२५ वर्ष । छोटो होइन, एउटा मानिसका लागि यो अवधि । तर सञ्जीव क्षेत्रीले आफ्नो आयुको यति हिस्सा त लागूऔषध ‘कुलत’मा फसेर यत्तिकै बिताइदिए– काठमाडौंका गल्लीहरूमा । लड्दै–उठ्दै–भौँतारिँदै ।
इलामको फिक्कलमा जन्मेर मावली गाउँ दार्जिलिङमा हुर्केका उनी ‘कुलत’को संसारमा पुगेपछि ‘सञ्जु बाबा’ बने । जबकि उनीभित्र बाल्यकालदेखि नै हुर्के–बढेको ‘फेन्टासी’ थियो त्यो । बलिउड अभिनेता सञ्जय दत्तझैं बन्ने सपना थियो उनको ।
उनी १३ वर्षकाे हुँदा घाँटीको क्यान्सरले आमाको मृत्यु भयो । जीवनमा खनिएको विरानोपनको चिसोले उनलाई कुलतको भ्रमपूर्ण न्यानोतिर हुत्याइदियो । कुलतको त्यही भ्रमपूर्ण न्यानोले उनलाई एचआइभी संक्रमणको भयावह संसारमा पुर्याइदियो ।
सकिएन त जीवन ? अहँ । के त्यतिले जीवन सकिन्छ ? सकिँदैन । उनी र उनी जस्तै व्यक्तिहरू यस्ताे परिस्थितिमा पुगिसकेपछि पनि चाहिरहेका हुन्छन्– दुर्व्यसनमुक्त जीवन बाँच्ने मौका । मात्रै समाजले हेर्ने दृृष्टिकोण सच्चिनुपर्छ, बाँकी जीवन राम्रो बनाउने अवसर पाउनुपर्छ । किनकि परिस्थितिको गर्तमा हुत्याइदिने पनि त समाज नै हो ।
- ‘त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेको थियो । नेपाली मूलका केटाकेटीसँग पनि जोगीहरू डराउँथे । त्यो बेला जोगीलाई थर्काउँदै गाँजा तानेर एकखाले आनन्द लिएँ ।’
हो, समाज त्यस्तो छैन, जस्तो होस् भन्ने हामी चाहन्छौं । त्यसैले सञ्जीवलाई सोचेजस्तोे मौका सजिलै प्राप्त भएन । र, अँध्यारा गल्लीहरूमा बित्ने आयु २५ वर्षसम्म लम्बियो ।
इन्जेक्टेड नसाका लागि हजारौंपल्ट सिरिन्जले घोचिएको हातका नशामा स्लाइन चढाउने बिन्दु पनि बाँकी रहेन । पैसा नहुँदा नालीको रोटी टिपेर खान बाध्य भएका बेलाका कैयौं दुर्व्यसनी साथीको लास उनले आफ्नै हातले जलाए । ब्राउन सुगर, टिडिजेसिक, अफिम, हिरोइन, कोकिनलगायत घातक र महँगा ड्रग लिइसकेका उनी सुध्रिन भने अवश्य नै चाहन्थे ।
त्यस्तो अँध्यारो गर्ततिर उनी कक्षा सातमा पढ्दाताका नै धकेलिएका थिए । आमाको मृत्युले भंगालिएको मन एकोहोर्याउन एकान्तको खोजीमा भौँतारिरहेका बेला उनले भेटे– दार्जिलिङको धोबिघाटमा चिलिम तानिरहेका जोगी । उनलाई चिलिम तान्न मन लाग्यो । ‘केटाकेटीले तान्नु हुँदैनु’ जोगीले भने । तर उनी किन मान्थे । उल्टै थर्काएर गाँजाको ‘पफ’ तानिछाडे ।
उनी सम्झन्छन्, ‘त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेको थियो । नेपाली मूलका केटाकेटीसँग पनि जोगीहरू डराउँथे । त्यो बेला जोगीलाई थर्काउँदै गाँजा तानेर एकखाले आनन्द लिएँ । तर त्यही आनन्दको बाटो कुलतको दलदलसम्म पुग्छ भन्ने मलाई के थाहा ?’
