‘शैली संवाद’मा गायिका तथा कार्यक्रम प्रस्तोता मञ्जु पौडेलसँग सामाजिक र सांगीतिक विषयमा केन्द्रित रहेर रंगकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यो कार्यक्रम नियमित भइरहेको छ । नेपाली पब्लिक यसको मिडिया सहयात्री हो ।
तपाईंलाई गीतसंगीतप्रति रुचि कसरी जाग्यो ?
गीतसंगीत सबैलाई मन पर्छ नै । म पनि सानैदेखि गीत संगीत सुन्ने गर्थें । रेडियोमा प्रस्तोता हुँदै यता आएकी हुँ। रेडियोमा गीत बज्दा म तरङ्गित हुन्थें । सानैबाट नयाँ काम गर्न रुचाउँथें। रेडियोमा काम गर्दागर्दै व्यावसायिक रुपमा गीत संगीतमा लागें । दर्शकस्रोताको मायाले यहाँसम्म आउने अवसर पाएँ ।
गायिका, प्रस्तोता अनि आमा पनि हुनुहुन्छ, सबैतिर कसरी समाल्नुभएको छ ?
समय भनेको व्यवस्थापन गर्न जानिएन भने कतै पनि भ्याइँदैन। सबै कुराको आआफ्नो समय हुन्छ । मिलाएर गर्न जान्यो भने हामीसँग प्रशस्त समय छ । अरु कार्यमा पनि इन्भल्ब हुन सक्छु जस्तो लाग्छ । मलाई त्यति अप्ठ्यारो भए जस्तो लाग्दैन ।
लोकगीत संगीतलाई नै रोज्नुको खास केही कारण छ ?
लोकगीत आफैँमा एक रसिक विधा हो । अझ लोक संगीत भनेको हामी नेपालीको संस्कृति पहिचानसँग पनि जोडिएको छ । बाल्यकालदेखि नै लोकगीत सुन्दै हुर्किएँ । फेरि आफ्नो स्वरअनुसार कुन किसिमको गीत गाउँदा सुहाउँछ भन्ने पनि हुन्छ । हुन त सबैखालका गीतसंगीत सुन्ने गर्छु। लोकगीत गाउनेले अरु गीत गाउनै सक्दैन भन्ने त होइन । धेरैले गाउनु पनि भएको छ । आधुनिक, पपगीत गाउने कोसिस पनि गरेकी छु । लोकगीत नै किन भन्नेमा यो मेरो रुचिको विधा हो ।
तीजगीतको सन्दर्भ पहिले र अहिले कत्तिको फरक पाउनुहुन्छ ?
समयअनुसार पहिला र अहिलेको तीजगीतमा फरक आउनु स्वाभाविक हो । पहिलाको प्रविधि र अहिलेको प्रविधिमा धेरै कुराहरु फरक रहन्छ । कताकता तीको मर्म नबुझी गाइएका गीतसंगीत बजारमा आउँदा मन पोल्छ । कतै तीजको मर्म नै मरेर त जाँदैन भन्नेजस्तो पनि लाग्छ । तीज एउटा सांस्कृतिक पर्व हो । अझ चेलीबेटीहरुको पर्व । हुन त विकास सँगै विनाश पनि हुन्छ भनिन्छ । राम्रा गीतसंगीतको बीचमा एकाध नराम्रा गीतहरु आफैँ हराएर जान्छन् भन्ने लाग्छ । हामी आशावादी हुनुपर्छ, भविष्यमा राम्रा गीतसंगीतले पक्कै स्थान लिनेछन् ।
पहिला तीज गीतभित्र महिला दिदीबहिनीका वेदना मिसिएका हुन्थे, अहिलेका गीतभित्र त्यो नआउनुको कारण के होला ?
