काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान कार्यदलले आज आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । कार्यदलले एक हप्ता लगाएर प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन किटानी गरेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै पाँच वर्ष सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन गर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरेको कार्यदलका एक सदस्यले बताए ।
एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गरे पनि एकले अर्कोसँग सल्लाह गरेर मात्र निर्णय लिने कुरा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले बताए । पछिल्लो समय नेकपामा पार्टीभन्दा व्यक्ति हाबी भएको आरोप लाग्दै आएको थियो ।
कुनै पनि निर्णय पार्टी पद्धति र संस्थागत हुन नसकेको भन्दै सुरुबाट नै पार्टीभित्र विवाद हुने गरेको थियो । प्रतिवेदनमा यो कुरालाई पनि उल्लेख गरिएको बुझिएको छ । प्रतिवेदनमा पार्टीलाई व्यक्तिले होइन, संस्थागत निर्णय गरेर सञ्चालन गर्न सुझाव दिएको कार्यदलका सदस्यले बताए ।
ती सदस्यले भने, ‘पार्टी पार्टी जस्तै हुनुपर्छ । यसलाई विधि, विधान र संस्थागत रुपमा सञ्चालन गर्नुपर्छ । एकताको भावनाअनुसार पार्टी सञ्चालन गर्न र एकता छिटो टुङ्ग्याउन सुझाव दिएका छौं । अहिलेसम्म जुन–जुन समस्याले पार्टीमा विवाद बढेको थियो, त्यो हल गर्न पनि सुझाव दिएका छौं । समस्या हल हुन्छ होला ।’
प्रतिवेदनमा केन्द्रीय कमिटीको निर्णयअनुसार नै महाधिवेशनमा जान प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा नेपालले केही समय अघि छापेको नक्साका बारेमा पनि स्पष्ट पार्नुपर्ने तथा प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउन पनि उल्लेख गरिएको छ ।
त्यस्तै, संसदीय दलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने, भारतसँगको बढेको दुरीलाई कूटनीति तथा राजनीतिक माध्यमबाट हल गर्न सुझाव दिइएको छ ।
कार्यदलले सबैभन्दा बढी पार्टी र सरकार विधि विधानअनुसार सञ्चालन गर्नुपर्ने तथा अध्यक्षद्वयको कार्य विभाजनको विषयमा ध्यान दिएको छ । नेकपामा सबैभन्दा विवादित विषय एमसिसीलाई जस्ताको त्यस्तै संसदबाट पास गर्न नहुने सुझाव प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि थप पहल गर्नुपर्ने तथा बाढीपहिरोबाट भएको समस्याको समाधान गर्नलाई सरकारले छिटो पहल गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार अब दुवै पदबाट राजीनामाको माग उठेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु पर्ने भएको छ ।
अब बस्ने स्थायी कमिटीको बैठकमा बाँकी रहेका एजेण्डामाथि छलफल गर्न पनि सुझाव दिएको छ । सरकारले राजनीति नियुक्ति र सिफारिस गर्दा पार्टीको सल्लाहमा गर्नुपर्ने सुझाव दिएको स्रोतले बताएको छ । केन्द्रीय कमिटीको बैठक कोरोना भाइरसको महामारी सहज हुँदा बस्ने भनिएको छ ।
यस्ता छन् कार्यदलले दिएका सुझावहरु
१. दुवै अध्यक्षको कार्य विभाजन ठोस रुपमा गर्ने
२.सरकार ओलीले, पार्टी प्रचण्डले सञ्चालन गर्ने तर दुवैको सल्लाहमा निर्णय गर्ने
३. चैतसम्म पार्टीको महाधिवेशन गर्ने
४. पार्टीभित्रको वैचारिक बहस महाधिवेशनमा टुङ्ग्याउने
५. महाधिवेशनबाट थप नयाँ विचार ल्याउने
६.पार्टी एकताको बाँकी काम छिटोभन्दा छिटो सक्ने
७. संसदबाट एमसीसी जस्ताको त्यस्तै पास नगर्ने
८.नक्साका बारेमा थप स्पष्ट पार्ने
९. शान्ति प्रक्रियाको बाँकी काम छिटोभन्दा छिटो सक्ने
१०. सरकारको कामलाई प्रभावकारी बनाउने
११. संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई प्रभावकारी बनाउने