कपनकी ६० वर्षीया सविना दाहाल पोहोर तीजमा निकै नाचेकी थिइन् । तीन छोरी र नातिनी सँगसँगै नाचेकी सविनालाई यसपालिको तीज खल्लो लागेको छ । कोरोना महामारी र निषेधाज्ञाका कारण छोरी र नातिनीहरुसित भेट्न पाइनन् । तैपनि विषम परिस्थिति भएको भन्दै उनले मन बुझाउने प्रयास गरेकी छिन् । ‘पोहोरको सम्झनाले मन तम्तम्याइलो बनाउँछ,’ उनी भन्छिन्, ‘यसपालि समय नै खराब आयो, सम्झेर रोएर पनि भएन ।’
दाङकी सपना घिमिरे पनि काठमाडौंमा माइती सम्झेर बसेकी छिन् । गाउँमा आमा एक्लै, उनी यता एक्लै ! तीजको रौनक छैन । घरकी एक्ली छोरी सपना अवस्था सहज भएको भए दर खाने अघिल्लो दिन माइत पुग्ने योजनामा थिइन् । ‘घरमादुः ख छैन तर चाडबाडमा माइती जस्तो घर हुँदो रहेनछ,’ सपना भन्छिन्, ‘कोरोनाले साँचे अर्को साल मनाउँला भनेर मन बुझाएकी छु ।’
विगतमा श्रीमानको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने गरेकी झापाकी इन्दिरा भट्टराई यसपालि ‘कोरोनाविरुद्धको भ्याक्सिन बनोस्’ भन्ने कामना गर्दै व्रत बसेकी छिन् ।
माइती घरमै तीज मनाउने धोको थियो शंखमूलकी रीता केसीको । उनी दर खाने दिन बिहानै माइत जाने तरखारमा थिइन् । तर, सरकारले दरखाने दिनको अघिल्लो रात नै निषेधाज्ञा जारी गर्याे । उनी अहिले घरमै छिन् । उनी भन्छिन्, ‘मन त बुझाउनै पर्ने रहेछ ।’
कोरोनाविरुद्धको भ्याक्सिन बनोस्
विगतमा श्रीमानको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने गरेकी झापाकी इन्दिरा भट्टराई यसपालि ‘कोरोनाविरुद्धको भ्याक्सिन बनोस्’ भन्ने कामना गर्दै व्रत बसेकी छिन् ।
तीजलाई रौनकले नछोएपछि सस्कृतिको संरक्षण एवम् संवर्धन भने गर्नुपर्ने उनको बुझाइ छ । ‘व्रत बसेर कुनै कामना पूरा हुने–नहुने बेग्लै कुरा हो,’ उनी भन्छिन्, ‘तर मन शान्त हुन्छ ।’
मन भुलाउने प्रयास गर्दा गर्दै पनि हेटौडाकी प्रतिमा अधिकारीको आँसु थामिएन । छोरीको सम्झनाले ग्रस्त प्रतिमा भन्छिन्, ‘घरमा मीठो चोखो पाक्दा त्यै जेठीलाई सम्झन्छु । चाडबाडमा पनि भेट नुहुँदा मन पोल्दो रहेछ ।’
छाक टार्नै धौधौ
कोरोनाकै कारण चितवनकी बिनाका श्रीमानको रोजगारी गुम्यो । छाक टार्ने समस्या झेल्दै आएकी बिनाका लागि आफ्नै घरमा खाने मीठो मसिनो छैन । माईती घरको बाटो कोरोनाले छेक्यो । तर, पनि उनले मन बुझाएकी छिन् ।
भन्छिन्, ‘रोगनै कसैलाई भेट्नै नहुने आएको छ । भेट्न पाइएन भनेर मन दुखाएर के गर्नु ? बाँचे अर्को साल तीज मनाउने हो । यो वर्ष त म व्रत पनि बस्दिनँ । यो रोग लाग्यो भने उपचार गराउन सकिँदैन । झन् हामी जस्ता कतै पहुँच नभएका मान्छेलाई राेग जाँच्नै गाह्रो रहेछ । त्यसैले घरमै बस्छु ।’
गाउँ, सहर र परिवारमा नआएको तीज टिकटकमा आएको छ । तीजका गीतमा अभिनय गर्दै तीजको झल्को मेटिरहेका छन् ।
दाजुभाइ पनि दु:खी
चेलीबेटीका मात्रै होइन, दाजुभाइको मन पनि अमिलिएको छ । स्थिति ठिकठाक हुन्थ्यो भने बसुन्धराका गोपाल कार्कीको घरमा तीजको रौनकहुन्थ्यो । कोरोना कहरका कारण घर र मन सुनसान छ । उनी आफ्नी बहिनीलाई सम्झँदै भन्छन्, ‘पहिला जस्तो रमाइलो नभए पनि मन बुझाउनैपर्ने छ । बाँचे त अर्को साल धुमधामसित मनाउँला नि !’
अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिनअघिदेखि पार्टी प्यालेसमा दरखाने कार्यक्रम हुन्थ्यो । नाचगान र भीडभाड हुन्थ्यो । यसपालि सबै सुनसान छ । शुभकामना साटासाट गर्नेले पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।
सुनसान मन्दिर
तीजको दिनबिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तालूको भीड लाग्थ्यो । नाचगान हुन्थ्यो । स्थिति सुरक्षित बनाउन सुरक्षकर्मीलाई हम्मेहम्मे हुन्थ्यो । तर यासपालि पशुपतिनाथ मन्दिरमा पनि भीड छैन । अरु शिवमन्दिरहरु पनि सुनसान छन् ।
विगतमा तीज आउनुभन्दा महिना दिनअघिदेखि पार्टी प्यालेसमा दरखाने कार्यक्रम हुन्थ्यो । नाचगान र भीडभाड हुन्थ्यो । यसपालि सबै सुनसान छ । शुभकामना साटासाट गर्नेले पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।
सौन्दर्य व्यवसायी मारमा
सौन्दर्य व्यवसायी निलु श्रेष्ठ तीजमा राम्रै आम्दानी गर्थिन् । अघिल्ला वर्षहरुमा उनको व्यवसाय एक महिना राम्रै फस्टाउँथ्यो । दर खानजाने महिलाहरु उनकोमा सिंगारिन आउथे । उनलाई भ्याइनभ्याइ हुन्थ्यो । कमाई अरुबेला भन्दा राम्रो हुन्थ्यो ।
तीज माउनले आफ्ना ग्राहकलाई विभिन्न अफर समेत दिने गरेकी थिइन् । यो वर्ष कोरोना त्रासका कारण कतै बन्दाबन्दी छ, कतै निषेधाज्ञा छ । उनले भनिन्, ‘तीजको अवसर पारेर गरिने कार्यक्रम, मेला र प्रतियोगीताहरु रोकिएका छन् । दिदीबहिनीलाई माईत नजान आग्रह गरिएको छ । हाम्रो व्यापार पनि सुक्खा छ ।’
टिकटक र युट्युबमा रौनक
सामाजिक सञ्जालमा भने तीजको रौनक राम्रै देखिन्छ । महिलाहरु युट्युबदेखि विभिन्न एपहरुमा सौन्दर्य टिप्स हेर्दै घरमै सजिएका छन् । घरमै भएका सामानका विभिन्न परिकार बनाएर रमाइरहेका छन् ।
गाउँ, सहर र परिवारमा नआएको तीज टिकटकमा आएको छ । तीजका गीतमा अभिनयगर्दै तीजको झल्को मेटिरहेका छन् ।