काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलको प्रतिवेदनप्रति नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।
‘एक व्यक्ति, एक पद’ को मुख्य सर्त नै छाडेर प्रतिवेदन बुझाएको भन्दै नेपाल समूहले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने नेपाल समूहको लाइनविरुद्ध कार्यदलले प्रतिवेदन तय गरी बुझाएको छ ।
‘दुई अध्यक्षलाई रिझाउन मात्रै प्रतिवदेन बनाएजस्तो देखियो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रतिवेदनप्रति हाम्रो असहमति छ ।’
कार्यदलले शनिबार १७ पृष्ठको १७ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदन बनाउन दुई अध्यक्षले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाल समूहबाट स्थायी कमिटी सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।
नेपाल समूहले ५ असोज २०७५ सालमा ७ वटै प्रदेशका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोक्दादेखि नै ‘एक व्यक्ति एक पद’को कुरा उठाउँदै आएको थियो ।
१० असारदेखि भएका स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति, एक पद’ हुनुपर्ने भन्दै अधिकांश सदस्यले प्रधानमन्त्रीको राजनीमा मागेका थिए । तर, कार्यदलले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाइराख्ने गरी बुझाएको छ ।
नेपाल समूहबाट कार्यदलमा सहभागी सदस्य सुरेन्द्र पाण्डे भन्छन्, ‘एक व्यक्ति, एक पदका बारेमा निकै ठूलो छलफल भयो । तर, तत्कालका लागि हामीले दिएको विकल्प नै ठीक लाग्यो ।’
शंकर पोखरेल भिलेन !
कार्यदलमा ‘एक व्यक्ति, एक पद’बारे छलफल भए पनि ओलीनिकट सदस्य शंकर पोखरेलले हस्ताक्षर गर्न ‘अटेरी’ गरेपछि अरू सदस्य पनि ‘ब्याक’ भएको बुझिएको छ ।
‘यसो हुँदा पोखरेल स्वयंलाई पनि असर पर्ने हुनाले नमानेका हुन सक्छन्,’ एक नेताले भने । पोखरेल अहिले प्रदेश ५ का मुख्यमन्त्री हुन् । उनी प्रदेश कमिटीका इन्चार्ज पनि हुन् ।
के छ प्रतिवेदनमा ?
प्रतिवेदनको ४ नम्बर बुँदामा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने भनिएको छ । उपबुँदा १ मा भनिएको छ, ‘सही र समयोचित सिद्धान्त, विचार र नीतिको मार्गदर्शनमा अघि बढेको र अतुलनीय त्याग एवं बलिदानको जगमा निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति र सामर्थ्यलाई ठीक ढंगले बुझ्न नसक्दा समस्या उत्पन्न भएको छ । विगतमा विभिन्न सन्दर्भमा नेतृत्व तहबाट गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरु हुन पुगे । अब सम्बन्धित सबैले आ–आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरीहरु दोहोरिन नदिने प्रतिज्ञा गर्नुपर्छ । अतीतमुखी होइन, भविष्यमुखी भएर वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन, तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्वल भविष्य सुनिश्चित गर्न संकल्पबद्ध हुनपर्दछ । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश स्थानीय तहमा नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदृढ एकता देश र जनताको हित र सवलिकरणका लागि अत्यावश्य रहेको छ भन्ने सत्यबोध गर्नुपर्छ । जनता र राष्ट्रको हितमा समर्पित, निःस्वार्थ एवं सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढ निश्चयका साथ उभिनुपर्दछ ।’
त्यस्तै, उपबुँदा ३ मा भनिएको छ, ‘तसर्थ विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिँदै पार्टी एकताको मर्म र भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरु र संस्थागत रु.रूपमा तय गरिएका विचार, नीति, विधि र पद्धति अनुशरण एवं कार्यान्वयन गर्नुपर्दछ । कार्यान्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत समस्त पार्टी पंक्तिलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुन्छ र सिर्जित समस्याको समाधान पनि संस्थागत प्रणालीअन्तर्गत खोज्नुपर्दछ भन्ने मान्यतालाई पालना गर्नुपर्छ ।’