प्रस्तुत अन्तर्वार्ता ‘शैली–संवाद’मा रंगकर्मी सरस्वती अधिकारीले ‘स्पिक अगेन्स्ट कास्ट सिस्टम’का संयोजक रवि सेन्चुरीसँग गरेको कुराकानीको सम्पादित अंश हो । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भदौ २ देखि हरेक जोर बार लाइभ स्ट्रिमिङ भइरहेको ‘शैली–संवाद’को महत्वपूर्ण लिखित अंश नेपाली पब्लिकमा पढ्न पाइनेछ ।
अझै युवाहरू राजनीतिमा आकर्षित भएका देखिँदैनन्, किन ?
युवाहरूको राजनीतिमा आकर्षण छैन भन्न मिल्दैन । उनीहरूको राजनीतिप्रतिको आकर्षण सामाजिक सन्जाल र विभिन्न क्रियाकलापबाट देखिएको छ । तर त्यो परम्परागत छैन, अलि फरक शैलीमा देखिएको छ ।
पहिलेका युवाहरू भूमिगत हुने वा घरबार सबै छोडेर राजनीतिमा होमिने गर्थे, अहिले भने शिक्षामार्फत राजनीतिमा सक्रिय छन् । सामाजिक रूपान्तरण गर्न उनीहरूले लेख्ने र बोल्ने गरिरहेका छन् । त्यसका लागि विशेष गरी ट्वीटरजसता सामाजिक सन्जाल प्रयोग गरिरहेका छन् । त्यसका साथै विभिन्न अभियान चलाएर युवाहरूले राजनीतिमा सक्रिय छौं भन्ने संकेत गरेका छन् ।
तपाईंचाहिँ पछिल्लो समय विभेदबारे बोल्दै र लेख्दै आउनु भएको छ, युवाहरूले किन यस्तो कुरा बोल्नुपर्छ ?
आधुनिक समयमा पनि हामी विभेदमा नै रोकिनु परेको छ । विश्व चन्द्रमा र अन्य ग्रहलाई कसरी मुठ्ठीमा राख्ने भनेर सोचिरहेको छ । तर हामी भने भेदभाव र विभेद गरेर बसिरहेका छौं । एउटा समुदायले धेरै अवसर पाएको छ भने फरक जात, लिंग, भूगोल र संस्कृतिका कारण अर्कोले कम अवसर पाएको छ ।
जबसम्म विभेद हुन्छ, तब सम्म शोषण हुन्छ । शोषण हुनु भनेको एक पीडक र अर्को पीडित हुनु हो । जहाँ पीडित हुन्छन्, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक पहुँच हुँदैन । यस्तो खाडलले दुई पक्षबीच द्वन्द्व निम्त्याउँछ । तसर्थ, विभेद हटाउन जरुरी छ । त्यो कुरा युवाबाट मात्र सम्भव छ ।
पछिल्लो घटनाक्रमपछि विभिन्न स्वरूपमा दलित आन्दोलन भइरहेको छ, तपाईंहरूचाहिँ दलितमा पनि विद्यार्थी आन्दोलन भनेर लागिरहनुभएको छ । किन ?
नेपालको इतिहासमा दलित आन्दोलन सबैभन्दा पुरानो सामाजिक आन्दोलन हो । यसपछि मात्र राणा शासनविरुद्धको आन्दोलन, महिला आन्दोलन र प्रजातन्त्रको लागि आन्दोलन भएको हो । त्यसपछि जनजाति आन्दोलन, मधेश एवं थारू आन्दोलन भएको हो । तथापि विडम्बना, अन्य आन्दोलनले जति पनि दलित आन्दोलनले उचाइ लिन सकेको छैन । हामीले दलित आन्दोलनका उपलब्धि र असफलताको समीक्षा गर्नुपर्ने भएको छ र थप कार्यदिशा तयार गर्नुपर्ने भएको छ ।
युवा विद्यार्थीहरू अलि बढी उर्जाशील हुने हुँदा यस आन्दोलनको नेतृत्व युवाले गर्नु पर्छ । विश्वविद्यालयहरूमा अध्ययन गर्दा नै देशभरिका साथीहरूलाई यस आन्दोलनमा एकीकृत गर्न सकेको खण्डमा आजका विद्यार्थीबाट परिवर्तन सम्भव छ । यद्यपि विभिन्न समय टुक्रा–टुक्रामा गरिएको आन्दोलनको जगमा नै हामी यो अवस्थामा आएको कुरालाई नकार्न भने सकिँदैन ।
यो आन्दोलन भनेको दलितको मात्रै हो भनेर बुझ्नु हुँदैन । यो गैरदलित साथीहरूको पनि आन्दोलन हो । सबै पीडितहरूको आवाज समेट्ने ठाउँ हो आन्दोलन । महिलाहरूको आन्दोलन पुरुषको पनि हो, मधेसको आन्दोलन गैरमधेसीको पनि हो । यस्तो सोच्न सक्यौं भनेमात्रै हामी विभेदहीन समाज निर्माण गर्न सक्छौं ।
यति लामो इतिहास बोकेको दलित आन्दोलनले समाजमा केही पनि परिवर्तन ल्याउन नसकेको हो त ?