जोगीको चिलिमबाट एक ‘पफ’ गाँजा तानेकै बेला परिवारबाट माया पाएका भए उनी आमाको अभावलाई भुल्दै जान सक्थे होलान् । अनि उनको जीवनले यो कथा पनि बुन्दैनथ्यो होला । तर, दुई दिदी उनलाई छाडेर काठमाडौं आए र घरजम गरे । बुबा र कान्छी आमाको बिरानो व्यवहारले उनलाई झन् बिरक्त्यायो । दार्जिलिङ छँदै ब्राउन सुगरसम्मको नजिक भए । तर पढ्न भने छाडेका थिएनन् । सेन्ट जोसेफ कलेज, नर्थ प्वाइन्ट, दार्जिलिङबाट अंग्रेजी साहित्य लिएर स्नातक उत्तीर्ण गरेपछि भने उनी काठमाडौं आए । काठमाडौं आएपछि नयाँ जागिरसँगै ड्रगका नयाँ पार्टनर पनि भेटिए । दार्जिलिङमा लागेको ब्राउन सुगर लत मेटाउन उनी गाँजा खोज्दै भाडाको साइकलमा लिएर काठमाडौंको डाँडाडाँडा चहार्न थाले ।
समय बित्दै गयो नयाँ–नयाँ ‘ग्याङ’ फेला पर्दै गयो । बागबजार अखडा थियो । बिस्तारै त्रिचन्द्र कलेजको अँध्यारो कुना बन्यो अखडा । नाइट्रोसन ट्याबलेटदेखि इन्जेक्टिङ ड्रग टिडिजेसिक लिन सुरु गरे । चालिस लाइन टिडिजेसिकबाट सुरु भएको लत दिनमै २० इन्जेक्सनसम्म लिनुपर्ने अवस्थामा पुग्यो । त्यही इन्जेक्टेड नसाको कुलतले उनलाई एचआइभी पोजेटिभ बनायो ।
- एचआइभी पोजेटिभविरुद्ध एन्टी रेट्रोभाइरल थेरापी लिँदै उनले चिकित्सकको सुझावमा सुरक्षित पारिवारिक जीवन सुरु गरे ।
कुलतको मात्रा बढ्दै गएपछि आश्रय दिने आफ्नी दिदीको घर छाडे, जागिर छोडे । यद्यपि साथीमार्फत फेरि उनले ग्यालेक्सी स्कुलमा जागिर पाए । उनको अध्यापन विधिसँग स्कुल र विद्यार्थी सबै खुसी थिए । तर, अहिलेजस्तो फोन थिएन । ‘ड्रग हन्टिङ’मा सहरको कुना–कुना पुग्नुपर्ने, फर्किने टुंगो नहुने । कक्षामा समयमा पुग्न नसक्ने अवस्था आएपछि नैतिकताका आधारमा आफैंले स्कुल छोडे ।
घरपरिवार, असल संगत छुट्दै गयो, कुलतले साथ छोडेन । ड्रगको जोहो गर्न उनी नयाँ कामको खोजीमा ठमेल पुगे । ठमेलले उनलाई ड्रगको डरलाग्दो दलदलमा पुर्यायो । अंग्रेजी राम्रो थियो, त्यसैले स्वतन्त्र ‘ट्रेकिङ गाइड’ बने । पर्यटकबाट पैसा, खाने–बस्ने बन्दोबस्तीसँगै कोकिनको डोज पनि उनीहरूबाटै पाउन थाले । त्यसबेलासम्म उनी शत प्रतिशत घुमन्ते जीवनमा पुगिसकेका थिए । एक स्कुल शिक्षकबाट सडकमा आइपुगेको उनले पत्तै पाएनन् । कहिले पर्यटकसँगै होटलमा, कहिले आफैं लजमा, कहिले साथीसँग पेइङ गेस्ट हुन्थे ।
तर पर्यटक आउने सिजन सकिएसँगै उनले दालरोटी र ड्रगको नयाँ बाटो खोज्नुपर्थ्याे । त्यसपछि उनी गुन्डागर्दीको बाटो हुँदै ड्रगकै तस्करी गर्नतिर लागे । पैसाको जोहो हुने सजिलो बाटो खोज्न थाले । सुरुसुरुमा ग्याङ मिलेर ट्याक्सी लुट्न थाले । कालिमाटीदेखि नयाँबजार, गोंगबु, बालाजु बाइपास, बौद्धलगायत क्षेत्रका फुटपाथमा व्यापारीसँग हप्ता उठाउन थाले ।
