‘शैली संवाद’मा मुटु रोग विशेषज्ञ डा. दीवाकर शर्मासँग कोरोनाकालमा मुटु रोगको अवस्था र यसबाट जोगिने उपायका सन्दर्भमा रंगकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यो कार्यक्रम नियमित भइरहेको छ । नेपाली पब्लिक यसको मिडिया सहयात्री हो ।
यतिखेर मुटु रोगका बिरामीको अवस्था कस्तो छ ?
मुटु र रक्तनलीसम्बन्धी रोगहरु संसारमै मृत्युको प्रमुख कारक बनेको छ । केही पहिलासम्म विकसित देशहरुमा मात्र थियो । अहिले विकासन्मुख देशहरूमा झन् झन् बढ्दै गएको अवस्था छ । पश्चिममा देशहरुमा पाको उमेरमा बढी मुटुको समस्या देखिन्थ्यो भने, हाम्रोमा युवा अवस्था देखिनै समस्या देखिन थालेको छ । हुन त मुटु रोग कुनै उमेर समूहको मान्छेलाई मात्र देखिने भन्ने होइन । विशेषतः जिम्मेवारी वहन गर्ने, तनावमा झेल्नेलाई बढी समस्या देखिन्छ ।
हाम्रोमा यस्तो जटिल हुनुका कारण के होलान् ?
मुख कारण जीवनशैली नै हो । हामी पहिला खेतबारीमा काम गर्ने, उकालो–ओरालो गर्ने गर्थ्याैँ । जसले गर्दा शारीरिक परिश्रम हुने गर्थ्यो । खानपान पनि आफूले नै उत्पादन गरेको ताजा तरकारी, अन्न उपभोग गर्थ्याैँ । अहिलेको त्यो पाइदैन । प्रविधिको विकाससँगै बढ्दो सहरीकरणले गर्दा शारीरिक श्रम घट्दै गएको छ । खानपान व्यवस्थित छैन । तनावग्रस्त जीवनशैलीले मुटुसम्बन्धी समस्या बढ्दो मात्रामा छ ।
मुटुलाई स्वास्थ्य राख्न के कुरामा ध्यान दिनुपर्ला ?
हाम्रो मुलुकमा मुटु रोगको उपचार निकै महङ्गो छ । हृदयघात भएका पच्चिस प्रतिशत बिरामीहरुको अस्पताल नपुग्दै मृत्यु हुने गरेको छ । अस्पताल पुगेको बिरामीको मृत्युदर पनि ५ देखि १० प्रतिशत छ । बाँकी मान्छे त बाँच्छन्, तर मृत्यु हुनेको सङ्ख्या पनि ठूलो छ । त्यसैले रोगै लाग्न नदिनु र मुटु स्वस्थ्य राख्नु आवश्यक छ ।
फेरि त्यही कुरा हो, हाम्रो जीवनशैली, खानपिन, नियमित व्यायाम गर्ने । चिल्लो, पिरो कम खाने । तनावमुक्त हुन कोसिस गर्ने । सुगर, प्रेसरको बिरामी हुनुन्छ भने नियमित औषधि सेवन गर्ने । आफ्नो स्वासथ्यप्रति सजक र सचेत आफै हुन सके धेरै मात्रामा जुनसुकै रोगबाट टाढा भइन्ट ।
अन्य देशको नागरिक र नेपालीहरुमा स्वस्थ्यप्रति चेतनाको स्तर कत्तिको पाउनुहुन्छ ?
