काठमाडौं- अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन भएको सर्ट फिल्म ‘अनुमाला’ आम दर्शकको लागि प्रदर्शनीमा आएको छ । विभु पौडेल र विशाल डोटेलले संयुक्त निर्देशन गरेको फिल्मको युट्युबमा पब्लिक रिलिज गरिएको छ ।
अमेरिकाको दुई फिल्म फेस्टिभल ‘एसियन फिल्म फेस्टिभल २०१९’ लस एन्जलस र ‘टिबुरोन फिल्म फेस्टिभल’को १९औं संस्करणमा अनुमाला छनाेट भई प्रदर्शित भएको थियो ।
मानव बेचविखनविरुद्ध बोलेको फिल्मले दुई युवती अनुराधा र निर्मलाको कथा बनेको छ । अनुराधा र निर्मला दुई फरक पृष्ठभूमिका युवती हुन् । उनीहरुको फरक जीवनयात्रा एक घटनामा जोडिन आइपुग्छ ।
किशोरकिशोरीलाई आत्मरक्षाको तालिम दिने नेपाली सेनामा कार्यरत अनुराधाले निर्मलामाथि संकट आइपरेको थाहा पाउँछन् । जब निर्मलासँग एक युवकले नक्कली विवाह गरेर भारत लगेर बेच्ने योजना थाहा पाउछिन् तब फिल्मले अर्कै लय लिन्छ ।
फिल्मको कथा मानव बेचविखनमा परेका र यसका विरुद्ध लडिरहेकाप्रति समर्पित रहेको छ ।
अनुराधा कोइरालाले सीएनएन हीरो सम्मानित भए, हजारौं महिलालाई भारत र अन्य देशहरूमा बेचबिखनबाट बचाउने र उद्धार गर्ने काममा उनको प्रशंसा पनि भयो । तर नेपाल अझैपनि यो सम्स्या निर्मूल नभएको तीतो यथार्थलाई मनन गर्दै निर्देशकद्वयले फिल्म निर्माण गरेको निर्देशक विभु पौडेलले बताए ।
काभ्रेको भकुन्डेबेसी आसपास र काठमाडौंमा सुटिङ गरिएको फिल्म मल्लाज प्रोडक्सनले निर्माण गरेको हो ।
१२ मिनेट लामो ‘अनुमाला’मा सृष्टि खड्गी, रोहनी लामा, भीमा मैनाली, आयन खड्का, मनिष ढुंगानालगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
अभिषेक राई घिमिरेको सिनेमाटोग्राफी रहेको फिल्मको कथा विशाल डोटेलको रहेको छ । त्यस्तै रोमीको सम्पादन रहेको यसको कृपा खड्गी र एलिज श्रेष्ठ कला निर्देशक हुन् । फिल्मको ध्वनि सम्पादन सुरज पाठकले गरेका हुन् भने अर्जुन पौडेल, शंकर भण्डारी र चन्दन रञ्जितकार निर्माण व्यवस्थापक हुन् ।