पहिलेभन्दा धेरै परिवर्तन भएको छ । मनुस्मृतिमा आधारित विभेद थियो हाम्रो समाजमा । जात हेरेर काम, व्यवहार र सजाय दिने चलन थियो । त्यसैको आधारमा विभेदपूर्ण कानुन बनेका थिए । राणाकालमा त्यो विभेद बलियो बनेको थियो, जसले समाजलाई विभाजन गरिराख्यो । अहिले दलित–उत्पीडित समुदायले आफ्नो आवाज बलियोसँग राख्ने ठाउँ र स्वतन्त्रता पाएका छन् । गैरदलित साथीहरूले पनि विभेद र विकृति हटाउनुपर्छ भनी आन्दोलनलाई शक्ति दिइरहनुभएको छ ।
हिजो हामी मन्दिर छिर्न पाउदैनथ्यौं, आज ठ्याक्कै त्यही अवस्था छैन । लास जलाउने ठाउँमा पनि भेदभाव थियो, अब त्यो छैन । शिक्षा र रोजगारीमा दलितहरूको पहुँच बढ्दै छ । तर यति धेरै सकारात्मक परिवर्तन भएको छ भनिरहँदा रुकुममा भएको नरसंहारले हाम्रो समाजमा हुने जातीय विभेदपूर्ण सोच यथावत छ भन्ने प्रमाणित गरिदिएको छ । समृद्धिको कुरा गरिरहँदा नवराज बिक र उनका साथीहरू जातकै कारण मारिइरहेका छन् । यसले हामी कहाँ रहेछौं भनेर सोच्नु पर्ने भएको छैन र ?
यस्तो बेला गैरदलितहरूको साथचाहिँ कत्तिको पाउनुभयो ?
अमेरिकामा गैरकानुनी रूपमा काला जातिका जर्ज फ्लोयडको हत्या हुँदा आन्दोलन भयो । त्यसमा कोरोनाको त्रास हुँदा पनि गोरा जातिका व्यक्तिहरूको उल्लेखनीय सहभागिता र नेतृत्व देखियो । ठिक त्यस्तै अवस्था नेपालमा देखिन्न । गैरदलित साथीहरूले आफ्नो पुरै शक्ति लगाएर यस्ता अन्यायपूर्ण कार्यको विरोध गरेको पाइन्न । जति प्रगतिशील साथीहरू आउनु भयो, त्यो पर्याप्त भएन ।
नेपालकै धेरै विद्वानहरूले अमेरिकामा काला जातिमाथि भएको विभेदबारे बोल्न लेख्न भ्याउनुभयो, तर किन नवराज विकबारे बोल्न सक्नु भएन ? किन निर्मला पन्तबारेमा जति आवाज उठाइयो, त्यस्तै आवाज एक दलित बालिकामाथि भएको अपराधमा उठेन ? दलित भएकै कारण उनीहरूको मुद्दा मूलधारको आन्दोलन वा सबैको साझा आन्दोलन बन्न सकेन । यहाँ त आन्दोलन पनि कसले र कसको लागि गर्ने भन्नेमा समेत विभेद भएको छ । ‘भ्वाइसलेस’ मानिने दलितहरूले जति ठूलो अन्याय र पीडाको विरुद्ध आवाज उठाउदा पनि नसुन्ने सोचले हाम्रो समाज ग्रस्त भएको हो कि !
‘दलित लाइफ म्याटर्स’ आन्दोलनमा गैरदलितहरू सशक्त रूपमा नआउँदा यो आन्दोलन ओझेलमा परेको हो त ?
गैरदलित साथीहरूको सहयोग मिलेको छ । तर त्यो पर्याप्त छैन । सामाजिक सन्जालको मात्र बिषय हो र यो ? १८ देखि २२ बर्षका ६ जना युवालाई ढुंगे युगमा झैँ गाउँलेहरू भेला भएर लखेटी–लखेटी मार्दा अपराधीहरूले सजाय पाउनु पर्ने होइन र ? यति लाजमर्दो घटनाविरुद्ध आन्दोलनको किन यति सानो स्वरूप भयो ? किनकि सोचचेजस्तो सहयोग भने भएन ।
अब आन्दोलनको बाटो कस्तो हुन्छ त ?
असमानता हावी भएको हाम्रो देशमा समृद्धि ल्याउन जातीय विभेद हटाउन जरुरी देखिन्छ । यसका लागि सबैले समान अवसर पाउने अवस्था निर्माण गर्नुपर्छ । तर सामाजिक रूपान्तरण भावनामा बगेर हुँदैन, आवेगमा होइन विवेकबाट सन्चालित भएर काम गर्नुपर्छ । दलितहरूको राजनीतिक पहुँच बढाउनुपर्छ । लेखेर अनि बोलेर हामीले दलितका आवाजलाई अगाडि बढाउनुपर्छ ।
असमानताको आन्दोलन हामी सबैको साझा मुद्दा बन्नुपर्छ । अनि मात्र हामी सबै दलित र गैरदलितले खोजेको न्यायपूर्ण समाज बनाउन सक्छौं । तीन हजार वर्षदेखि समाजमा जरो गाडेको यस विभेद हटाउन सजिलो छैन । तर, हामी सबैको अग्रसरताले यो परिवर्तन हाम्रो पालामा नै सम्भव छ ।