नेपालको भौगोलिक अवस्थिति निकै गतिशील छ । अहिले पनि पहाड बन्ने क्रम जारी छ, जसका कारण दक्षिणतिरको भाग उत्तरतिर सर्ने प्रक्रिया चलिरहेकै छ । यस क्रममा कतिपय चट्टानहरू दोब्रिएका, चोइटिएका र कुहिएका छन् ।
चट्टान बलियो हुँदा भिरालो जमिनले भार सजिलै धान्न सक्थ्यो तर चट्टान नै दोब्रिने, चोइटिने र कुहिने भएपछि जमिनले धेरै भार थेग्न सक्दैन । त्यस्तै, नेपालमा भिरालोपन धेरै छ । जमिन जति भिरालो भयो, जमिनसँग भार धान्ने क्षमता त्यति नै कमजोर हुन्छ ।
नेपालमा चार महिना (जेठ–भदौ)भित्रमा ८० प्रतिशत पानी पर्छ । यस अवधिमा घना वर्षा हुन्छ । थोरै समयमा धेरै पानी पर्दा जमिन छिटो गल्छ र पहिरो जाने सम्भावना बढी हुन्छ ।
पहिराका पूर्वसंकेत
पहिरो कतिखेर जान्छ, भन्न सकिँदैन तर पहिरो जाँदै छ भन्ने थाहा हुन्छ । जस्तो कि बस्तीमाथिको पहाड कुप्रिएको छ भने सजग हुनुपर्छ । यसले पहाड लड्न तयार भएर बसेको संकेत गर्छ । पहाडलाई लड्न नदिन चट्टानमा बोल्टु कस्ने टेक्निक प्रयोग गर्ने चलन छ । तर, यसका लागि धेरै खर्च गर्नुपर्छ, जुन क्षमता स्थानीय स्तरमा नहुन सक्छ । त्यसकारण कुप्रिएको पहाड वरपरका बस्ती स्थानान्तरण गर्नु उपयुक्त हुन्छ ।
रुखहरू तलतिर ढल्किनु पहिरोको पूर्वसंकेत हो । त्यसले पहिरो गइहाल्छ भन्ने संकेत गर्दैनन् । तर, बिस्तार माथिबाट केही चिजले रुखलाई ठेल्दै छ भन्ने संकेत हो । तर, हामी यस्ता कुरामा खासै चासो दिँदैनौँ, यसलाई झिनामसिना कुरा ठान्छौँ । बिजुलीको पोल ढल्केको छ भने त्यो पनि पहिरोको पूर्वसंकेत हो ।
त्यस्तै पूर्वसंकेत हो जमिन चिरा पर्नु । पहिरो जान ठ्याक्कै घरनेरै जमिनमा चिरा पर्नुपर्दैन, बस्ती वरपर जमिनमा चिरा परेको छ भने होसियार हुनुपर्छ । चिराबाट पानी छिर्छ र पहिरो जाने सम्भावना बढ्छ ।
त्यस्तै, कतिपय ठाउँमा खोला घुमेको हुन्छ । त्यस्तो ठाउँमा खोलासँग कटान गर्ने शक्ति धेरै हुन्छ । बस्ती बसेको पहाडको फेदमा खोला घुमेको छ भने त्यहाँ खोलाले कटान सुरु गर्छ र बस्ती पहिरोको जोखिममा हुन्छ ।
घरको गारोमा चिरा पर्न थाल्यो, आँगन दबिन थाल्यो भने त्यहाँ पहिरोको सम्भावना हुन्छ । बर्खामा मूलको पानी सुक्नु, पानी नआउने ठाउँमा एक्कासि पानी आउनुले जमिन तलमाथि भएको संकेत गर्छ । किनभने जमिनमुनि पनि पानी एउटा दिशामा बगेको हुन्छ ।
बर्खा सुरु हुनुअघि नै यस्ता पूर्वसंकेतको अध्ययन गरेर पहिरोबाट बच्ने र बचाउने काम गर्नुपर्छ ।
- जमिनभित्रको पानीमा ‘थे्रस होल्ड’ आइसकेपछि घरघरमा घण्टी बजोस् ।
प्रविधि
नागरिकलाई पहिरोका पूर्वसंकेतबारे जानकारी गराउनु आवश्यक छ । यही कुरालाई मनन गरेर बारम्बार सरकारलाई सल्लाह दिइएको थियो । यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डकुमेन्ट्री बनाएर जनचेतना फैलाउने काम गरेको छ ।
वैज्ञानिक हिसाबले समेत पहिरोका पूर्वसंकेतहरू निर्धारण गर्न सकिन्छ । यसका लागि जोखिम तथा सम्भावित क्षेत्रको जमिनको ट्र्याक गर्न विज्ञानसम्मत सामग्री राख्नुपर्ने हुन्छ । जमिन गतिशील छ, छैन भनेर जान्न ट्र्याक गर्ने हो ।
