धनुषा– धनुषाको सबैला नगरपालिका–३ स्थित बकरी बजारमा शुक्रबार दिउँसो एक अधबंैसे पुरुष भुइँमा पल्टिएका थिए । उनको खुट्टा नजिकै सेतो गम्छा थियो । चप्पल पसलको दोस्रो सिँडीमा थिए । तराईको उखरमाउलो गर्मी छल्न उनी ट्याक्टरको छेउमा कतिबेरदेखि त्यसरी पल्टिएका थिए, कसैले पत्तै पाएनन् ।
स्थानीय युवाले उनलाई देखे तर वास्तै गरेनन् । स्थानीय दलितका अगुवा राजारामले थाहा पाए । उनले अर्का दलित अगुवा मनोज पासमानलाई खबर गरे । त्यतिन्जेल उनको शरीर चिसो भइसकेको थियो ।
राजाराम र मनोजले उनको परिवारलाई खबर गरे । तीन घण्टा पर्खिंदा पनि कोही नआएपछि प्रहरीलाई खबर गरे । प्रहरीले मुचुल्का उठायो । सडकमै मृत्यु वरण गरेका ती अधबैंसे पुरुष सिरहा करजन्हाका बिगुल पासमान भएको पुष्टि भयो ।
पासमान धेरै वर्षदेखि सहिद नगरपालिकास्थित ससुरालीमा बस्दै आएका थिए । सडकमा मृत भेटिएका पासमान २५ वर्ष अघिदेखि सबैलामा काम गर्थे ।
लकडाउन अघिसम्म पसलेहरुले उनलाई खान दिन्थे । तर, लकडाउन पछि पसलहरु बन्द भए । उनको रोजगारी पनि खोसियो । यसपछि उनी कामका लागि भाैतारिँदै हिँडे ।
‘बिहीबार उनी विभिन्न ठाउँमा काम खोज्दै सबैला पुगेका थिए । आज बिहानसम्म पनि उनलाई ठीकै थियो,’ राजारामले भने, ‘दिउँसो अचानक के भैहालेछ, उनको त मृत्यु भयो । सायद भोकले होला ।’
उनको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रदेश स्वास्थ्य चौकीमा लगिएकाे छ ।