काठमाडौं– उपत्यकामा एकीकृत क्वारेन्टिन प्रबन्ध गर्ने निर्णय भएको छ । भदौ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टिनको प्रबन्ध तथा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार एकीकृत क्वारेन्टिन प्रबन्ध गर्न एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिमा गृह मन्त्रालयका सचिव संयोजक रहनेछन् भने सदस्यका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ वा १२ तहको कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको सहसचिव, महानिर्देश, सहरी विकास तथा भवन निर्माण विभाग, प्रमुख जिल्ला अधिकारी, काठमाडौं, ललितपुर र भक्तपुर, सबै सुरक्षा निकायका उपत्यकाका हेर्ने राजपत्रांकित प्रथम श्रेणीसरहका पदाधिकारी, काठमाडौं उपत्यकास्थित क्वारेन्टिन रहने स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि र सहसचिव, गृह मन्त्रालय रहनेछन् ।
समितिलाई क्वारेन्टिन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिइनेछ । त्यस्तै, एकीकृत क्वारेन्टिनको सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ ।
सो क्वारेन्टिनमा वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राखिनेछ । खतिवडाले भने, ‘क्वारेन्टिनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई उपलब्ध गराइनेछ ।’