाहिर आइरहेका छन् ।
मेस्सीलाई किन्ने होड
धेरै क्लबले मेस्सीलाई किन्न चाहेका छन् । धेरैको नजर उनीमाथि परेकाले उनलाई क्लबमा भित्र्याउन होडबाजी नै चलेको छ ।
म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी पनि यो सिजनको च्याम्पियन्स लिगबाट बाहिरिएकाे छ । सिटीले यस वर्ष घरेलु लिग पनि जित्न सकेन । सिटीको प्रशिक्षक गार्डियोलाले यसअघि बार्सिलोनाका प्रशिक्षकको भूमिका निभाइसकेका छन् ।
यो वर्ष क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको सिटी मेस्सीलाई क्लबमा भित्र्याएर घरेलु लिग र युरोपियन च्याम्पियन बन्न चाहन्छ । यसभन्दा अघि पनि सिटीले मेस्सीलाई क्लबमा भित्र्याउने कोसिस गरेको थियो ।
इन्टर मिलान
फुटबल जगतमा मेस्सीको प्रतिद्वन्द्वीका रुपमा लिइने क्रियास्टानो रोनाल्डो अहिले इटालीको क्लब युभेन्टसबाट खेल्छन् । मेस्सीका पुरानो अर्जेन्टिनी साथी जेभियर जेनेट्टी इन्टर मिलानमा बोर्डको उपाध्यक्षका रुपमा कार्यरत छन् ।
बार्सिलोनाको अहिलेको अवस्थालाई नजिकबाट नियाल्दै मिलान मेस्सीलाई क्लबमा भित्र्याउन चाहन्छ । स्पेनिस फुटबलमा कडा प्रतिद्वन्द्वी मानिने रोनाल्डो र मेस्सीलाई आफ्नो क्लबमा ल्याएर मिलान फेरि आफ्नो क्रेज फर्काउन लागिपरेको छ ।
नेवेल्स ओल्ड ब्वाइज
यो क्लब मेस्सीको पहिलो र पुरानो फुटबल क्लब हो । मेस्सीले आफ्नो फुटबल करियर यसै क्लबबाट सुरु गरेका थिए । ६ वर्षको उमेरमा यो क्लबबाट फुटबल खेल्न सुरु गरेका मेस्सीले यहाँबाट खेल्दा पाँच सय गोल गरेका थिए ।
यो क्लबले गर्दा नै आज यहाँसम्म आएका मेस्सीलाई पुनः एकपटक होममा फर्काउन लागिपरेको कुरा विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । मेस्सी आफैँले पनि आफ्नो अबको बाँकी फुटबल जीवन यही क्लबबाट खेल्दै सन्न्यास लिन सक्ने अनुमान गरिएको छ ।
अल–साद
अल साद कतारको नाम चलेको फुटबल क्लबमध्ये एक हो । बार्सिलोनाका पूर्वकप्तान जावीले यो क्लबको व्यवस्थापकका रुपमा काम गर्दै छन् । रोचक कुरा के छ भने कतारमा सन् २०२२ मा विश्वकप हुँदै छ । यहीबेला अल–साद र जावीले मेस्सीलाई क्लबमा भित्र्याएर थप माहोल बनाउन सक्ने अनुमान गरिएको छ ।
मेस्सी र जावी धेरै वर्षसम्म बार्सिलोनामा सँगै खेलेका कारण पनि जावीले मेस्सीलाई अल–साद लैजान सक्ने सम्भावना छ ।
सबैभन्दा धनी फुटबलर
मेस्सी विश्वको राम्रो खेलाडी हुँदै हुन् । उनी धनी फुटबलरका रुपमा समेत परिचित छन् । फुटबल खेलेर धेरै कमाउनेमध्ये रोनाल्डो र मेस्सी नै अग्रपंक्तिमा आउँछन् ।
बार्सिलोनाका लागि मेस्सीले चार पटक च्याम्पियन्स लिग, १० पटक ला लिगा, ८ पटक स्पेनिस सुपर कप र ६ पटक कोपा डेल जिताएका छन् । उनले बार्सिलोनाका लागि ६ सय ३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् । मेस्सी गत ३० जुनमा ७ सय गोल गर्ने विश्वको सातौं खेलाडी बनेका थिए ।
एजेन्सीका सहयोगमा