यी कर्मका कारण उनी नियमितजसो केही दिनदेखि ३/४ महिनासम्मका लागि जेल जान्थे । भद्रगोल, नक्खु, हनुमान ढोका, सोह्रखुट्टे उनका नियमित आउजाउका प्रहरी केन्द्र बने । भन्छन्, ‘सोह्रखुट्टे प्रहरीमा त मलाई देख्नेबित्तिकै प्रहरी नै दिक्दारिन्थे । कहिलेकाहीँ त उल्टै– रक्सी खा, अबदेखि यता देखा नपर्नू भनेर पैसा दिएर भित्रै नपसाइई फिर्ता पनि पठाउँथे ।’
उनी ड्रग्स (माल) लिएर भारतको कलकत्ता, गोआलगायतका ठाउँ पुग्थे । बेचेर आएको पैसा ड्रगकै आनन्द लिन खर्चिन्थे । प्रहरीको लफडा, सधैँ माल नपाउने हुन थालेपछि उनी कहिले मदिरा सेवन पनि गर्थे । जसरी हुन्छ लागूऔषधको नशामा बिन्दास थिए ।
जब ‘युथ भिजन’ भन्ने संस्थाले उनको रगत परीक्षण गर्यो, उनमा एचआइभी पोजेटिभ देखियो । ‘रिपोर्ट आएपछि पहिलोपल्ट जीवनको माया लाग्यो,’ उनी भन्छन्, ‘तर शरीरमा रगतसरि ड्रग दगुरिरहन्थ्यो ।’
तर जुन सडकले उनलाई बर्बादीको दलदल देखायो, त्यहीँ उनले आफूलाई माया गर्ने मान्छे पनि पाए । संक्रमित भएको थाहा पाएरै आएका माया गर्ने मान्छेले उनको जीवन बदलिँदै गयो । संयोग, दुई महिला उनको जीवनमा आए । मिलन बिछोडको कथा बन्यो । तर, साथ त एकै जनाको काफी छ नि, पाइरहेकै छन् । १० र चार वर्षका दुई छोरी पनि छन् । एचआइभी पोजेटिभविरुद्ध एन्टी रेट्रोभाइरल थेरापी लिँदै उनले चिकित्सकको सुझावमा सुरक्षित पारिवारिक जीवन सुरु गरे ।
विवाह गरे पनि उनको बास फुटपाथमै धेरै हुन्थ्यो । नशाले धूत भएपछि कहाँ के गर्ने केही टुंगो हुँदैनथ्यो । दुर्व्यसनी श्रीमानसँग दिक्दारिएपछि श्रीमती बच्चा लिएर घर छोड्थिन् । उनी पनि बच्चा र श्रीमती सम्झिएर भावुक हुन्थे । श्रीमती पनि फेरि मायाले तानिएर आउँथिन् । यसरी चलिरह्यो निकै वर्ष जिन्दगी । उनी दार्जिलिङ नगएको वर्षौं भइसक्यो । बुबासँग बोलचाल हराएको ३३ वर्ष पुगिसक्यो । तर समय त्यही रहेन, न उनको जिन्दगी त्यही रह्यो । उनी उज्यालोसँग रमाउन थालिसकेका छन् ।
अँध्यारै पाटो सम्झने हो भने त दुर्व्यसनीकै कारण पैसा नहुँदा २० रुपैयाँ आइसीका लागि वेश्यावृत्तिको दलाली पनि गरे उनले । सम्झन्छन्, ‘नालीबाट रोटी टिपेर पनि खाइयो । कुलतले अपराधी पनि बनायो । आफ्नै जिन्दगी फर्केर हेर्दा कहाली लाग्छ ।’
- ‘भाइरल भइदियो’, ‘हिरो’लगायतका गीतबाट चर्चामा आएका गायक मानसराज भेटे । मानसराजले उनको जीवनमा आफ्नो गीतको जीवन भेटे ।
