काठमाडौं– कोभिड–१९ (कोरोनाको भाइरस)बाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण आवातजावत ठप्प हुँदा दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्नुपर्ने र कम आय भएका श्रमिकहरु बढी प्रभावित छन् ।
निषेधाज्ञाको पहिलो र दोस्रो दिन काठमाडौंका विभिन्न स्थानमा पुग्दा निषेधाज्ञाको पर्वाह नगरी आफ्नो कामतिर लागिरहेका केही श्रमिकहरु भेट्यौं ।
‘निषेधाज्ञामा बाहिर निस्कनु हुन्छ त ?’ भन्ने नेपाली पब्लिकको प्रश्नमा सबैको एकै खाले उत्तर थियो, ‘सरकारले बन्द गरेर आफ्नो काम गर्दै गर्छ, हामी पनि पेट पाल्न आफ्नो काम गर्दै गर्छौं ।'
पशुपतिमा भारी खोज्दै हिँडिरहेका एक श्रमिकलाई हामीले फेरि सोध्यौं, ‘कोरोनादेखि डर लाग्दैन तपाईंलाई ?’ उनले फिस्स हाँस्दै भने, ‘कोरोनाले यति मान्छे मारिरा’को छ, डर नलाग्ने त होइन । तर भारी नखेपे भोकले मर्ला कि भन्ने डर पनि छ ।’









