दशकौं अघि
बोकेर समृद्धिको सपना
शहर छिरेको म
फर्कनु छ अब गाउँ ।
बाँच्नु छ एक आदिम आयु
फुलाउनु छ माटोमा पसिना
जन्माउनु छ एक स्वर्णिम युग ।
बर्षाैं झरी खाएर
हुरी र बतास झेलेर
मेरै आगमन कुरी वसेकोछ
गाउँमा मेरो घर
आगन मुन्तिर
छन् केहिथान खेतका गराहरु
गराहरुमा फेरि झुलाउनुछ धानका बालाहरु ।
झार्नुछ कुलो
माथिल्लो गराबाट तल्लो गरासम्म
कलकल कलकल निकाल्नुछ संगीत
ध्यानमग्न हुनुछ त्यहि संगीतमा
र जीवनको जरासम्म पुग्नुछ ।
करेसा माथिको दुई पाटोमा
फुलाउनुछ तोरी र भाग्य संगसंगै
डुल्नुछ हरेक साँझ माहुरिहरु भमराहरुसंग
लपक्कै पोत्नुछ रातो गेरु र सेतो कमेरोले
घरको ओज्रिएका भित्ताहरु
र टाल्नुछ भित्तासंगै ओज्रिएको बाको मन
फनक्कै फन्को मारेको बार्दलिनलाई
रंग्याउनुछ खुसिले, प्रेमले
टुक्रुक्क बसेको हेर्नुछ बा र आमा
एक जोडी परेवा संगै
अब गाउँ फर्कनु छ ।
विहानी हुनु अघि
सुर्य झुल्कीनु पहिले
उठ्नुछ भालेको आवाजसंगै
फुक्नुछ समयको विगुल
जागाउनुछ निदाईरहेको गाउँलाई
एक दुहुनो गाई र एक हल गोरुले
भरिदिनुछ वर्षाैं रित्तिएको गोठ
प्यास लाग्दा पिउनुछ महि
अत्यास लाग्दा जोत्नुछ खेत
भरिदिनुछ रित्तिएको भकारी
फुलाउँनुछ पखेराभरी देशलाई
चर्कीएको स्वास्थ चौकी
पाठशालाको चुहिने छानो
भत्कीएको गोरेटो
सबै सबै बनाउनुछ
यसैपाला फर्कनुछ गाउँ
गाउँबाटै सुरु गर्नुछ फेरी
गाउँमै छोडिहिडेको समृद्धिको यात्रा ।