जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको कोभिड-१९ को आँकडा हेर्दा अहिले संसारभर ८ लाख ८ हजार ९ सय २८ जना मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ करोड ३४ लाख ३४ हजार २ सय २१ भन्दा बढी छ (सोमबार अगस्ट २४ बिहानसम्मको आँकडा) । त्यस्तै नेपालमा १ सय ४९ जनाको मृत्यु र ३१ हजार ९ साय ३५ भन्दा बढी संक्रमित पुष्टि भएको छ ।
छिनछिनमै बढिरहेको संख्याका कारण यो आलेख तयार पारिसक्दा आँकडामा केही फेरबदल भइसकेको पनि हुन सक्छ । यसले के देखाउँछ भने स्थिति विकराल बन्ने निश्चित छ । कोभिड-१९ विरुद्धको कुनै खोप अझै पूर्ण रूपमा बनिसकेको छैन । विश्वव्यापी महामारी आपतकाल घोषणा गरेको पनि पाँच महिनाभन्दा बढी भइसकेको छ । यस सन्दर्भमा संसारभर विभिन्न बहस सुरु भएकाे छ।
बहसको थालनी हामीले पनि किन सुरु नगर्ने ? नेपालसँगै सिङ्गाे संसार कोभिड-१९ को महामारीको प्रकोपमा पिल्सन बाध्य छ । नव-उदारवादी अर्थ व्यवस्थाले आक्रान्त विश्व अनि हाम्रो देशले यो महामारीको सही व्यवस्थापन गर्न नसकेको कटू यथार्थ हामीसामु छर्लङ्ग छ । यसै वरिपरि रहेर आगामी कार्यभार के कस्तो हुन सक्छ भन्ने कुरालाई यस आलेखमा प्रस्ट्याउने प्रयास गरिएकाे छ ।
निश्चय पनि, कोरोना कहरपछिको अवस्थाको आँकलन गर्नु अलि हतारै देखिन्छ । तर केही महत्त्वपूर्ण प्रश्नहरु हामीसामु उपस्थित भइसकेको छ । जस्तो कि, नव उदारवादी अर्थ व्यवस्थाले कोभिड-१९ जस्ता महामारीसँग जुध्न सक्छ ? वर्तमान स्वास्थ्य व्यवस्था आशातीत उपलब्धि किन दिन सकेन ? स्वास्थ्य व्यवस्थालाई नयाँ ढङ्गले हेरिनुपर्ने आवश्यकता छ कि छैन ?
- ‘यो दानवीय नव उदारवादी व्यवस्थाले जनताको मतलब गर्दैन, फगत ठूला व्यापारीको मात्रै पक्षपोषण गर्दछ ।
‘कोभिड-१९ र पुँजीको परिपथ’ भन्ने आलेखमा विकासवादी महामारीविद्, रब वालेसलगायत अन्यको भनाइअनुसार 'नव उदारवादी व्यवस्था आफैँमा एउटा रोग हो, यो रोग कोभिड-१९ जस्ता अरु धेरै रोगहरु (जस्तै सार्सलगायत धेरै प्रकारका रोगहरु)को कारक तत्त्व बनेको छ । पैसाको यात्रा जसरी सीमाविहीन रूपमा जारी रह्यो, त्यसैगरी रोगहरुले पनि यात्रा गरे ।'
विश्वविख्यात चिन्तक नोम चोम्स्कीको भनाइमा यो महामारीले पुँजीवादी व्यवस्थालाई नराम्रो गरी नङ्ग्याइदिएको छ । उनी अगाडि थप्छन्, ‘यो दानवीय नव उदारवादी व्यवस्थाले जनताको मतलब गर्दैन, फगत ठूला व्यापारीको मात्रै पक्षपोषण गर्दछ ।
अर्कोतिर यही महामारीको मौका पारेर गुगल, एप्पल, फेसबुक, अमेजन जस्ता डिजिटल कम्पनीहरु डाटा कब्जा गर्न लागेका छन् । नाफा कमाउन र व्यक्तिको निजत्व हरण गर्न उत्प्रेरित छन् ।