नेपालमा यस्तो ‘मेकानिज्म’ बनाउनु आवश्यक छ, जमिनभित्रको पानीमा ‘थे्रस होल्ड’ आइसकेपछि घरघरमा घण्टी बजोस् । तर, यस्तो मेकानिज्म व्यवस्थापन गर्न खासै अध्ययन भएको छैन । अहिलेका लागि ‘इन्भेसन’ गर्नुपर्ने र चाहिने मेकानिज्म नै यही हो ।
पहिरोविज्ञ र इन्जिनियरको सहकार्यमा यस खालको मेकानिज्म विकास गर्ने क्रममा छ । तर, यो यति समयमै सकिन्छ भन्ने निश्चित भइसकेको छैन ।
विदेशमा पहिरोको क्षति न्यूनीकरण तथा पूर्वसंकेतका लागि प्रयोग गरिएका प्रविधि यहाँ जस्ताको त्यस्तै प्रयोग गर्न सकिँदैन । तर, ‘मोडिफाइ’ गरे प्रयोग गर्न सकिन्छ । हाम्रो माटो, पहाडी भाग र चट्टानको संरचनासँग मिल्दोजिल्दो हुने गरी कसरी मोडिफाइ गर्न सकिन्छ, प्राधिकरणले अनुसन्धान गुर्नपर्छ । विदेशमा प्रयोग भएका प्रविधिको कार्यशैली बुझेर नेपाली माटो सुहाउँदो प्रविधि विकास गर्नु झनै राम्रो हुन्छ ।
पहिराका कारण
नेपालमा प्राकृतिकभन्दा मानव सिर्जित कारणबाट धेरै ठाउँमा पहिरो गएको पाइएको छ । हामीकहाँ पहाड काटेर विकास गर्ने प्रवृत्ति बढेको छ । विकासका लागि पहाड काट्नै पर्ने अवस्था आए सुरुङ मार्ग तथा पुल निर्माणमा जोड दिनुपर्छ, जसलाई खासै ख्याल गरिएको छैन । सुरुङ मार्गले पहिरोको सम्भावना केही हदसम्म टार्छ । तर हामीकहाँ सुरुङ मार्गसम्बन्धी अवधारणा बल्ल सुरु भएको छ ।
- भूकम्प जाँदा कतिपय अग्ला बस्ती समथर हुन्छन्, कालान्तरमा त्यहीँ बस्ती बसाइन्छ । बस्ती बसाउने बेला भूभर्गसम्बन्धी अध्ययन गरिँदैन, जसका कारण त्यो ठाउँ पहिरोको जोखिममा पर्छ ।
ग्रामीण विकासका क्रममा धेरै ठाउँमा सडक सञ्जाल पुर्याइएको छ । स्थानीय तहमा त सडक सञ्जाल गर्ने होडबाजी नै छ । सडक सञ्जाललाई नै विकास मान्ने मानसिकता हाबी छ । यसैकारण सडक सञ्जाल विस्तार गर्दा जताजता डोजर सजिलै जान सक्छ, उतैउतै सडक विस्तार गरिएको पाइन्छ ।
भूकम्पका कारण पनि पहिरो जान्छ । २०७२ पछिको भूकम्पका कारण धेरै ठाउँमा चिरा र भ्वाङ परे, सिन्धुपाल्चोक, गोर्खा आदि जिल्लामा यस्तो अवस्था पाइएको थियो । चिरा परेको ठाउँ कति गहिरो छ, पत्ता लगाउनुपर्छ । यसपछि त्यहाँ सानाठुला ढुंगा र माटो हालेर पुर्न सक्छौँ । माथिल्लो भागमा चाहिँ सिमेन्टको पातलो घोल हाल्नुपर्छ । यसो गर्दा चिराबाट पानी छिर्न पाउँदैन । र पहिरो जाने सम्भावना टार्न सक्छौं, यो अस्थायी समाधान मात्र हो । चिरा टाल्दा निकै गह्रुँगा सामग्री पनि राख्नुहुँदैन ।
भूकम्पले खुकुलो माटोलाई झनै खुकुलो बनाइदिएको पनि पाइयो । भूकम्प जाँदा कतिपय अग्ला बस्ती समथर हुन्छन्, कालान्तरमा त्यहीँ बस्ती बसाइन्छ । बस्ती बसाउने बेला भूभर्गसम्बन्धी अध्ययन गरिँदैन, जसका कारण त्यो ठाउँ पहिरोको जोखिममा पर्छ ।
पहिरो रोक्न रूख रोप्नुपर्छ भन्ने कुरा सही होइन । कतै कतै बिनाअध्ययन रुख रोपिन्छ, रुखको अत्यधिक भारका कारण झन् पहिरो जान्छ । त्यसकारण अध्ययन अनुसन्धान गरेर ढुंगामाटोलाई सुहाउँदो रुख रोप्नुपर्छ ।
- वास्तवमा सडक निर्माण र बस्ती विकास गर्दा पहाडको संवदेनशीलतालाई ध्यान नदिँदा पहिरोको जोखिम बढेको हो ।