तीज विशुद्ध चेलीबेटीको चाड हो, जहाँ पुरुषको सहभागिता उत्तिकै रहन्छ भनिसकेकी छु । हो, पहिला महिला दिदीबहिनीले आफ्ना मनका कुण्ठा पोख्ने, सासू–ससुराका कुरा गर्ने । वेदना पोख्ने चौतारीजस्तै थियो । त्यतिखेर त्यो सान्दर्भिक थियो । किनभने त्यतिखेर जहिले मन लाग्यो, तुरुन्त माइत आउजाउ गर्न पाइँदैनथ्यो । अहिलेको समयमा हामीमा पनि धेरै परिवर्तन आएको छ । त्यो पुरानो अवस्थाबाट हामीमाथि आइसकेका छौं । अहिले म माइती नगईकन प्रविधिको माध्यमबाट बुवाआमासँग कुरा गर्न सक्छु । दाजुभाइ दिदीबहिनीसँग भलाकुसारी गर्न सक्छ । त्यसैले तीज गीतभित्र पनि यस्तै विषय आउनु समय सान्दर्भिक हो जस्तो लाग्छ ।
लोकगीतको मौलिकता हराउँदै गएर आधुनिकीकरण भयो भनिन्छ नि ?
परिवर्तनलाई स्वाभाविक रुपमा लिनुपर्छ । पहिला गीत सुनिन्थ्याे मात्र । अहिले अडियो मात्र बनाएर हुँदैन, भिडियोलाई पनि ध्यान दिनुपर्छ । त्यसैले समग्रमा भन्नुपर्दा परिवर्तनलाई सकारात्मक रुपमा लिनुपर्छ । तर लोकगीत संगीतको मर्म मर्न दिनु भएन ।
लोकगीतका सिर्जनाभित्र महिला पात्रलाई केन्द्रमा राखेर, उनीहरुको सुन्दरतामाथि, कहिले उनीहरुको कमजोरीमाथि होच्याएर, जिस्काएर शब्द सिर्जना भएको जस्तो लाग्दैन ?
लोकगीत संगीत समाजको ऐना हो । हाम्रो समाज जति परिवर्तित भए पनि ती खालका प्रवृति यथावत् छ्न् । त्यसलाई कलाको माध्यमबाट उतार्न खोजिएको मात्र हो । किनकि समाजमा ती विषय थिएनन् भने गीत संगीतभित्र पनि ती कुरा पक्कै आउँदैनथे । यसलाई होच्याउने भन्दा पनि यथार्थ चित्रण गरेको भनेर बुझ्नुपर्ला ।
गीत गाउने महिला र पुरुषलाई समाजले हेर्ने दृष्टिकोणमा कतिको समानता पाउनुहुन्छ ?
मलाई त झन् पुरुषभन्दा महिलालाई बढी इज्जत दिएको पाउँछु । हुन त पुरुष प्रदान समाज हो । तर जसले समाजलाई बुझेको छ, समाजको बुद्धिजीवी हुनुहुन्छ, उहाँहरुले अरुको मेहनत, दु:खकष्टलाई कदर गर्नुहुन्छ। एउटा छोरी मान्छेले संघर्ष गरेर यहाँसम्म आएकाेछ भनेर सम्मानजक दृष्टिले हेर्ने गर्नुहुन्छ । एकाध नबुझ्ने मान्छेले केही नराम्रो भन्नुहोलाऽ त्यसलाई म त्यति ध्यान दिदिनँ । किनभने आफ्नो यात्रालाई निरन्तर अगाडि बढाउनका निम्ति सकारात्मक पक्षलाई आत्मसात गर्नुको विकल्प छैन ।
गीत सुन्ने मात्र नभएर हेर्न पनि थालियो, म्युजिक भिडियोको माहोल कस्तो छ ?