नव उदारवादी पुँजीवाद र स्वास्थ्य
नव उदारवादी पुँजीवादले व्यक्तिगत स्वतन्त्रताको माग बाहिरी रूपमा गरे पनि अन्ततः यो नाफाखोर व्यवस्थाले केही सीमित व्यक्ति र संस्थाको मात्र स्वतन्त्रताको ग्यारेन्टी गर्छ । हरेक चीजलाई वस्तु बनाएर विनिमय गर्ने यस व्यवस्थाले स्वास्थ्यलाई झनै खोक्रो बनाएको छ । पूर्णतः पैसामा साटेको छ । पैसा हुनेले सजिलै अत्याधुनिक स्वास्थ्य सुविधा पाउने पैसा नहुने जिउँदै मर्नुपर्ने बाध्यताको सिर्जना यो व्यवस्थाले गरेको छ ।
उदाहरणहरु बग्रेल्ती छन्, हाम्रै वरिपरि, चाहे त्यो अमेरिका होस् वा नेपाल वा भारत । समाजवादी अर्थतन्त्रका मौलिक आधार जस्तै शिक्षा, स्वास्थ्यमाथिको राज्यको पूर्ण ग्यारेन्टीका केही अंश बाँकी रहेका क्यानडा, युरोपका धेरै देशको स्वास्थ्य व्यवस्था भने केही फरक छ ।
त्यहाँ जनता पैसा नभएकै आधारमा मर्नुपर्दैन । सार्वजनिक स्वास्थ्य बिमाका कारण धेरै नै न्यूनतम मूल्यमा औषधोपचार मिल्छ । यद्यपि त्यहाँ पनि समस्या नभएको भने होइन । त्यो बहसको अर्को पाटो पक्कै हुन सक्छ ।
पुँजीवादी अर्थतन्त्रले केवल मुनाफालाई मात्र सोच्यो । जसले गर्दा शिक्षा, स्वास्थ्य जस्ता आम जनतालाई असर पार्ने आधारभूत कुराहरुमा राज्यको लगानी कम हुँदै गयो । बहुसंख्यक जनताहरु स्वास्थ्य, शिक्षा लगायत कुराहरुबाट वञ्चित भइरहँदा केही सीमित व्यक्ति र संस्था मोटाउन थाले ।
- स्वास्थ्यमा प्रतिकूलता आउने अर्को प्रमुख कारण भनेको पर्यावरणीय दोहन पनि हो । अर्कोतर्फ नव उदारवादी व्यवस्था टिकाउने एक प्रमुख आधार नै पर्यावरणीय दोहन हो ।
पर्याप्त लगानी नहुँदा सरकारी स्वास्थ्य संस्थाहरु सुविधासम्पन्न हुन सकेनन् । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुले मोटो रकम तिरेर सत्तामा बसेकाहरुसँगको नेक्ससबाट ठूला, महङ्गा अस्पताल र मेडिकल कलेजहरु खोले । जसले गर्दा बहुसंख्यक जनताको पहुँच ती संस्थाहरुसम्म पुग्ने कुरै भएन । स्वास्थ्य बिमा नभएको हाम्रो जस्तो देशमा महङ्गो रकम तिरेर स्वस्थ हुने चाहना राख्नु नितान्त स्वैरकल्पना जस्तो देखिन्छ ।
अर्को एक प्रसंगमा रब वालेस भन्छन्, ‘कृषि व्यवसाय गर्ने ठूला-ठूला कम्पनीहरुले प्राकृतिक प्रदूषण धेरै नै गर्छन्, किनकि तिनीहरु धेरैभन्दा धेरै नाफा कमाउन चाहन्छन्ऽ जसले गर्दा सरुवा रोगहरुको वृद्धि अस्वाभाविक गतिमा भइरहेको छ । ती ठूला कम्पनीले चाहिनेभन्दा बढी उत्पादन गर्ने क्रममा रोगजन्य जीवाणु वा भाइरस पनि उत्पादन हुँदै जान्छ र तिनीहरुको तीव्रतम बढोत्तरी हुन्छ । यसबाट ती जीवाणुको प्रसार अन्य जन्तु जनावरमा समेत हुन्छ । बिस्तारै हामी मान्छेसम्म आइपुग्छ ।’