बस्ती विकास
त्यस्तै, हामीकहाँ बस्ती विकासमा समस्या छ । पहाडको टुप्पा, बीच र फेदमा बस्ती छन् । आफ्नो जग्गा छ भने जहाँ घर बनाए पनि हुने अवस्था छ । यो टे«न्डलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्नैपर्छ । कुन ठाउँ बस्तीका लागि उपयुक्त छ भनेर नागरिकले जान्नुपर्छ । त्यस्तै, स्थानीय तहले भूगर्भविद्लाई अध्ययन अनुसन्धानमा खटाएर बस्ती विकासका लागि उपयुक्त स्थान निर्धारण गरिदिनुपर्छ । बस्ती विकास नियन्त्रण गर्ने अधिकारसमेत दिनुपर्छ । पहिरोका दृष्टिले कम जोखिमयुक्त ठाउँ पहिचान गरेर एकीकृत बस्ती विकास गर्ने परिपाटी बस्न सकेको छैन । यस्तो गर्न सकिएको भए पहाडको खुट्टा काट्नुहुँदैन भन्ने कन्सेप्ट कार्यान्वयन गर्न सकिन्थ्यो ।
वास्तवमा सडक निर्माण र बस्ती विकास गर्दा पहाडको संवदेनशीलतालाई ध्यान नदिँदा पहिरोको जोखिम बढेको हो ।
कतिपय ठाउँमा पहिरो जाने कुरा पहिल्यै थाहा हुन्छ, तर पनि विविध कारणले बस्ती स्थानान्तरण गरिँदैन । अनि ठूलो क्षति बेहोनुपर्ने हुन्छ । जस्तो कि सिन्धुपाल्चोकको लिदीमा भयो । त्यहाँ बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायको ढिलासुस्तीका कारण त्यत्रो क्षति भयो ।
हामीकहाँ एउटा समस्या छ स्थानीय तहलाई धेरै अधिकार दिइएको छ, तर आवश्यक मानवस्रोत दिइएको छैन । त्यस्तै, पहिरोविज्ञ, भूगर्भसम्बन्धी पढेको मानिस जनशक्तिका रूपमा दिइएको छैन ।
कतिपय अवस्थामा धेरै पानी पर्दैमा पहिरो नजान सक्छ । तर पानीको निकास जथाभावी बगेको, निकास बनाउन सकिएको छैन भने पहिरो जाने खतरा निकै बढी हुन्छ । कम्तीमा बस्तीको नजिक व्यवस्थित निकास बनाउनुपर्छ । खनेको नालाबाट पानीको निकास पठाउनु त्यति उपयुक्त हुँदैन । नालाबाट पानी बग्न थालेपछि झन् कटान सुरु हुन्छ । पानी जमिनमुनि मुनि छिर्न थाल्छ । तसर्थ पानीको निकासका लागि बनाइएको नाला वा कुलो व्यवस्थित हुनुपर्छ । व्यवस्थित गर्न सिमेन्ट प्रयोग गर्न सकिन्छ ।
क्षति न्यूनीकरण
समुदाय आफैँ अर्ली इन्डिकेटरबारे चनाखो हुनुपर्छ । सडक बनाउँदा उच्च प्रविधि प्रयोग गर्नुपर्छ । पहिरोविज्ञहरु छरिएर बसेका छन् । विपद् व्यवस्थापन प्राधिकरण जस्ता संस्थाले पहिरोविज्ञहरुलाई अनुसन्धानका लागि परिचालन गर्नुपर्छ । पहिरोविज्ञबाट अन्वेषण गरिएका प्रविधि प्रयोग गरेर क्षति न्यूनीकरण गर्न सकिन्छ ।
सर्वप्रथम देशैभरि पहिरोसम्बन्धी अध्ययन गर्नुपर्छ । यसपछि देशका विभिन्न ठाउँलाई रातो, पहेँलो र हरियो क्षेत्रमा निर्धारण गर्न सकिन्छ । यस किसिमको काम २०७२ को भूकम्पपछि पुनर्निर्माण प्राधिकरणले गरेको थियो ।
रातो जोनमा परेका बस्तीलाई तत्कालै स्थानान्तरण गर्नुपर्छ । स्थानान्तरण गर्न पनि समस्या हुन सक्छ । स्थानान्तरण गर्ने ठाउँ पत्ता लगाउनुपर्छ । रातो जोनका मानिसलाई हरियो जोनमा लानुपर्छ । रातो जोनको बस्तीलाई हरियो जोनमा सार्दा लाग्ने खर्चसमेत स्थानीय तहलाई उपलब्ध गराउनुपर्छ ।
(नेपाली पब्लिकका लागि दीपक ठकुरीले भूगर्भविद् डा. सुबोध ढकालसँग गरेको कुराकानीमा आधारित)