डोल्पा– दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ ।
असिनापानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङले बताए । उनले भने, ‘तीन÷चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।’
वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । ‘यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पा¥यो, जीविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ,’ वडाध्यक्ष गुरुङले भने ।
सोही वडाका किसान तेन्जिन टासी गुरुङले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताए । उनले भने, ‘कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।’ उनले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गरे ।