स्वास्थ्यमा प्रतिकूलता आउने अर्को प्रमुख कारण भनेको पर्यावरणीय दोहन पनि हो । अर्कोतर्फ नव उदारवादी व्यवस्था टिकाउने एक प्रमुख आधार नै पर्यावरणीय दोहन हो । जति सक्दो दोहन गर्ने, सके आजै गर्ने, नसके यही हप्ताभित्र गरिसक्ने । त्यति बेलासम्म नि सकिएन भने यही महिना, वर्षभित्रैमा दोहन गरिसक्ने, अर्थात् कुनै हालतमा दोहन गरेर नाफा कमाइहाल्ने । अरुको मलाई केको मतलब भनेझैं ।
ब्राजिलको अमेजन जंगलको विनाशजस्ता प्राकृतिक पर्यावरणीय विनाश नाफाखोरहरुले नै गरिरहेका छन् । नाफाखोरहरुले कमाएका लेखाजोखा कुनै दिन पक्कै हुनेछ । फलस्वरूप पृथ्वी तात्ने क्रम बढ्दै छ, जसले गर्दा अकल्पनीय रूपमा हिउँ पग्लिरहेको छ । हाम्रै हिमालय पर्वतमालाको हिउँ पनि यसैगरी तीव्रतर गतिमा पग्लिरहेको छ भनेर इसिमोडको पछिल्लो रिपोर्टले बताउँछ ।
यसरी धेरै हिउँ पग्लिनु पर्यावरणीय चक्र सञ्चालन र निरन्तरताका लागि खतरापूर्ण हो । जसले गर्दा सदियौँदेखि हिउँभित्रको सतहमा रहेका जीवाणुहरु सजिलै बाहिर आउन सक्छन् । र विभिन्न स्रोत माध्यम जस्तै पक्षी तथा अन्य वन्यजन्तुको माध्यमबाट मान्छेसम्म सजिलै आइपुग्छन् । जस्तै चमेराबाट कोभिड-१९ मान्छेमा सर्याे भन्ने कुराबाहिर आएको छ ।
अब के गर्ने ?
वास्तवमै हामी महामारीको दुन्दुभिमा छौं । अब गर्ने के, अल्पकालीन र दीर्घकालीन रूपमा ? हुन त यी सबै खेस्रा कुराहरु हुन् । यसको विशेष विश्लेषण अर्को शृंखलामा गर्नेछु । अहिले त व्यक्तिगत र सामाजिक जीवनलाई अलि बेग्लै रूपमा जिउनुपर्ने भएको छ कोभिड-९ को कहरबाट बच्न ।
बैभन्दा महत्त्वपूर्ण कुरा सूचना हो । यसले काेभिड १९ बारे सही सूचनाबाट सूचित हुनु र गराउनु मुख्य कुरा हो । अर्कोतिर कोभिड-१९ को कारणले मर्ने कि दैनिक हातमुख जोर्न नसकेर मर्ने ? भन्ने दोसाँधमामा निम्न वर्गका जनताप्रति सम्बन्धित निकाय उत्तरदायी हुनुपर्ने अत्यावश्यकता छँदै छ ।
हामी मानवजाति स्वभावैले सामाजिक प्राणी हौँ । सामाजिक रहन पनि केही प्रमुख कुराहरु जस्तै नव उदारवादी पुँजीवादी व्यवस्थालाई बदल्ने कुरा छ । समतामूलक समाज जहाँ मान्छेले स्वस्थ बाँच्न पाउने अधिकारको ग्यारेन्टी होस्, जहाँ प्राकृतिक खाद्य पदार्थ सर्वसूलभ होस् । ठूला नाफाखोरहरुभन्दा आममान्छेको बढी सम्मान होस् । पैसाको तागतले सत्ता नहल्लियोस् । निजी स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गरियोस् ताकि सबैले समान उपचार पाऊन् ।
यी कुराहरु महत्त्वाकांक्षी लाग्न सक्छन् तर सारमा भन्ने हो भने यी कुराहरु साधारण हुन् । राज्य सञ्चालन इच्छाशक्ति हुने हो भने यो सामान्य कुरा हो ।
