काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को महामारीले महामारीले विश्व आक्रान्त भएका बेला बालबालिकामा भने संक्रमणको भन्दा मनोवैज्ञानिक प्रभाव र तनाव धेरै बढ्दै गएको छ ।
कोरोनाका कारण बालबालिकामाथि परेको प्रभाव सम्बन्धी दक्षिण एसियाली राष्ट्रहरुको सहकार्यका विषयमा भएको एक वेभिनारमा सहभागी दक्षिण एसियाली मुलुकका सरोकारवालाहरुले बालबालिकामा कोरोनाको संक्रमण भन्दा पनि मनोवैज्ञानिक रुपमा नराम्रो असर परेको बताएका हुन् ।
माल्दिभ्सकी लिङ्ग, परिवार तथा सामाजिक सेवा मन्त्री इफाम हुसेनले दक्षिण एसियाली राष्ट्रहरुमै कोभिडका कारण रोजगारी गुमाएको परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइन् ।
उनले बालबालिकाको अधिकार संरक्षण तथा मानव बेचबिखन रोक्नकालागि अन्तरदेशीय सहकार्य र साझा प्रतिवद्धता आवश्यक रहेको तथा त्यसकालागि माल्दिभ्स सरकार प्रतिवद्ध रहेको बताइन् ।
नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोभिडपछिको व्यवस्थापनकालागि सरकारले दश वर्षे रणनीतिक याजनामै कार्यक्रम समावेश गरेको बताए ।
उनले विपद्का कारण नेपाली बालबालिकाहरु सधै जोखिममा पर्ने गरेको भन्दै कोभिडका कारण पनि सडक बालबालिकाको संख्या बढिरहेको पाइएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले कोभिड अवधिमा सरकार बालमैत्री हुन नसकेको आयोगको निष्कर्ष सुनाइन् ।
आयोगको आधिकारिक प्रतिवेदन नै सार्वजनिक हुन लागेको भन्दै उनले भनिन्, ‘बालबालिकाको सिक्ने थलो नै क्वारेण्टाइन बनेँ, तर ती क्वारेण्टाइन बालमैत्री भएनन् । आयोगले सरकारलाई त्यस्ता सेवाहरु बालमैत्री बनाउन पत्राचार गरेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोभिडका कारण दैनिक मजदुरी गरेर खाने परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताए ।
‘संक्रमित हुने कुरा त भयो नै, विद्यालयहरु बन्द भएपछि उनीहरु मानसिक, शारीरिक र सामाजिक रुपमा पनि तनावमा छन्,’ उनले भने ।
कार्यकारी निर्देशक धरेलले मन्त्रालयले कोभिडका लागि छुट्टै कार्यविधि नै बनाएर सरकारले बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गरेको बताए ।
बाल हिंसा अन्त्यकालागि दक्षिण एसियाली पहल (साइभाक) का निर्देशक डा.रिन्चेन छोपेलले कोभिड–१९ का कारण दक्षिण एसियाली मुलुकहरुमा परेको प्रभावका विषयमा सम्बन्धित देशका सरकारहरुको ध्यानाकर्षण गराएको बताए ।
‘अहिले देखिने प्रभाव सामान्य लाग्न सक्छ, यसले दिर्घकालमा ठूलो असर पु¥याउदैछ, त्यसकालागि ठोस् कार्ययोजना र नीति अगाडि ल्याउनुपर्ने हुन्छ,’ उनले भने ।
कार्यक्रममा बाल अधिकारको क्षेत्रमा कार्यरत स्वतन्त्रता अभियानकी इन्चार्ज रितु भट्टले दक्षिण एसियाली मुलुकमा गन्तव्यहीन यात्रामा रहेका बालबालिकालाई कोभिड–१९ ले ठूलो असर पु¥याएको बताइन् ।
कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकामा कोभिड १९ ले बालबालिकाको क्षेत्रमा पारेको प्रभावका विषयहरु र त्यसले पार्ने दिगो प्रभावका विषयमा समेत छलफल भएको थियो ।
नेपालमा कुल जनसंख्याको करिब ४२ प्रतिशत संख्या बालबालिकाको छ । तथ्यांकअनुसार कुल बालबालिकामध्ये ११ प्रतिशत परिवारभन्दा बाहिर छन् भने ३७.४ प्रतिशत बालबालिका श्रममा संलग्न छन् ।
अहिले कोभिड–१९ का कारण विश्वका १८६ देशमा दुई अर्ब ३४ करोड बालबालिका प्रभावित छन् । युनिसेफकाअनुसार हाल बन्दाबन्दी भएका ८२ देशमा कोरोनाका कारण १४ करोड बालबालिका बढी प्रभावित भएका छन् ।
यस्तो जोखिमका बेला बालबालिकालाई स्वस्थ राख्नुपर्ने, खानेपानी, सरसफाई र स्वच्छताको पहुँच पु¥याउनुपर्ने, बालबालिकाको सिकाईलाई निरन्तरता दिनुपर्ने र हिंसा, शोषण तथा दुव्र्यवहारबाट जोगाउन आग्रह गरेको छ ।
सडक बालबालिकाको संख्या बढ्यो
सरोकारवालाले कोरोनाको प्रभावका कारण सडक बालबालिकाको संख्या समेत बढेको पाइएको भन्दै चिन्ता व्यक्त गरे ।
महिला तथा बालबालिकामन्त्री गुरुङले कोभिडका कारण सरकारको सडक बालबालिकामुक्त घोषणा गर्ने कार्यक्रम नै प्रभावित भएको बताए ।
सरकराले आर्थिक वर्ष ०७३÷७४ मै भनेको थियो, ‘बालबालिका सडकमा बस्नुपदैन, सडकमा बस्न हुदैन ।’ तर, त्यसयता पनि सडक बालबालिकाको संख्या ओरालो लागेको छैन ।
राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कोभिडको संक्रमण भएयता सडक बालबालिकाको संख्या झनै बढेर जाने देखिएको छ ।
कोभिड संक्रमण भएको पाँच महिनामा मात्रै परिषद्ले ७९ जना सडक बालबालिकाको उद्धार गरेको छ । मजदुरी गर्ने, ज्यामी काम गर्ने लगायत सानो व्यवसाय गर्नेका छोराछोरीहरु सहित लुकेर/भागेर बस्ने गरेका बालबालिकाहरु भोकै परेपछि सडकमा देखिन थालेका परिषद्ले जनाएको छ । परिषद्ले कोभिड संक्रमणकै अवधिमा ४० जनालाई पुनर्मिलन गराएको छ ।
सरकारले सडक बालबालिका मुक्त बनाउने अभियान चलाएपनि संख्या भने बढेको बढ्यै छ । पछिल्लो आर्थिक वर्ष ०७६/७७ मा चार सय ६५ बालबालिकाको सडकबाट उद्धार भएको छ भने एक सय १७ जना बालबालिकालाई दोश्रो पटक उद्धार गरिएको छ । परिषदले आर्थिक वर्ष ०७५/७६ मा १३८ र ०७४/७५ मा १८० मात्रै रहेको थियो ।
देशभर तीन सय ५९ वटा बालगृह छन् । परिषद्ले कोभिड अवधिमा लक्षित १५ वटा बालगृहलाई खाद्यान्न, मास्क, स्यानिटाइजर लगायत सामाग्री उपलब्ध गराएको छ भने अन्यलाई समेत त्यस्ता सामाग्रीहरुको अभाव हुन नदिन निर्देशन गरेको कार्यकारी निर्देशक मिलन धरेलले जानकारी दिए ।
उनकाअनुसार कोभिडकै अवधिमा छ वटा बाल गृहबाट ५५ जना बालबालिकालाई उद्धार गरी पुनर्मिलन गराइएको छ ।
बन्दाबन्दीमा भारतमा अलपत्र परेका २६ जना नेपाली बालबालिकाको समेत त्यहाँस्थित बाल संरक्षण संस्थासँग समन्वय गरी उद्धार गरिएको छ ।