प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौं गर्ने घोषणा गरिसकेको छ । यससँगै कांग्रेस नेताहरूले विभिन्न पदमा आफ्नो दाबेदारी र उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।
सभापतिमा शेरबहादुर देउवा दोहोरिने तयारीमा छन् भने उनकै समूहका विमलेन्द्र निधि पनि सभापतिमा उठ्न तयारी गरिरहेको सार्वजनिक भइसकेको छ ।
देउवाइतर समूहबाट पनि सभापतिका दाबेदार धेरै जना देखिएका छन् । १३औं महाधिवेशनमा देउवासँग पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिमा उम्मेदवारी दिने तयारीमा देखिन्छन् ।
उम्मेदवारीको होडबाजी सुरु भइसकेको भए पनि महाविधेशनका लागि हुनुपर्ने आधारभूत काम भने सुरु भएको देखिँदैन । केन्द्रीय महाधिवेशनका लागि स्थानीयदेखि जिल्ला तहसम्मको अधिवेशन सक्नुपर्नेछ । त्यसका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम भइसक्नुपर्ने हो । गत वर्ष फागुनमै सकिइसक्नु पर्ने यो काम साउनबाट सुरु भए पनि अहिले कोरोना सन्त्रासका कारण रोकिएको छ । असोज मसान्तससम्म सक्ने भनेर भनिए पनि सम्भव नहुने देखिएको नेताहरू नै बताउन थालेका छन् ।
कांग्रेस नेता मीनेन्द्र रिजाल भन्छन्, ‘सुरुको लकडाउनमै कोरोना भाइरस नियन्त्रण र रोकथामको तयारी पूरा भएको भए अवस्था सहज हुन्थ्यो । लकडाउनको दुरुपयोग भयो । हामीहरू सकेसम्म महाधिवेशन तोकेकै समयमा गर्न लागि परेका छौं । अवस्था जटिल भए त्यहीअनुसार चल्नुपर्छ ।’
कोरोनालाई कारण देखाउँदै
पार्टीले महाधिवेशनको मितिसँगै स्थानीय तहदेखि जिल्लासम्मका अधिवेशनको मिति तय गरेको छ । सोहीअनुसार भए मात्र महाधिवेशन हुन सम्भ्व छ । तर सदस्यता वितरण र नवीकरण नै नभइरहेको अवस्थाका कारण महाधिवेशन तोकिएको समयमा हुन नसक्ने अवस्था आउन सक्ने रिजाल बताउँछन् । ‘स्थानीय परिस्थितिअनुसार सदस्यता वितरण र नवीकरण त गरिरहेका हौं ।
तर कतै कोरोना भाइरसका कारण स्थगित भएको छ । कहीँ विवादका कारण रोकिएको छ । सदस्यता वितरण र नवीकरण नै भएन भने समस्या आउँछ नै । सदस्यता स्थानीय तहसम्म पुग्न पनि समय लाग्छ ।’
तय गरेको मितिअनुसार वडादेखि जिल्लासम्मको अधिवेशन गर्न पनि समस्या देखिएको नेता महालक्ष्मी उपाध्याय ‘डिना’ बताउँछिन् । उनी भन्छिन्, ‘महाधिवेशनको प्रक्रिया सुरु त भएको छ । काम भइरहेकै थियो तर कोरोनाका कारण धेरै ठाउँमा स्थगित गर्नुपरेको छ । यही अवस्थामा महाधिवेशनको मिति यताउति हुन सक्छ ।’
कांग्रेसले वडा समितिको अधिवेशन पुस ६ गतेलाई तय गरेको छ । गाउँ र नगर समितिको ९ पुसमा अधिवेशन तय भएको छ । प्रदेशसभा निर्वाचन समितिको ११ गते र प्रतिनिधिसभा निर्वाचन समितिको १३ गते अधिवेशन तोकिएको छ । जिल्ला समितिको अधिवेशन १६ पुस र १६ माघमा ७ वटै प्रदेश समितिको अधिवेशन गर्ने गरी निर्णय भएको छ ।
सदस्यतामा विवाद
तर सदस्यता वितरण र नवीकरणमै समस्या देखिएको जिल्लास्तरीय नेताहरू पनि बताउँछन् । नेपाली कांग्रेस, सुनसरी जिल्ला सभापति राजीव कोइराला भन्छन्, ‘जिल्लामा कोरोनाका कारण सदस्यता वितरण र नवीकरणमै समस्या देखिइरहेको बेला केन्द्रका नेताहरूले उम्मेदवारी घोषणा गर्न थाल्नु हतारको निर्णय हो ।’
केही ठाउँमा पहिलो चरणको काम सुरु भए पनि विवादका कारण समस्या देखिएको छ । त्यसैमध्येको हो कास्की । पहिले पुराना क्रियाशील सदस्यको ५० प्रतिशत मात्र नयाँ सदस्य थप्ने निर्णय भएकामा अहिले शत प्रतिशत नै नयाँ सदस्य थप्ने कुरा आएपछि समस्या भएको कास्की जिल्ला सभापति कृष्ण केसी बताउँछन् ।
उनले भने, ‘हामीले फागुनबाटै क्रियाशील सदस्यता वितरणको काम थालेका थियौं । तर अहिले समस्या देखिएको छ । यसलाई हल गरेर अघि बढ्नुपर्नेछ ।’
जिल्लाहरूको स्थिति नबुझीकन केन्द्रका नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेकोमा उनलाई चित्त बुझेको छैन । ‘उहाँहरू आफूलाई चुन्ने कार्यकर्ताका बारेमा गम्भीर देखिनुभएको छैन । पहिले महाधिवेशन प्रतिनिधि कसरी छनाेट गर्ने भन्ने बारेमा छलफल हुनुपर्थ्याे । तर आफैँ पद–पदमा उम्मेदवार घोषणा गरेर बस्नुभएको छ । यो ठीक होइन ।’