- हाम्रो राज्य कस्तो भइदियो भने, ‘ग्यारेन्टी लिएको छु, यति छुट छ सरकारी अस्पताल र स्वास्थ्य संस्थामा’ भन्ने त्यसको कार्यान्वयनको पहल नगर्ने । फेरि स्वास्थ्यजस्तो कुरामा छुट–सुट कहाँबाट आयो, यही हो चुरो कुरो
हामी सबै मिलेर प्रकृति र मानव अनि स्वास्थ्यसँगको सान्निध्यतालाई गहन विचार गर्ने हो भने धेरै उपायहरु निस्कन सक्छन् । नव उदारवादी विश्व व्यवस्थाले हरेक चीजमा नाफा मात्रै खोजिरहेको अवस्थामा हामी व्यक्तिका रूपमा स-साना काम गरेरै भए पनि चुनौती दिन सकिन्छ । जस्तै बजारिया पत्रुखाना, जसले स्वास्थ्यलाई ज्यादै हानि नोक्सानी गरिरहेको छ, ती नखाने, सके बहिष्कार नै गर्ने ।
त्यसैगरी यस्ता अनगिन्ती सानातिना क्रियाकलापहरु छन्, जसले स्वास्थ्यलाई दीर्घकालीन असर गर्छ । नियमित व्यायाम, शरीर र मन शुद्धि इत्यादि दैनिक जीवनव्यवहार बनाउनु हाम्रो स्वपहल हुन सक्छ । यो ‘कसरी र कति प्रभावकारी छ’भन्नेबारे अर्को आलेखमा गर्नेछु ।
जाँदाजाँदै
स्वस्थ रहन पाउनुपर्ने कुरा जन्मसिद्ध मौलिक अधिकार हो । यसलाई अझै अगाडि बढेर विश्वव्यापी मानव अधिकारसम्म पनि जोडेर हेर्न मिल्छ । जसरी मानवको बाँच्न पाउने अधिकार सुनिश्चित छ त्यसैगरी स्वास्थ्यमाथिको अधिकार पनि सुनिश्चित हुनुपर्छ । कुनै पनि राज्यले यसको ग्यारेन्टी लिनुपर्छ ।
हाम्रो राज्य कस्तो भइदियो भने, ‘ग्यारेन्टी लिएको छु, यति छुट छ सरकारी अस्पताल र स्वास्थ्य संस्थामा’ भन्ने त्यसको कार्यान्वयनको पहल नगर्ने । फेरि स्वास्थ्यजस्तो कुरामा छुट–सुट कहाँबाट आयो, यही हो चुरो कुरो, यो पुँजी व्यवस्थाले ‘मूल्य र मूल्यलाई अझै आकर्षक’ बनाउन छुटको व्यवस्था गर्छ तर जिम्मेवारी लिदैन । कुराले चिउरा भिज्दैन, के गर्नु ? पैसा जति निजी क्षेत्रलाई पोस्ने अनि कसरी सरकारी स्वास्थय निकाय सुविधा सम्पन्न र जनहितकारी हुन्छ ?
यस्तो डरलाग्दो अवस्थाको बीचमा किन चाहियो बहस भन्ने प्रश्न उठ्न सक्छ । प्रश्नहरु उठ्नुपर्छ, बहस भनेकै प्रश्न सोध्नु अनि उत्तर खोज्नका लागि हुनुपर्ने कुरा हो । स्वास्थ्य प्रणालीलाई जनहितकारी बनाउन इच्छाशक्ति जुटाउने हो, यही चिन्ताजनक र डरलाग्दो कोभिडको समय सबैभन्दा सुनौलो अवसर हुन सक्छ ।
अतः प्रश्नको पोन्तुरो खाेलौं र बहसमा सहभागी होऔं । पर्यावरणीय आम सहभागितामूलक सामाजिक व्यवस्था नै कोभिड-१९ जस्ता महामारीसँग जुध्न सक्छ, अरु त सबै फेल खाइसकेको देखिसक्नुभयो । अर्को साता प्रश्नहरुका साथ भेटौं ।
(आलेखकार स्वास्थ्य विज्ञानको इतिहासका अध्येता हुन्)