‘ट्रिप’मै बसिरहेका बेला उनले जिन्दगीबारे नसोचेका होइनन्, तर उनलाई लाग्थ्यो, अब सबै बाटो बन्द भइसक्यो । तर, जीवन रहेसम्म अनेक बाटा हुँदा रहेछन् । एकदिन ‘नेपाल चित्र’ नामक युट्युब च्यानलले उनको जीवन कथा बाहिर ल्यायो । त्यसमा उनले आफू सुध्रिन चाहेको बताए । एकै रातमा लाखौंले उनका कुरा सुने, उनलाई सकारात्मक प्रतिक्रिया दिए । ती कमेन्ट पढ्दा उनले जीवनमा नयाँ आशाको किरण देखे । त्यसो त उनी सुध्रिने चाहनाले नै युथ भिजन नामक संस्थामा दुई वर्ष बसिसकेका थिए । तर सडकको मोहबाट उम्किन सकेका थिएनन् । ती कमेन्टले भने उनीभित्र ऊर्जा नै भरिदियो ।
विगत १५ महिनादेखि एचआइभी संक्रमितको उपचार सहयोग तथा रोकथामका लागि काम गर्ने संस्था स्पर्श नेपालसँग जोडिएका छन् । उनी त कुलतबाट बाहिर निस्किएका छन् नै, अन्य संक्रमितलाई पनि कुलतबाट बाहिर ल्याउने प्रयासमा जुटेका छन् । लकडाउनअघि उनी विभिन्न स्क'ल, कलेजमा दुर्व्यसनीबारे कक्षा लिन पुगेका थिए । अहिलेको जीवनबाट उनी उत्साहित हुन्छन् र भन्छन्, ‘अहिले आएर मेरो आफ्नै जिन्दगीसँग लभ पर्यो ।’
कथा यतिमै सकिँदैन, बरु सुरु हुन्छ । उनले आफूले भोगेको जीवन एउटा गीतमार्फत सुनाउँदै छन् । यही बीचमा उनले ‘भाइरल भइदियो’, ‘हिरो’लगायतका गीतबाट चर्चामा आएका गायक मानसराज भेटे । मानसराजले उनको जीवनमा आफ्नो गीतको जीवन भेटे । मानसले सञ्जीवलाई पछ्याए, गीतभित्र बुनिएको कथा सुनाए । सञ्जीवले गीतभित्रको कथामा आफ्नै कथा पाए, आफ्नै भावना पाए । निकै समयको परखपछि सञ्जीव आफ्नो कथा गीतमार्फत व्यक्त गर्न तयार भए । त्यसो त उनीभित्र आफूलाई पब्लिकसामु अभिव्यक्त गर्ने ‘सञ्जुबाबा’वाला सपना पनि त मरिसकेको थिएन ।
मानस भन्छन्, ‘जब सञ्जीवको कथा थाहा पाएँ, मैले गीतमा उनकै कथा मात्रै देख्न थालेँ । त्यसैले जतिसुकै समय लागे पनि उनीमार्फत नै यो गीतको कथा भन्छु भनेर मिहिनेत गरेँ ।’
म्युजिक भिडियो सुटिङका क्रममा गेटपालेको सलाम खाँदै स्कुल छिरेर विद्यार्थीले कक्षामा घेरिँदाको दृश्य पनि छ । त्यसले सञ्जीवलाई नोस्टाल्जिक बनायो । ‘बेस्सरी ती दिन मिस गरेँ । ग्यालेक्सीमा सञ्जीव सरको क्लास भनेर पर्खिरहेका विद्यार्थीको अनुहार सम्झें, कहाँबाट कहाँ आइपुगेछु भन्ने लागेर छाती भक्कानिएको थियो,’ उनले भने ।
त्यो मात्रै होइन, भिडियोका धेरै अभिनय उनले आफैंले भोगेको जीवनबाट दोहोर्याएका छन् । भिडियोसँगै उनको मनमा रहेको ‘सञ्जुबाबा’वाला सपना पनि पूरा होला त ? त्योचाहिँ मंगलबार अपराह्न सार्वजनिक हुने भिडियो हेरेपछि आँकलन गर्न सकिएला ।