पश्चिमा देशहरुको तुलनामा नेपालमा स्वस्थ्य चेतनाको स्तर एकदमै कमी छ । उतातिर धूमपानको दर घटेको छ, खाना कन्सिअस छन्, शारीरिक व्यायम गर्न थालेका छन् । मानसिक तनावलाई कम गर्न खोजिरहेको देखिन्छ ।
यता हाम्रोमा थाहा त धेरैलाई छ तर त्यसलाई व्यवहारमा एकदम कम लागू हुन्छ । धूमपान गर्नु हुँदैन भन्ने थाहा छ तर धूमपान गर्नेको दर दिननुदिन बढ्दो छ । मोटोपनको दर बढ्दै छ। खानामा लापरबाही छ। त्यसैले चेतना भएता पनि जीवनमा त्यसको पालना गर्ने मानिस कमै छन् । यसमा स्थानीय तहदेखि नै स्वस्थ्य सम्बन्धी रोगहरुको जानकारी दिन सकिन्छ ।
तपाईं सरकारी अस्पताल बाट रिटायर्ड भएर हाल प्राइभेट अस्पतालमा आबद्ध हुनुन्छ । तपाईको अनुभवमा बिरामीको प्रकृति र उनीहरुले अस्पताल छनाेट कसरी गर्ने रहेछन् ?
सरकारी अस्पतालमा आउने बिरामी भनेको अधिकांश निम्न र मध्यम वर्गीय नै हो । प्राइभेटतिर सम्पन्न मान्छेहरु जान्छन् भन्ने मान्यता छ । सरकारी अस्पताल र प्राइभेटको उपचार शुःल्क सस्तो र महँगो हुनुले पनि बिरामी आफ्नो स्तरअनुसार बाँडिएर जान्छन् ।
तर बिरामी हुने प्रकृति भने सबैको उस्तैउस्तै हो । बरु नेपाल सरकारले मुटु रोगको लागि धेरै सहुलियत दिएको छ, जुन विकसित मुलकले पनि गर्न सकेका छैनन् । महत्त्वपूर्ण कुरा हामीले रोग लाग्नै नदिने कसरी भन्ने पक्षमा एकदम कम ध्यान दिएका छौं, यसमा ध्यान दिन आवश्यक छ ।
अहिले कोरोनाको महामारीको समयमा मुटुसम्बन्धी स्वस्थ्य समस्या लिएर आउँदा अस्पतालहरुमा उपचार पाउने अवस्था छ कि छैन ?
सुरुको एक महिना लकडाउनको अवस्थामा केही समस्या थियो । त्यसपछि नियमित छ । बिरामीहरु आइरहनुभएको छ । फेरि पनि मेरो सुझाव के हो भने, खासै समस्या छैन, रुटिङ फलो मात्र हो भने सकभर अस्पताल नगएकै राम्रो । चिकित्सकसँग फोनमार्फत कुरा गरेर हल हुने समस्या भए त्यो पनि भइरहेको छ । मैले पनि कतिपय बिरामीसँग फोनबाटै सेवा दिइरहेको छु ।
डाक्टरहरुलाई भेट्नै मुस्किल पर्छ भनिन्थ्यो तर अहिले फोनबाट सेवा दिइरहेका छौं भन्नुभयो, यो कतिको सम्भव हुने रहेछ ?
मेरो कुरा गर्दा, अहिले एउटा छुट्टै नम्बर लिएको छु । त्यो नम्बरमा भाइबर र ह्वाट्सएफ खोलेको छु । फोन रिसिभ गरेर सबैसँग कुरा गर्न सम्भव नहुन पनि सक्छ, त्यसैले म्यासेजमा आएका समस्यालाई सोहीअनुसार जवाफ दिने गरेको छु । यसरी गर्दा सजिलै हुने देखिन्छ । खासमा बिरामी डाक्टरको अगाडि उभिनै पर्छ भन्ने छैन । जटिल बिरामीको हकमा अस्पतालमा मै आउनुपर्ने हुन्छ ।
अन्त्यमा एउटा फरक प्रसङ्ग, नेपाली रङ्गमञ्चलाई कसरी हेर्नुभएको छ ? नाटक हेर्न कतिको भ्याउनुहुन्छ ?
रङ्गमञ्चको कुरा गर्दा, म कलेज पढ्दा नाचघरमा गएर केही नाटक हेरेको सम्झना छ । त्यसपछि समय अभावका कारण नाटक हेर्न पाएको छैन । मलाई नाटक स्तरीय कलाको माध्यम हो भन्ने चाहिँ लाग्छ । यो भन्दा धेरै रङ्गमञ्चबारे जानकारी छैन ।