काठमाडौं– विदेशमा अलपत्र नेपाली नागरिकलाई उद्धार गरेर नेपाली ल्याई राखिने होटेल क्वारेन्टिनको शुल्क निर्धारण गरिएको छ । होटेल क्वारेन्टिनमा बस्दा व्यक्ति स्वयंले दैनिक २ हजार ८ सयदेखि ९ हजारसम्म तिर्नुपर्ने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत रमा घिमिरेका अनुसार पर्यटन विभागबाट प्राप्त होटेलहरुको नाम र हाेटेलकाे शुल्क सार्वजनिक गरिएकाे हाे । होटेललाई पाँच भागमा वर्गीकरण गरेर शुल्क निर्धारण गरिएकाे हो ।
होटेल र शुल्क
पर्यटकीय स्तरका होटेलमा प्रतिव्यक्ति २ हजार ८ सय र सेयरिङमा १८ सय तोकिएको छ । स्टान्डर्ड रिसोर्टमा प्रतिव्यक्ति ४ हजार र सेयरिङमा प्रतिव्यक्ति २ हजार ५ सय तोकिएको छ । स्टान्डर्ड होटेलमा प्रतिव्यक्ति ५ हजार र सेयरिङमा प्रतिव्यक्ति ३ हजार ५ सय तोकिएको छ । डिलक्स रिसोर्टमा प्रतिव्यक्ति ६ हजार र सेयरिङमा प्रतिव्यक्ति ५ हजार तोकिएको छ । फोर स्टार होटेलमा प्रतिव्यक्ति ८ हजार र सेयरिङमा प्रतिव्यक्ति ५ हजार ५ सय तोकिएको छ । फाइभ स्टार होटेलमा प्रतिव्यक्ति ९ हजार र सेयरिङमा ६ हजार तोकिएको छ । यो शुल्क एक दिनको मात्र हो ।
सरकारले सात दिन होटेल क्वारेन्टिनमा बस्ने सर्तमा उद्धार गर्ने भएकाले एक व्यक्तिले न्यूनत्तम १९ हजार ६ सय होटेल खर्च बेहोर्नुपर्ने हुन्छ । होटेलहरूले यति शुल्कमा खाजा, चिया र दुई छाक खाना उपलब्ध गराउनेछन् ।
त्यस्तै, साना तथा मझौला होटलको दर रेटसमेत निर्धारण गरिएको छ । यस्ता होटलमा एक जनाका लागि दैनिक १८ सय तोकिएको छ । दुई कोठा दुई जनाले सेयरिङ गर्दा प्रतिव्यक्ति ३ हजार तोकिएको छ ।
पर्यटकीय स्तरका होटलमा एक जनाका लागि प्रतिकोठा २५ सय तोकिएको छ । दुई जनाले दुई वटा कोठा सेयरिङ गरेर प्रयोग गर्दा प्रतिव्यक्ति ३ हजार ५ सय तोकिएको छ ।
स्टार तथा बुटिक स्तर होटलको दर रेट एक जनाका लागि प्रतिकोठा ३ हजार ५ सय तोकिएको छ । दुई जनाले दुई वटा कोठा सेयरिङ गरेर चलाउँदा प्रतिव्यक्ति ४ हजार तोकिएको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भदौ ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै होटेल क्वारेन्टिनमा बस्ने सर्तमा विदेशबाट नेपालीको उद्धार गर्ने जानकारी गराएका थिए । यो निर्णयसँगै क्वारेन्टिन होटेल र होटेलको शुल्क सार्वजनिक गरिएको थियो ।