मान्छेहरुलाई अहिले भिडियोले आकर्षित गर्न थालेको छ । झट्ट हेर्दा आँखालाई नबिझाउने खालको छ भने अडियोलाई त्यति ध्यान दिदैनौं तर भिडियो नै नराम्रो बनेको छ भने अडियो मात्र राम्रो बनाएर पनि नहुने जमाना छ । गीतलाई भिडियोको माध्यमबाट सुन्दर कथा बुनेर बुझाउने पनि गरिन्छ, यसले गर्दा भिडियो लोकप्रिय हुँदै गएको छ ।
यतिखेर कोरोनाको असर हुँदैनथ्यो भने देश विदेशका कार्यक्रममा व्यस्त हुने बेला हो, अहिले कस्तो महसुस गर्नुभएको छ ?
त्यही हो समयसँगै चल्नुको विकल्प हुँदैन । माहोलसँग घुलमिल हुने बानी परिसकेको छ । कोरोना सर्वव्यापी भएकाले सबै क्षेत्रमा यसको असर छ । यस्तो माहोलभित्र कसरी खुसी हुने, कसरी सुरक्षित हुने भन्ने विषय नै मुख्य हो । फेरि ती दिन पक्कै आउनेछन् । हामी आशावादी हुनुपर्छ । समयभन्दा बलवान् केही हुँदैन ।
गायनबाट आर्थिक रूपमा बाँच्न कतिको सजिलो छ ?
पछिल्लो समयमा गीत गाएर बाँच्न सक्ने वातावरण बनेको छ । पहिलाको तुलनामा पछिल्लामा दिनहरू धेरै कलाकार सक्रिय हुनुहुन्छ । विभिन्न क्षेत्रबाट व्यावसायिक रूपमा हाम्रो क्षेत्रमा सहयोगको माहोल बनेको छ । देश विदेशका कार्यक्रमले अझ आर्थिक रुपमा ठूलो सहयोग हुने गरेको छ । म आफैँ पनि खुसीले जीवनयापन गरेकी छु । आफ्ना सामान्य आवश्यकता यसैबाट जुटाएकी छु ।
गीतसंगीत क्षेत्रमा प्रतिभा आउने र पलायन हुने परिपाटीबारे के भन्नुहुन्छ ?
यो जुनसुकै पेसामा हुन्छ । मान्छे कुन उचाइमा पुग्छ र कुन बेला तल झर्छ पत्तो हुँदैन । सबै एकैचोटि हुन्छ जस्तो लाग्दैन । मुख्य कुरा समयलाई चिन्न सक्नुपर्छ । समयलाई चिनेर काम गर्न सकियो भने लामो समय टिक्न सकिन्छ । आउने र जाने प्रक्रिया त चलिरहन्छ, त्यो स्वाभाविक हो ।
काम गर्ने क्रममा सकारात्मक र नकारात्मक प्रतिक्रिया आउँछन् नै, नकारात्मक प्रतिक्रिया आउँदा कसरी लिनुहुन्छ ?
समाजमा अनेक किसिमका मान्छे हुन्छन् । सबैले एकै प्रकारले मूल्यांकन गर्नुपर्छ भन्ने हुँदैन । भनिन्छ नि, फुलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हेर्ने नजर आआफ्नै हुन्छन् । गीतसंगीत जाने बुझेको व्यक्तिबाट आएका सल्लाह सुझावलाई सकारात्मक रुपमा लिन्छु, मनन गर्छु । राम्रो प्रतिक्रिया आउँदा मक्ख पनि पर्छु ।
अन्त्यमा, हामी शैली संवादमा भएकाले, यहाँले नाटक कतिको हेर्ने गर्नुहुन्छ, रङ्गमञ्चलाई कसरी हेर्नुभएको छ ?
म भ्याएसम्म नाटक हेर्छु । निकै राम्रो लाग्छ । तर यो मेरा लागि एकदमै अप्ठ्यारो विषय हो। हामी बाहिरबाट हेर्दा जति रंगीन र सजिलो जस्तो देख्छौं, यो त्यति सहज र सजिलै हुने ठाउँ होइन । रङ्गमञ्च समाजको आवश्यकता हो ।